२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यक्रिकेटर सन्दीप लामिछानेको आँखामा गरिएको ‘स्माइल’ सर्जरी के हो ?

क्रिकेटर सन्दीप लामिछानेको आँखामा गरिएको ‘स्माइल’ सर्जरी के हो ?


‘रिफ्रयाक्टिभ सर्जरी’ दृष्टिदोष भएका बिरामीहरुको दृष्टि ठीक पार्ने एक आधुनिक उपचार पद्धति हो । आँखाको फोकस मेकानिजम बिग्रेको व्यक्तिमा सर्जरीको माध्यमबाट उक्त फोकसलाई नर्मल बनाइन्छ ।  जसले आउट अफ फोकस भएका चीजलाई फोकसमा ल्याउने काम गर्छ ।

आँखाको दृष्टि कमजोर भएका व्यक्तिहरुले साधारणतयाः प्रयोग गर्ने भनेको चश्मा र लेन्स हो । चश्मा वा लेन्स लगाउँदा देखिने र नलगाउँदा नदेखिने भएकोले त्यो अस्थायी उपचार विधि हो । ‘रिफ्रयाक्टिभ सर्जरी’मा कर्निया भनिने आँखाको बाहिरी भागको सेप परिवर्तन गरिन्छ । धेरै चुच्चो छ भने फ्ल्याट र धेरै फ्ल्याट छ भने चुच्चो बनाउने, नदेख्ने चिजलाई देख्ने बनाइदिने, स्थायी रुपमा आँखाको फोकस मिलाइदिने काम हुन्छ । वास्तवममा चश्मा र लेन्सको झन्झटबाटमुक्त गर्ने सर्जरी नै ‘रिफ्रयाक्टिभ सर्जरी’ भनिन्छ ।

‘रिफ्रयाक्टिभ सर्जरी’को सुरुवात ८०/९० वर्ष पहिलेदेखि नै भएपनि त्यो प्रारम्भिक रुपमै थियो । विकसित हुँदैं आउँदा अहिलेको प्रख्यात सर्जरी भनेको ‘लेसिक’ र ‘स्माइल’ हो । यिनै दुई तरिकाले विगत ८ वर्षदेखि तिलगंगामा सर्जरी भैरहेको छ ।

‘लेसिक’ र ‘स्माइल’ सर्जरी

‘लेसिक’ र ‘स्माइल’ भनिने यी उपचार पद्धतिहरु लगभग उस्तै नै हुन् । तर, लेसिकमा अलि धेरै ठाउँमा घाउ बनाइन्छ भने स्माइलमा अलि सानो घाउ बनाइन्छ । ल्याप्रोस्कोपीको बारेमा पनि सुन्नु भएको होला, जसमा पहिले लामो चिरेर अप्रेशन गरिन्थ्यो भने अहिले दूरबिनबाट सानो प्वाल बनाएरै गरिन्छ । त्यस्तै ठ्याक्कै ‘लेसिक’ भनेको घाउ चिरेर गरिने सर्जरी हो भने ‘स्माइल’ चाहिं दूरबिनबाट गरिने सर्जरीजस्तै हो ।

‘लेसिक’ सर्जरी संसारमा सुरु भएको ३० वर्ष हुन लाग्यो । ‘स्माइल’ सर्जरी सुरु भएको चाहिँ ८/१० वर्ष मात्र भयो । तिलगंगामा विगत ८ वर्षदेखि ‘स्माइल’ सर्जरी भैरहेको छ । ८ वर्षअघि ‘स्माइल’ सर्जरी सुरु गर्ने संसारका थोरै ठाउँमध्ये तिलगंगा पनि एक हो । अहिले त यो धेरै ठाउँमा विस्तार भइसकेको छ ।

एफडिएले स्वीकृत गरेपश्चात् अमेरिकामा पनि ‘स्माइल’ सर्जरी सुरु भएको डेढ वर्षजति भएको छ । नत्र त बढीजसो त्यहाँ पनि ‘लेसिक’ नै हुने गथ्र्याे । हामीले क्रिकेटर सन्दीप लामिछानेको आँखामा गरेको सर्जरी ‘स्माइल’ सर्जरी हो ।

‘रिफ्रयाक्टिभ सर्जरी’ कति भरपर्दो

डा. शाश्वत ढुंगेल

जो मान्छेले आफ्नो प्रोफेसनका कारणले चश्मा लगाउन चाहँदैनन्, अथवा कस्मेटिक कारणले लगाउन चाहँदैनन् । उनीहरुको लागि यो सर्जरी उपयुक्त देखिन्छ । त्यस्तै कसैको आँखाको पावरमा एकदम भिन्नता हुन्छ । दाहिने आँखामा एकदम हाई पावर र देब्रे आँखामा एकदम लो पावर हुँदा फुल पावर लगाउन मिल्दैन । जसकारण दाहिने आँखाले कम देख्ने हुन्छ । यसलाई मेडिकल टर्ममा हामी ‘एनीसोम इट्रोपिया’ (दुई आँखाको पावरको बीचमा धेरै भिन्नता) भएको मान्छेहरुमा पनि यो सर्जरी उपयुक्त देखिन्छ । विशेषगरी पाइलट, आर्मी, एयरहोस्टेज, मिडिया प्रोफेसनलहरुका लागि यो सर्जरी उपयुक्त हुन्छ ।

सबै पक्षलाई ध्यान दिएर राम्ररी सर्जरी गर्ने हो भने यो एकदम भरपर्दाे उपचार हो । तिलगंगाले सबै पक्षलाई ध्यान दिएर मात्रै सर्जरी गर्छ । जो सर्जरीको निमित्त यहाँ आउनुभएको छ, उहाँहरु सबै यसबाट सन्तुष्ट हुनुहुन्छ ।

संसारमा १०० प्रतिशत नै सफलता भन्ने त छैन् । अझ सर्जरीको हालसम्म कुनै पनि सर्जरी १०० प्रतिशत नै सफल भएका छैनन् । सर्जरीमा त चुनौती भै नै हाल्छन् । तर, हुन सक्ने सम्भावित चुनौतीहरु पहिले नै योजना बनाएर हुन दिएन भने त्यसलाई रोक्न सकिन्छ । त्यसका लागि भने हामीले सक्दो कोशिस गर्छाै । जो मान्छे भित्र पस्यो, उसको सर्जरी गर्न थाल्यो भने त्यो सफल हुँदैन । किनकी कति जनाको पावर आवश्यकभन्दा कम र कति जनाको धेरै हुने हुन्छ । कसैको आँखाको सेप मिलेको हुँदैन । कसैको शरीरमा त कसैको आँखामा पावर बाहेकका अन्य रोगहरु हुन्छन् । विभिन्न कारणवश सर्जरी गर्न नमिल्ने मान्छे छ भने हामीले उनीहरुको सर्जरी गर्दैनौं ।

सबै अवस्था मिलेतापनि हामी १८ वर्षभन्दामूनीका उमेर समूहका व्यक्तिको सर्जरी गर्दैनौ । १८ वर्षमाथिकाको पनि सबै कुराहरु चेक गरेर मात्रै हामी सर्जरी गर्छौं । सायद १० जना सर्जरीको निम्ति आउनुभयो भने हामी ४ देखि ५ जनासम्मको मात्रै अप्रेशन गर्छाै । त्यसबाहेकका व्यक्तिहरुलाई सर्जरी गर्न मिल्दैन भनेर  हामी फिर्ता पठाइदिन्छौं । किनकी अलिकति मात्रै असफल हुने वा सर्जरी पश्चात् पनि व्यक्तिमा सन्तुष्टी नआउनेजस्तो देखियो भने मात्रै पनि हामी उहाँहरुको सर्जरी गर्दैनौ । हामी जोखिम लिदैनौ । र, यस्ता कुरा फलो गर्‍यौ भने मात्रै यो भरपर्दाे सर्जरी हो । होइन्, आएका जति सबैैको अप्रेशन गर्न थाल्यौ भने त्यसपछि चाहिँ यसमा व्यक्ति सन्तुष्ट नहुने र जोखिम आउन सक्ने सम्भावना बढ्दैं जान्छ ।

लेसर सर्जरीमा अलिकति ड्राइनेस हुनु यसको मुख्य समस्या हो । सर्जरीले आँखालाई सुख्खा बनाउँछ । त्यसको निम्ति ड्रप्सहरु हाल्नुपर्छ । तर, हामीले आफ्नो अनुभवमा के देखेका छौं भने पहिलो २/३ महिना ड्रप्सको आवश्यकता परेतापनि क्रमशः ६/७ महिनापछि भने, घट्दै गएर सर्जरीअघिकै स्थितीमा पुग्छ । ड्राइनेसको समस्या हल भएपछि सामान्य एउटा सर्जरी नगरेका मान्छेले गर्न सक्ने प्रत्येक काम गर्न सक्छन् । त्यस्तो रोकटोक केही हुँदैन ।


(रिफ्रयाक्टिभ सर्जन डा. ढुंगेलसँग गरिएको कुराकानीमा आधारित)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ