२०७९ असार २३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यबालवालिकामा देखिने हर्निया के हो?

बालवालिकामा देखिने हर्निया के हो?


डा. विजय थापा
सह—प्रध्यापक तथा वरिष्ठ बाल सर्जन
कान्ति बाल अस्पताल

बाल सर्जरीमा सबभन्दा बढी देखिने र बाल सर्जनले सबैभन्दा बढी गर्ने साझा सर्जरी हो— हर्निया । नवजात शिशुदेखि १६ वर्ष उमेरको बालवालिकामा देखा पर्ने सर्जरीलाई हामी बाल सर्जरी अन्तर्गत सूचित गर्दछौं ।

बच्चाको पेटमा भएको विभिन्न अंगलाई पेरिटोनियम नामक मांशपेशीको कभरले ढाकेर राखेको हुन्छ । कुनै कारणले सो कभरको कुनै भाग कमजोर भएमा त्यो स्थान बाहिरबाट हेर्दा फुलेको वा सुन्निएको जस्तो देखिन्छ । जसलाई हर्नियाको संकेतको रुपमा बुझ्न सकिन्छ ।

शरीरका विभिन्न भागमा देखिने हर्नियालाई त्यही भागको आधारमा नामाकरण गरिएको छ । त्यसमध्ये यहाँ इंग्युनल हर्नियाको बारेमा चर्चा गर्दैछौं । यो बालवालिकामा देखा पर्ने प्रमुुख हर्नियाका रुपमा लिइन्छ ।

लक्षण

कुनै पनि बालवालिकाको तल्लो पेट र लिंगको दायाँ—बायाँ सुन्निएमा हर्नियाको संकेत बुझ्नु पर्दछ । अन्य समयमा नदेखिने भागहरु बच्चा रुँदा, कराउदा, खोक्दा तथा उफ्रदा फुल्ने गर्दछ । यसैगरी, हातले थिचेको समयमा पनि यी भागहरु हराउने गर्छन् ।

यस्ता बालवालिकामा देखिन्छ हर्निया

  • जन्मजात हर्निया
  • प्रिटम अर्थात् समय अगावै जन्मिएका बालवालिकामा
  • कम तौल भएका बालवालिकामा
  • बढी रुने चिच्याउने बालवालिकामा
  • कब्जियत हुने बालवालिकामा
  • तल्लो पेटमा बढी प्रेसर परेको बालवालिकामा ।

उपचार

एक पटक देखिएपछि हर्निया आफै नहराउने हुँदा यसको उपचार नै सर्जरी हो । यो रोगको एउटा विशेषता के छ भने हर्निया देखा परेको बालवालिकालाई हामीले तुरुन्तै अपरेशन गरिहाल्नु पर्दैन । अर्थात्, हर्निया देखा परेको भोलि या पर्सि नै हतारमा शल्यक्रिया गर्न जरुरी छैन् । हर्निया डायग्नोसिस भएपछि पारिवारिक अवस्था, आर्थिक अवस्था र बच्चाको स्वास्थ्य अवस्था ठिक भएको अवस्थामा चिकित्सकसँग परामर्श लिई हामीले उचित समयमा अपरेशन गर्दा हुन्छ ।

तर, कुनै–कुनै अवस्था यस्तो पनि आइपर्छ, जहाँ बालवालिकालाई तुरुन्तै शल्यक्रियाको निमित्त लैजानुपर्छ । जस्तो बालवालिकालाई अत्याधिक दुखाइ हुने, सुन्निएको भाग वरिपरि रातो वा निलो हुने, वान्ता आउने, पेट फुल्लिएर हर्निया अड्किने अवस्था पनि देखा पर्दछ ।

त्यस समयमा चिकित्सकले ‘ट्याक्सीस’ उपचार विधिबाट बिरामीको उपचार गर्ने कोशिस गर्दछ । तर, त्यो असफल भएको खण्डमा भने हामीले बालवालिकालाई शल्यक्रियाको लागि तुरुन्त लैजानु पर्दछ । नेपालमा बाल सर्जनहरुको संख्या न्यून रहेकोले सकेसम्म बुझेर बालसर्जनद्वारा नै यसको शल्यक्रिया गर्दा उचित हुन्छ ।

शल्यक्रियामा जटिलता ?

वयस्क अवस्थामाजस्तो समयावधि लम्बाएर हर्नियाको शल्यक्रिया गर्ने भन्ने बालवालिकाको केशमा हुँदैन । हिजोआज विभिन्न विधि तथा पद्धतिको पहुँचका कारण शल्यक्रियाको निम्ति बालवालिकालाई बेहोश बनाउँदा उनीहरुलाई कुनै पनि किसिमको हानी हुँदैन । तसर्थ, अभिभावकहरुले ढुक्क भएर आफ्नो बालवालिकाको हर्नियाको शल्यक्रिया गर्दा हुन्छ ।

यसैगरी, ३० मिनेटको समयावधिमा नै गरिसक्ने यस शल्यक्रिया गरेको ५/६ घण्टामा नै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ । यस्ता शल्यक्रिया गरेको बिरामीले खासै खानाहरु बार्नुपर्ने हुँदैन । प्रोटिनयुक्त सबैखाले खाना खान मिल्ने भएकोले शल्यक्रिया गरेको २/३ मा नै बिरामी सामान्य अवस्थामा फर्किन सक्छ ।

अन्तमा…

एकपटक हर्निया देखा परेर शल्यक्रिया गरेको बालवालिकामा पुनः हर्निया नदेखिने भन्ने हुँदैन । अप्रेशनपछि पनि विभिन्न टेक्निकल इरर र बच्चाको आन्तरिक शरीरको कारण पनि यो समस्या पुनः देखा पर्न सक्दछ र, त्यस्तो अवस्थामा पनि हामीले शल्यक्रिया गर्नुपर्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)