२०८३ असार १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन्

विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन्


विगत सात महिनादेखि जुम्लाको चिसोमा, सदरमुकाम खलंगाबाट टाढा हिमा नदीको सुसाइसँग रमाउँदै, रारा जाने बाटो नजिकको एकान्त डाँडामा रहेको एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छु । एमबीबीएस अध्ययनका क्रममा काठमाडौंमा हुँदा दुर्गम क्षेत्रका स्वास्थ्य समस्याबारे सुन्दा अचम्म लाग्थ्यो । तर, जुम्लाको चिसोमा काम गर्दै, सिक्दै समय बितेको पत्तै भएन । जुम्लीहरूको माया र प्रेमले अझै सेवा दिन प्रेरित गरिरहन्छ ।

यहाँ काम गर्दा धेरै तिता यथार्थहरू पनि नजिकबाट देख्न र बुझ्न पाइयो । पहाडमा अधिकांश ज्येष्ठ नागरिकको बसोवास छ। युवाहरू कामको खोजीमा कोही विदेश त कोही सहर क्षेत्रमा पलायन भएका छन् । अनि कोही बिरामी परिहाले पनि बोकेर अस्पताल ल्याउने मान्छे नै हुँदैन् ।

कहिलेकाहीँ कोही बाजेबज्यै साना नातिनातिना लिएर आउनुहुन्छ र भन्नुहुन्छ, ‘बाबु, मलाई एउटा सलाइन लगाइदिनु न, घरमा कोही छैन ।’ उहाँहरूका लागि सलाइन नै औषधि रहेछ । वास्तवमा रोग के हो र उपचार के हो भन्नेबारे जानकारीको अभाव गहिरो छ ।

गाउँबाट अस्पताल टाढा छ, अनि अस्पतालमा काम गर्ने हाम्रो पीडा पनि छुट्टै छ । बिरामी हामीलाई भगवान् सम्झेर आउँछन् तर कहिलेकाहीँ हामीसँग दिनका लागि सिटामोलसमेत हुँदैन् । अहिले कृत्रिम बुद्धिमत्ताको युगको कुरा गरिन्छ तर यता घाउमा लगाउने मलमसमेत नपाएर मानिसहरू पीडित छन् । सुन्दा विश्वास नलाग्न सक्छ तर यो यथार्थ हो ।

एक दिन एकजना बाजे आउनुभयो । घर बनाउने क्रममा उहाँको खुट्टा काटिएको रहेछ । हामीले घाउ हेर्‍यौं । तर, घाउ काटिएकोभन्दा बढी बिग्रिएको देखियो । उहाँले भनेको कुरा सुनेर म अचम्ममा परेँ। घरेलु उपचारका रूपमा उहाँले तेल तताएर आफ्नै घाउमा खन्याउनुभएको रहेछ ।

मैले सोधेँ, ‘हजुरलाई दुखेन ? तेलले हात पोल्यो भने पनि सहन सकिँदैन, हजुरले कसरी हाल्नुभयो ?’

उहाँले सहज रूपमा भन्नुभयो, ‘डाक्टर साब, यो त म जन्मेदेखि गरिरहेको कुरा हो । हामीले त औषधिको बाटो धेरै कम देखेका छौँ ।’

उहाँका लागि यो कुनै नौलो कुरा थिएन, किनकि यस्तो चलन गाउँमा पुस्तौँदेखि चल्दै आएको रहेछ ।

अर्को घटना झन् मन छोएर जाने खालको थियो । एकजना सुत्केरी आमा आफ्नो बच्चाको नाइटोमा घाउ छ कि भनेर आउनुभयो । मैले उहाँलाई सरसफाइमा ध्यान दिन र मलम लगाउन सुझाव दिएँ । कुरा गर्दै जाँदा मैले सोधेँ, ‘तपाईं सुत्ने कोठा कस्तो छ ?’

उहाँको अनुहार एक्कासी मलिन भयो । उहाँले भन्नुभयो, ‘डाक्टर साब, म त नुहाइधुवाइ र न्वारन नहुन्जेल गोठमै बस्छु । घरभित्र पस्न मिल्दैन ।’

त्यसपछि उहाँले भन्नुभयो, ‘जति सक्छु, गोठ सफा गरेर बस्ने प्रयास गर्छु ।’

यो सुन्दा मन भारी भयो । मानिस अन्तरिक्षमा पुगिसके तर यता एक सुत्केरी आमाले अझै गोठमा बस्न बाध्य हुनुपरेको छ । समाज र परिवारले नै घरभित्र पस्न दिँदैन ।

यस्ता अनेक घटना र अन्धविश्वासहरू यहाँ गहिरोसँग जरा गाडेर बसेका छन् । अहिले त अवस्था यस्तो छ भने पहिले कस्तो थियो होला भन्ने कल्पना गर्न पनि गाह्रो लाग्छ ।

एक दिन विद्यालयमा पढ्ने एक किशोरी आइन् र भनिन्, ‘डाक्टर साब, मलाई आइरनको चक्की दिनु न ।’

मैले सोधेँ, ‘तिम्रो आमा आउन भ्याउनुभएन ?’

उनले भनिन्, ‘हैन सर, मलाई खानुपर्छ नि, म गर्भवती छु ।’

म झसङ्ग भएँ । मैले फेरि सोधेँ, ‘तिमी त कक्षा ९ मा पढ्छ्यौ होइन ? यति सानो उमेरमा गर्भवती ?’

उनले सहज रूपमा भनिन्, ‘हाम्रोमा त कक्षा ८, ९, १० मा पढ्दा—पढ्दै भागेर बिहे गर्ने चलन छ । त्यसपछि एसईई पनि दिइँदैन् । अब बच्चा पनि हेर्नुपर्छ, कक्षा पनि छुटिसक्यो ।’

यी घटनाहरू असामान्य होइनन् । मैले दिनहुँ देखिरहेका सामान्य घटनाहरू हुन् । मलाई लाग्थ्यो— शिक्षा, स्वास्थ्य र अवसरबाट भूगोलले मात्रै रोकेको हो । तर, यहाँ त पीडा अनेक तहमा रहेछ—भूगोलको, गरिबीको, चेतनाको, संस्कारको र अवसरको ।

यदि दुर्गममा नआएको भए यस्ता कुरा सुन्दा मैले पनि विश्वास गर्ने थिइनँ । अहिले कहिलेकाहीँ अचम्म लाग्छ—कसैका लागि स्वास्थ्य पहुँच घोषणा गर्ने विषय हो, कसैका लागि राजनीतिक बहसको मुद्धा । तर, भुइँमान्छेलाई के थाहा ?

आशा छ, समयसँगै केही परिवर्तन अवश्य आउनेछन् । तर, त्यो परिवर्तन समाजमा देखियोस्, कागजमा मात्रै सीमित नहोस् ।

(डा. प्याकुरेल कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र जुम्लामा कार्यरत छन् ।)


क्याटेगोरी : अन्य, कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ