२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्भावस्थामा हुनसक्ने गम्भीर समस्याबाट जाेगिन डाक्टरका १२ सुझाव

गर्भावस्थामा हुनसक्ने गम्भीर समस्याबाट जाेगिन डाक्टरका १२ सुझाव


महिलामा गर्भवती र सुत्केरी अवस्था विशेष समय हो । यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । स—साना गल्तीका कारण आमा र बच्चामा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले एकदमै सचेत रहनुपर्छ ।

यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समयसम्म नेपाल ठप्प छ । मानिसका दैनिक क्रियाकलापहरु बिथोलिएका छन् । यसको प्रत्यक्ष मार गर्भवती र सुत्केरी महिलामा परेको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । ‘लामो समयको लकडाउन र कोभिड—१९ को त्रासका कारण गर्भवती महिलाहरुले नियमित जाँच गराउन पाएका छैनन्,’ उनी भन्छन्, ‘भौगोलिक कठिनाई, यातायातको अभाव, कोभिड—१९ को त्रासजस्ता कुराले नियमित गर्भ जाँच नहुँदा गर्भवती महिला र शिशुमा गम्भीर समस्या देखिन थालेको छ ।’

नियमित गर्भ जाँच नहुँदा बच्चा र आमाको स्वास्थ्य अवस्थाको बारेमा थाहा हँुदैन । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरु बताउँछन् । गर्भावस्थामा विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुर्छा पर्ने, शरीर कम्पन हुने, योनीबाट रगत बग्ने, बच्चा नचल्ने अथवा कम चल्ने, टाउको दुख्ने, तल्लो पेट अत्याधिक दुख्ने, अत्याधिक बान्ता हुने, योनीबाट गन्हाउने पानी बग्ने, पिसाबमा संक्रमण हुने, रक्तअल्पतालगायतका गम्भीर खालका लक्षणहरु देखा पर्छन् ।

यीमध्ये पनि उच्च रक्तचाप र मधुमेहको समस्या भएकी गर्भवती महिलाले विशेष ध्यान दिनुपर्छ । गर्भवती महिलामा उच्च रक्तचापको समस्या छ भने १५–१५ दिनको फरकमा ब्लडप्रेसर जाँच गरेर औषधि मिलाएर खानुपर्ने चिकित्सकहरु बताउँछन् । यदि ब्लडप्रेसरको नियमित चेकजाँच नगरी वेवास्ता गरेमा बच्चाको तौल कम हुने, गर्भमा रहेको बच्चामा अक्सिजन लिने क्षमता कम हुने, मुर्छा पर्ने र आमा बच्चा दुवैको ज्यान जोखिममा पर्ने धुलिखेल अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुमनराज ताम्राकार बताउँछन् ।

गर्भ रहेपछि कतिपय महिलालाई वान्ता हुने, वाकवाकी लाग्ने समस्या देखिन सक्छ । विशेषगरी अधिकांश गर्भवती महिलामा यस्तो समस्या देखिने पाटन अस्पतालकी चिकित्सक डा. अल्का सिंह बताउँछिन् । ‘गर्भावस्थामा हल्का वान्ता हुनु, वाकवाकी लाग्नु सामान्य हो,’ डा. सिंह भन्छिन्, ‘यदि तारन्तार वान्ता भएर गाह्रो भयो भने अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ । त्यसैले गर्भावस्थामा खानपानमा ध्यान दिने, चिल्लो पिरो कम खाने, थोरै खाने तर समय–समयमा खाइरहने, सुख्खा खानेकुरा जस्तै चना बिस्कुटजस्ता खानेकुरा कम गर्न सकिन्छ ।’ महिलामा गर्भ रहेपछि हर्मोन परिवर्तन हु्न थाल्छन् । त्यसैले धेरैजसो महिलालाई हर्मोनको गडबढीका कारण पनि बान्ता हुने चिकित्सकहरु बताउँछन् ।

गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु
डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, धुलिखेल अस्पताल

१. गर्भ रहेको २ महिनाभित्र अस्पताल गएर जाँच गर्ने ।
२. चिकित्सकले दिएको औषधि नियमित खाने ।
३. सम्भव भएसम्म महिनामा एकपटक फ्लोअपका लागि अस्पताल जाने
४. सम्भव नभएमा बच्चा चल्न थालेपछि वा ५ महिनाको गर्भ जचाउनका जसरी भएपनि जाने । किनभने ५ महिनामा भिडियो एक्सरेमार्फत बच्चाको हरेक अंगको विस्तृत जाँच हुन्छ साथै थप औषधि र भ्याक्सिन दिइन्छ ।
४. गर्भ रहेकोे थाहा पाउने बित्तिकै, पाँचौं महिना, आठाैं महिना, चिकित्सकले तोकेको डेलिभरी डेट भन्दा एकहप्ताअघि र डेलिभरी डेटमा गरी ५ पटक अनिवार्य गर्भ जाँच गर्ने ।
५. टाउको धेरै दुख्यो, बच्चा कम चल्यो, रक्तस्राव भयो, मुर्छा पर्नेलगायतका समस्या देखियो भने तुरुन्त अस्पताल जाने ।
६. तागतिलो, झोलिलो खानेकुरा खाने ।
७. उमालेको पानी प्रशस्त पिउने ।
८. क्यालोरी, क्याल्सियम, आइरन, प्रोटिनयुक्त खानेकुरा खाने ।
९. गर्भावस्थामा दिउँसोको समयमा २ घण्टा सुत्दा बच्चा र आमाको स्वास्थ्यलाई फाइदा पुग्छ ।
१०. गर्भावस्थामा गरिने प्रिनाटल योगा गर्ने । योग गर्दा डेलिभरीको समयमा सहज हुन्छ ।
११. तनाव नलिने ।
१२. सम्भव भएसम्म नियमित एउटै चिकित्सकलाई देखाउने ।


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य
ट्याग : #गर्भावस्था, #डा. अल्का सिंह, #डा. भोला रिजाल, #डा. सुमनराज ताम्राकार


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ