२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगकिन निकालिदैंन मधुमेहका बिरामीका दाँत ?

किन निकालिदैंन मधुमेहका बिरामीका दाँत ?


सामान्यतयाः नेपाली समाजमा गुलियो बढी खानाले दाँत किराले खान्छ भन्ने मान्यता रहेको पाइन्छ । तर, यो सरासर गलत हो । हाम्रो दाँत गुलियोको कारणले मात्र नभई सरसफाइमा आएको कमीका कारणले पनि किराले खाने गर्छ । दाँतको सरसफाइमा कमी भएको खण्डमा यो समस्या साना बालवालिकामा मात्र नभई जुनसुकै उमेर समूहका व्यक्तिहरुमा पनि देखा पर्न सक्छ । त्यसैगरी, यो कुरा मधुमेह बिरामीका हकमा पनि उत्तिकै लागु हुने देखिन्छ ।

मधुमेह भन्नाले व्यक्तिको शरीरमा ग्लूकोजको मात्रा बढी भएको अवस्था भन्ने बुझिन्छ । मधुमेह रोग भएका विरामीहरुमा पनि दाँत किराले खाने सम्भावना उत्तिकै मात्रामा रहन्छ । अझ भन्ने हो भने मधुमेहका बिरामीहरुमा झन् दाँतका समस्या धेरै मात्रामा देखा पर्ने हुन्छ । तर, यस्ता बिरामीहरुको उपचार गर्ने क्रममा अन्य विधिहरु अपनाउन सकिने भएतापनि त्यसमध्ये दाँत निकाल्नुपर्ने अवस्थालाई भने जटिल अवस्थाको रुपमा लिइन्छ ।

मधुमेहका बिरामीको शरीरमा ग्लूकोजको मात्रा बढी मात्रामा पाइने गर्छ । जसकारण उनीहरुको शरीरमा भएको घाउ निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दाँत निकाल्दा हुने घाउ पनि लामो समयसम्म निको नहुने भएकोले यी बिरामीहरुको दाँत किराले खाएमा अधिकांश चिकित्सकहरुले उनीहरुलाई सर्वप्रथम दाँत निकाल्न बाहेकका अन्य विधि तथा उपचारहरु अपनाउन सल्लाह दिने गर्छन् ।

तर, कतिपयमा दाँत ननिकाली नहुने अवस्था पनि आइपर्ने हुन सक्छ । त्यस समयमा भने चिकित्सकसँग अनिवार्य रुपमा सल्लाह लिनु पर्दछ । चिकित्सकले पनि आवश्यकताअनुसार बिरामीको शरीरको ग्लूकोजको मात्रालाई व्यवस्थित गरेर मात्रै दाँत निकाल्ने गर्छन् ।

रोकथाम तथा उपचार

कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनुलाई सबभन्दा ठूलो उपचार मानिन्छ । तर, तमाम कोशिशको बाबजुद पनि कतिपय व्यक्तिमा यस्ता समस्या आइ पर्न सक्छन् । अझ मधुमेहले व्यक्तिको गिजा कमजोर गराउने भएकोले उनीहरुमा झन् दाँत सम्बन्धिका समस्याहरु बढी देखा पर्ने हुन्छ ।

त्यसमध्ये दाँत हल्लिनु पनि एक हो । जसकारण उनीहरुमा दाँत निकाल्नैपर्ने अवस्था पनि आइपर्ने हुनसक्छ । तर, हामीले यस्ता समस्या देखा पर्नु अगावै निम्न उपायहरु अपनाउन सकेमा दाँत सम्बन्धिको समस्या कम मात्रामा देखा पर्ने हुन्छ ।

  • दाँतको सरसफाइमा विशेष ध्यान दिने
  • हामीले केही नखादा पनि दाँतको सतहमा ब्याक्टरियल लेयर बनिसकेको हुन्छ । त्यसैले कम्तिमा पनि दिनको २ पटक ब्रस गर्ने बानी बसाल्ने
  • प्रत्येक १२/१२ घण्टाको अन्तरालमा अनिवार्य रुपमा ब्रस गर्ने
  • ब्रस गर्दा ब्रसलाई दाँतको प्रत्येक भागमा अनिवार्य रुपमा पु¥याई मज्जाले सफा गर्ने
  • प्रत्येक महिना दिनमा ब्रस परिवर्तन गर्ने
  • केही खाने बित्तिकै मुख कुल्ला गर्ने बानी बसाल्ने
  • दाँत सम्बन्धी कुनै पनि समस्या देखा परेमा तुरुन्त डाक्टरसँग परामर्श लिने ।

प्रस्तुती : सृजना मगर


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ