२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यशक्ति र पहुँचको आडमा कोभिड विरुद्धको खोप, लक्षित समूह मारमा

शक्ति र पहुँचको आडमा कोभिड विरुद्धको खोप, लक्षित समूह मारमा


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार अझै दुइ करोड पाँच लाख ३२ हजार दुइ सय ८५ जनालाई खोप लगाउनुपर्नेछ । सरकारले खोप अभियान सञ्चालन गरेपनि लक्षित समुह बाहिरकाले धमाधम खोप लगाइरहेका छन् । पहुँच र शक्तिको आडमा अहिलेपनि राजनीनितक दलका कार्यकर्ता, जनप्रतिनिधिका आसेपासेले खोप लगाउने गरेका छन् ।

हेल्थआवाज प्रतिनिधी केहिदिन अघि नेकपा एमाले निकट राष्ट्रिय यूवा संघको केन्द्रिय कार्यालय पुग्दा नाम लिस्ट सहित दुइ सय जना कार्यकर्ताहरुलाई भेरोसिल खोप लगाउने सूचिमा राख्नका लागि नेताहरुले नाम टिप्दै थिए ।, त्यस्तै केही दिन अगाडी नेकपा माओवादी केन्द्रका नेता शिव खकुरेल पाटी निकटका व्यक्तिहरुलाई खोप लगाइदिने स्वीकृती दिन भन्दै पाटीको चिठी सहित परिवार कल्याण महाशाखामा पुगेका थिए । तर, लक्षित समुह सवैले प्राथमिकताका आधारमा अहिलेसम्म पनि खोप पाएका छैनन् ।

बुधबार खोप लगाउने लाइनमा रहेका २२ वर्षिय भिमसेन बस्नेतले भने,‘ यसो रत्नपार्कतिर सानो काममा गएको थियो । भिँड देखे लाइन लागेपछि पालो आइहाल्यो अनि खोप लगाए । ’ तुलसीपुर उपमहानगरपालीकाका वडा सदस्य हरी डिसीले आफू जनप्रतिनिधी भएकाले धेरै हिंड्नुपर्ने भएकाले पनि खोप लगाएको बताए ।
हालसम्म १२ लाख २४ हजार चार सय ७८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । जबकी जेष्ठ नागरिक ५५ वर्ष वा सो भन्दा माथिका, अन्य दिर्घ रोगी ४० देखि ५४ वर्ष उमेर समुहका र दिर्घ रोगी प्रवासी कामदार र शरणार्थी ५१ लख ६४ हजार दुइ सय ३९ जनालाई खोप लगाउनुपर्ने हुन्छ । यसरी हेर्दा पनि लक्षित समुह बाहिरका नागरिकले पनि खोप लगाइरहेका छन् ।

यस्तै, काठमाडौंमा १८ वर्ष उमेर समुह माथिकालाई समेत खोप लगाइएको छ । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको प्राथमिकीकरण सुचिमा उल्लेख छ ।

सरकारले कोरोना विरुद्धको खोप लगाउन लक्षित समुहको प्राथमिकीकरण गरिएपनि केहि जिल्ला र पालीकाहरुमा लक्षित समुह भन्दा बाहिरका व्यक्तिले खोप लगाइरहेका छन् ।

कोभिड १९ खोपको लागि लक्षित समुहको प्राथमिकीकरण योजना बनाएको भएपनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ । योजना विपरीत केहि पालीका र जिल्लाहरुमा पहुँचको भरमा समेत खोप लगाउने गरीएको छ । तर,सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन नगरेको पाइएको छ ।

खोप केन्द्रहरुमा पुग्दा काठमाडौं सहित केहि जिल्लामा लक्षित समुह बाहेक अन्य उमेर समुहले खोप लगाएका छन् । काठमाडौमा १८ वर्ष उमेर समुह माथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । यसअघि सरकारले जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिलाई लगाउने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोभिड १९ खोपको लागि लक्षित समूहको प्राथमिकीकरण अनुसार नै खोप उपलब्ध भइरहेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयको यस अघिको निर्णयमा कुनै परिवर्तन भएको छैन । खोपको उपलब्धताका आधारमा स्थानिय पालीकाहरुले केहि निर्णय गरेको हुनसक्छ ।’ डा.गौतमले उपलव्ध खोपको आधारमा केहि जिल्ला वा पालीकाहरुले व्यावहारीक केहि निर्णय गरिएको हुन सक्ने बताए ।

स्थानीय पालिकाले लक्षित समूह नछुट्ने गरी १८ वर्ष माथिका व्यक्तिलाई खोप लगाउने निर्णय गरेको पाइएको बताए । डा.गौतमले भने, ‘लक्षित समूहले खोप पाएनौं भनेर आउने अवस्था स्थानिय तहले दिनुभएन । लक्षित समुहलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।’ खोप लगाउने लक्षित समूहलाई खोप लगाई खोप बाँकी रहेमा सम्वन्धित जिल्ला वा स्थानिय तहको समन्वय समितिमा निर्णय गराई अन्यलाई खोप लगाउन सक्ने स्वास्थ्य मन्त्रालय बताउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वुधबारसम्म नेपालमा कोभिसील्ड, भेरोसिल र जोन्सन एण्ड जोन्सनको ६५ लाख ८२ हजार आठ सय ५० मात्रा खोप भित्रीएको छ । स्वास्थ्य मन्त्रालयल लक्षित समुहले खोप लगाए नलगाएको सन्दर्भमा गुनासो टिपेपनि ती गुनासोको सम्बोधन नगरेको पाइएको छ ।

 


क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #कोभिड, #नेकपा माओवादी, #राष्ट्रिय यूवा संघ, #शक्ति, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ