२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यडा.राजन किशोरी केसीको सल्लाह : पाठेघरको क्यान्सरबाट कसरी बच्ने

डा.राजन किशोरी केसीको सल्लाह : पाठेघरको क्यान्सरबाट कसरी बच्ने


२०१८ मा जारी विश्वभरको तथ्यांकअनुसार महिलामा देखिने पाठेघरको मुखको क्यान्सर चौंथो स्थानमा रहेको देखिन्छ । जुन सबै महिला क्यान्सरहरूको ६.६ ५ प्रतिनिधित्व गर्दछ, जसमा वर्षनी अनुमानित ५,७०००० नयाँ केशहरु रहेका छन् । करिब ९ सय ५ मृत्यु पाठेघरका मुखको क्यान्सरबाट कम र मध्यम आय भएका देशहरूमा भएको देखिन्छ ।

नेपालमा महिलामा देखिने क्यान्सरका रूपमा पहिलो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको छ जसमध्ये झन्डै २५ प्रतिशत प्रभावित भएका छन् । नेपालमा वर्षनी झण्डै एकहजार भन्दा बढी महिलाहरूमा पाठेघरको मुखको क्यान्सरले ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । यो समस्या विकराल बन्दैछ जसले गर्दा अधिकांश महिलाको जनजीवनलाई प्रभावित गरेको छ । समयमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको देखिन्छ । सहरी क्षेत्रमाभन्दा पनि ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर धेरै देखिने गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो रोग नेपालजस्ता अविकसित देशमा बिशेष गरी ३० वर्ष नाघेका महिलाहरुमा हुने गरेको छ ।

प्रमुख कारकतत्व पाठेघरको मुखको क्यान्सरमा हुनुमा प्रमुख कारकतत्व भनेको ९९ प्रतिशत महिलाहरुमा हयुमेन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हुनु हो । पुरुषबाटै महिलामा असुरक्षित यौन सम्पर्क हुँदा छालाबाट छालामा भाइरस फैलिने र सर्ने गर्छ ।

महिलालाहरूमा यो भाइरसको संक्रमणले यौनांगको वरिपरीको छालामा स–साना मुसाजस्ता खटिरा आउने समस्या पनि देखाएको छ । त्यसैगरी शारीरिक सम्पर्कनै नगरेका महिलालाहरूमा एचपीभी भाइरसको संक्रमण भने प्राय देखिदैन्, त्यसको मतलब पाठेघरको मुखको क्यान्सर हुँदैन भन्ने चाहिँ होइन । ह्युमन प्यापिलोमा भाइरस १५० भन्दा बढी प्रकारको हुन्छ । तीमध्ये दक्षिण पूर्वी एसियामा एचपीभी १६÷१८ को संक्रमणले ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर भएको पाइएको छ । यो भाइरसले पाठेघरको मुखको क्यान्सरमात्र नभएर यसले मुख ,घाँटी, मलद्वार, योनी , पुरुषको लिंग तथा अन्डकोषमा पनि क्यान्सर बनाउन सक्छ ।

मुख्यतः कलिलो उमेरमै विवाह गर्नु,सानै उमेरदेखि यौन सम्बन्ध राख्नु, धेरैपटक गर्भवती हुनु, धेरै जनासँग यौन सम्पर्क राख्नु, गोप्य अंगको सरसफाइमा ध्यान नदिनु, यौन रोग लाग्नु, धुम्रपान गर्नु, लामो समयसम्म गर्भनिरोधक चक्की सेवन गर्नु, सामाजिक, आर्थिक र शारीरिक अवस्था कमजोर भएका महिलालाहरूमा पाठेघरको मुखको क्यान्सर हुने तत्व जोखिम कारण मानिन्छन् ।

कस्ता खालका लक्षणहरु देखिन्छन ?

यसलाई साइलेन्स किलर पनि भनेर चिनिन्छ किनभने सामान्यतया सुरुवाती अवस्थामा यसले कुनैपनि लक्षण देखाउँदैन् । यस्ता खालको क्यान्सरको शारीरिक परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ । यौनसम्पर्क गरिसकेपछि रगत बग्नु जसलाई मेडिकल भाषामा ‘कन्ट्याक्ट ब्लिडिङ’ भनिन्छ, महिनावारीको बीच—बीचमा पनि रगत बग्नु, महिनावारी रोकिसकेका महिलामा फेरि रगत देखिनु (मेनो पोसलब्लिडिङ), गन्हाउने पानी आइराख्नु, यौन सम्बन्धमा हुँदा बढी दुख्नु, कम्मर दुख्नु थकित, महसुस हुनु, दिसा—पिसाब सम्बन्धी आनीबानीमा परिवर्तन देखिनु, स्वर परिवर्तन हुनु, श्वास फेर्न गाह्रो हुनु, खुट्टा सुन्निनु, तौल घट्नु आदिजस्ता संकेतहरु पाठेघर क्यान्सरको प्रारम्भिक लक्षण हुन् ।

रोगको पहिचान र परीक्षण कसरी गर्ने?

समयमै स्क्रिनिङ गरी एचपीभीलाई पहिचान गर्न सक्यो भने पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ र मृत्युदर मानिकै कम हुनेछ । यसका लागि महिलाले पाठेघरभित्रको पानी निकालेर जाँच गर्नुपर्दछ जसलाई प्याप स्मेयर टेस्ट भनिन्छ । जुन साधारण जाँच हो जसमा बिरामीलाई बेहोश नगराई र नदुख्ने गरी परीक्षण गरिन्छ ।

यसले पाठेघरको कोषिका सामान्य अवस्थामा रहेर नरहेको पत्ता लगाउने हो । यो जाँचले क्यान्सर हुनुपूर्वको अवस्था सजिलै पत्ता लगाउन सक्छ जस्तै क्यान्सर छ÷छैन थाहा पाउन सकिन्छ, त्यसैगरी संक्रमण भए÷नभएको जानकारी दिन्छ । २५ वर्ष कटेका विवाहित महिलाले कम्तिमा दुई वर्षको अन्तरालमा प्याप स्मेयर परीक्षण गराउन सक्नुपर्छ ।

योबाहेक एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि सामान्य पाठेघरको मुख र क्यान्सर लाग्न थालेको पाठेघरको मुख पहिचान गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर ठ्याक्कै छ कि छैन भन्ने बायोप्सीले गर्दछ । बायोप्सी गर्दा संक्रमित महिलाको पाठेघरको मुखको सानो टुक्रा मासु निकालेर गरिन्छ । साथै, एडभान्स स्टेज क्यान्सर तथा अन्य अंगहरुमा फैलिएको थाहा पाउन अल्ट्रासाउण्ड, सीटीस्क्यान (सिटी), एमआरआई, पोसित्रों एमिस्सिओन तोमोग्रफी (पीइटी), एक्सरे (एक्सरे) आदि जाँचहरु गरिन्छ ।

उपचार विधि

पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पत्ता लागेमा शतप्रतिशत निको हुन सक्छ । पाठेघरको मुखको क्यान्सरका लागि गरिने शल्यक्रियाहरू जस्तै ः कोनाइजेसन साधारण पाठेघर निकाल्ने अप्रेसन तथा ¥याडिकल हिस्टेरेक्टोमी गरिन्छ । रोग फैलिसकेको अवस्थामा भने रेडियोथेरापी ( विकिरणले सेकाउने प्रविधि) वाकेमोथेरापी (सुईद्वारा नसामा लगाइने विशेष औषधी)द्वारा उपचार गरिन्छ ।

रोकथाम के छ ?

एचपिभी विरुद्धको खोप पाठेघरको मुखको क्यान्सर र जेनाइटल वार्टको रोकथामका लागि प्रयोग गरिन्छ । यो खोप ९ देखि १३ वर्ष उमेर समूहका बालिकालाई दिने गरिन्छ । गर्भवती अवस्थाको बेलामा एचपिभीको खोप लगाउन नमिल्ने हुँदा गर्भवती हुनुअघि नै एचपिभीको परीक्षण र खोपमा ध्यान दिनुपर्दछ । त्यसैगरी यो रोग लाग्न नदिनका लागि निम्न लिखित कुराहरू ध्यान दिनु आवश्यक छ ।

  • सानो उमेरमा विवाह नगर्ने ।
  • नियमित स्वास्थ्य परीक्षण र प्याप स्मेयर परीक्षण दुई—दुई वर्षमा गर्ने ।
  • धेरै जनासँग यौन सम्पर्क नगर्ने ।
  • गुप्तांग सम्बन्धी रोगहरूको समयमै उपचार गराउने ।
  • गुप्तांग सधैं सफा राख्ने ।
  • धेरै बच्चा नजन्माउने ।
  • चुरोट, बिँडी, खैनी, तमाखुजस्ता सूर्तीजन्य पदार्थहरूको सेवन नगर्ने ।
  • पाठेघरको मुखको क्यान्सरको सुरुवाती अवस्थामा उपचार गर्नुपर्ने ।
  • यौनजन्य रोग र यसको नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम गरि रहनुपर्ने ।

क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ