२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलेक लाग्दा के हुन्छ? कसरी गरिन्छ उपचार ?

लेक लाग्दा के हुन्छ? कसरी गरिन्छ उपचार ?


पोखरा—पछिल्लो समय हिमाली क्षेत्रको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । हिमाली क्षेत्रमा पुग्दा तल्लो भागबाट जानेहरुमध्ये धेरैलाई नै लेक लाग्ने समस्या हुने गर्छ ।

केही दिनअघि हिमाली जिल्ला मनाङ पुगेका पर्यटकहरुलाई प्रतिकूल मौसमका कारण हेली उद्धार गरिएको थियो । सडक मार्ग अवरुद्ध भएको हुँदा एकै दिनमा १२० पटक हेलिकप्टर अवतरण गराइएको थियो । मौसमी प्रतिकूलताबाहेक हिमाली क्षेत्रमा पुग्दा हावापानीका कारण लेक लाग्ने समस्या पनि धेरै नै देखिने गरेको हुन्छ । लेक लाग्नु भनेको शरीरमा अक्सिजनको मात्रा कमी हुनु हो ।

जिल्ला अस्पताल मुस्ताङका मेडिकल अफिसर डा. राजीव सापकोटा मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीलाई लेक लाग्ने समस्या देखिने गरेको बताउँछन् । उनका अनुसार स्वस्थ मानिसलाई लेक लाग्ने सम्भावना कम हुन्छ ।

जोमसोम २७ सय मिटर र मुक्तिनाथ ३७ सय मिटर हाराहारीमा पर्छ । जोमसोम पुग्दा लेक लाग्ने पनि हुन्छन् भने मुक्तिनाथ पुगेका धेरैलाई लेक लाग्ने गरेको हुन्छ ।

हल्का टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, वाकवाकी लाग्ने, डाइरिया हुने लेक लागेका लक्षण हुन् । समस्या बढ्दै गए फोक्सो र गिदीमा असर गर्छ । ‘मुस्ताङमा आउनेहरुमा धेरै नै लेक लाग्ने समस्या भएको भेटिन्छ । प्रेसर, सुगरलगायत दीर्घ रोग भएका बिरामी र ६०/७० नाघेमा वृद्धहरु डाक्टरको परामर्श लिएर मात्रै हाइ अल्टिच्युट (हिमाली क्षेत्र) मा जानु उपयुक्त हुन्छ,’ डा. सापकोटा भन्छन् ।

हाई अल्टिच्युटमा जानुपर्ने भएमा एसेटाजोलामाइट औषधी लिनु राम्रो हुन्छ, जुन हाई अल्टिच्युटमा घुम्न जानुभन्दा १÷२ दिन अगाडि खाएर गएमा लेक लाग्ने सम्भावना कम हुने डा. सापकोटाको भनाइ छ । ‘हाई अल्टिच्युटमा पुगेका बिरामीलाई सबैभन्दा पहिले अक्सिजन लेभल के छ भन्ने जाँच गर्ने गरिन्छ । अक्सिजन लेभल घट्नु नै मुख्य समस्या हो,’ उनी थप्छन्, ‘सबैभन्दा राम्रो त लेक लागेका ठाउँबाट कम उचाइमा झर्दा बिरामीलाई छिटो सहज हुन्छ । श्वास फेर्न कति गाह्रो भएको छ भन्ने ख्याल गरिन्छ । अक्सिजन लेभल कम भएको छ भने अक्सिजन दिने, नेबुलाइजेसन (बाफ लगाउने) काम प्राथमिक उपचारमै पर्छ ।’

त्यसो गर्दा पनि समस्या समाधान भएन भने विभिन्न जाँच गरिन्छ । एक्सरे गर्दा छातीमा केही समस्याहरु देखिने पनि हुन्छ । हाई अल्टिच्युट पल्मोनरी इरिमाको समस्या आउन सक्छ । त्यसका लागि छुट्टै औषधी दिनुपर्ने हुन्छ ।

ब्रेनमा पनि हाई सेरिबल इरिमा हुन्छ, ब्रेनको प्रेसर बढ्छ, श्वास फेर्न सकेको छैन, अचेत छ भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । फोक्सो र गिदीमा गम्भीर असर हुँदा बिरामीको मृत्यु पनि हुन सक्छ । जटिल अवस्था भएमा अक्सिजन दिँदै ठूला अस्पतालमा रिफर गर्ने गरिन्छ ।

हाई अल्टिच्युटमा पुग्दा न्यानो कपडाको प्रयोग गर्ने, प्रशस्त पानी पिउने गर्नुपर्छ भने तीव्र रुपमा दूरी पार गर्नु हुँदैन । कालो चस्मा, पानी खाने बोटल/तुमलेट, सुक्खा खाजा लैजानु उपयुक्त हुन्छ ।

(डा.सापकोटासँगको कुराकानीमा आधारित)


क्याटेगोरी : गण्डकी प्रदेश, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ