२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यउच्च जोखिममा नवजात शिशु

उच्च जोखिममा नवजात शिशु



डा कृष्ण पौडेल,
बाल रोग विशेषज्ञ
कान्ति अस्पताल

उच्च जोखिमको समूह
नवजात शिशु संक्रमणको उच्च जोखिममा हुन्छन् । उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता विकास भइसकेको हुँदैन । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकै कारण संक्रमण तत्काल हुन्छ । नवजात शिशुलाई भिडभाडमा लैजाँदा, अस्पतालमा बस्दा, स्याहार गर्ने मान्छेले सरसफाइमा ध्यान नदिँदा संक्रमण हुनसक्छ । हाम्रोमा राम्ररी हात धोएर, सेकाएर मात्रै शिशु छुने चलन छ, यो असाध्यै राम्रो हो ।

समयमा स्तनपान नगराउँदा पनि शिशुमा संक्रमणको जोखिम हुन्छ । पहिलोपटक शिशु जन्माउने कतिपय आमाको ‘निप्पल’ खुलेको हुँदैन । यस्तो वेला शिशुले सजिलोसँग स्तनपान गर्न सक्दैन । आमाले दृढ इच्छासहित प्रयास गर्दा मात्र शिशुलाई दूध चुसाउन सक्छिन् । जन्मेको एक घन्टाभित्रै बिगौती दूध खुवाउनुपर्छ जसले शिशुलाई संक्रमणसँग जुझ्नसक्ने शक्ति दिन्छ । शिशुलाई न्यानो गराउन र पटक–पटक स्तनपान गराउन भुल्नुहुन्न । सास फेर्न गाह्रो महसुस भइरहेको हुनसक्छ, विचार गर्नुपर्छ ।

अस्पतालमा कस्ता शिशु आउछन् ?
जन्मिँदा कम तौल भएका शिशु लिएर अभिभावक सहयोगका लागि अस्पताल आउँछन् । नौ महिना नपुगी जन्मिएका शिशुमा ‘रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ हुन्छ । सास फेर्न गाह्रो हुने समस्या हुन्छ । फोक्सो राम्ररी बनिसकेको हुँदैन । पेटमा रहँदा शिशुले दिसा खाएमा जन्मँदा निस्सासिएको हुन्छ । यस्तो अवस्थाका शिशुलाई निमोनिया हुनसक्छ ।

रगतमा संक्रमण फैलिएको समस्या लिएर आउने बढी हुन्छन् । ज्वरो आएका तथा शरीर शीतांग भएका शिशुलाई पनि अभिभावकले अस्पताल ल्याउँछन् । यस्तो समस्या भएका शिशुले आमाको दुध चुस्न सक्दैनन् । कम तौल भएका शिशुलाई सास फेर्न गाह्रो हुन्छ । महिना नपुगी जन्मिएका तथा कम तौल भएका शिशुलाई भेन्टिलेटरमै राख्नुपर्ने हुनसक्छ । जन्डिसको मात्रा धेरै भएर अस्पताल ल्याइने शिशुको संख्या धेरै हुन्छ । कतिपयको त पूरै रगत फेर्नुपर्ने हुन्छ । विशेषगरी आरएच नेगेटिभ ब्लड गु्रप भएका आमाबाट जन्मिएका आरएच पोजेटिभ ब्लड भएका शिशुमा यो समस्या बढी हुन्छ ।

आइसियू पर्याप्त छैन
नेपालमा नवजात शिशुको उपचारका लागि आइसियू अपर्याप्त छ । सबै नवजात शिशुको समस्या ‘क्रिटिकल’ हुने हुन्छ । सबैको उपचार आइसियूमा राखेर गर्नुपर्ने हुन्छ । अलि कम समस्या भएकालाई आइसोलेटेड वार्डमा राखेर उपचार गरिन्छ । तर, देशका विभिन्न भागमा उपचार सम्भव नभएर काठमाडांै ल्याइपुर्‍याउँदा झनै जटिल संक्रमण भएका शिशुलाई आइसियू अभाव हुँदा मृत्युसमेत हुने गर्छ । बिरामी शिशुलाई टाढादेखि ल्याउँदा शीतांग हुने, जलवियोजन र रगतमा ग्लुकोजको मात्रा कम हुने समस्या निम्तिनसक्छ । यसकारण नवजात शिशुको मृत्युदर उच्च हुनपुग्छ ।

शिशु घरमै जन्मिए…
• सफा कपडाले पुछिदिने ।
• न्यानो गरेर राख्ने ।
• सफा औजारले नाभी काटिदिने ।
• आमासँगै छातीमा टँसाएर राख्ने ।
• शिशु जन्मिएको आधादेखि १ घन्टाभित्र बिगौती दूध खुवाउने ।
• पहिलो २४ घन्टाभित्र ननुहाइदिने ।
• नाभीमा मलम लगाइदिने (पहिले नै ल्याएर राख्नुपर्छ) ।
• तेललगायत अन्य पदार्थ नलगाउने ।
• आमाको दूधबाहेक अन्य कुरा नखुवाउने ।
• दुई घन्टाको फरकमा स्तनपान गराइराख्ने ।
• शिशुलाई छुँदा हातगोडा राम्ररी धोएर सुक्खा बनाएर मात्र छुने ।
• शिशुलाई घाममा राखेर तेल मालिस गर्ने ।
• शिशुवरपरको वातावरण सफा राख्ने ।
• नजिकमा धुम्रपान नगर्ने, धुवाँ हुन नदिने ।
• हावा खेल्ने ठाउँमा राख्ने, तर सीधै चिसो आउने ठाउँमा नराख्ने ।
• दिसापिसाब नियमित गरे–नगरेको हेर्ने ।
• स्वस्थ शिशुले २४ घन्टामा दिसापिसाब गरिसकेको हुनुपर्छ ।

मृत्युका कारण
• रगतमा संक्रमण
• जन्मिँदा कम तौल
• महिना नपुगी जन्म
• जन्मिँदा निस्सासिनु
• कठ्यांग्रिएर शीतांग हुनु

शिशुलाई हुनसक्ने जोखिम
• प्रसूति हुने वेला आमालाई ज्वरो छ भने शिशुलाई रगतको संक्रमण हुनसक्छ ।
• प्रसूति व्यथा लाग्ने १८ घन्टा पहिलेदेखि नै पानी बगेको छ भने पानी फुटेपछि बाहिरबाट कीटाणुभित्र
पस्नसक्छ ।
• गर्भेपानी गन्हाएको छ भने ।
• जन्मिएको शिशु कम तौलको छ भने ।
• शिशुले राम्ररी दूध खाएन भने ।
खतराका लक्षण
• शिशु सुस्त वा लोसे हुने
• दूध चुस्न नसक्ने
• शीतांग भएर कठ्यांग्रिने
• ज्वरो आउने
• लल्याकलुलुक हुने
• कम्पन आउने
• मुखवरिपरि र हातखुट्टा निलो हुने


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ