२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन्

नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन्


डा. आकृति भारती पेशाले स्त्री रोग विशेषज्ञ हुन् । उनी विगत चार वर्षदेखि वरिष्ठ प्रजनन विशेषज्ञका रुपमा सक्रिय छन् । राजधानीको नारायणचौरस्थित वात्सल्य आईभीएफमा उनले सन्तान उत्पादनमा समस्या भएका झण्डै २५ सय बढी दम्पत्तीका काखमा सन्तान सुख भरिदिएकी छन् । त्यतिमात्रै होइन्, यी ३३ वर्षीया युवा चिकित्सकको अझ देशका कुना कन्दरामा यो सेवा पु¥याउन चाहन्छिन् ।

भन्छिन्, ‘पाठेघर रहेसम्म सन्तान हुने सम्भावना रहन्छ । त्यसैले चाडै निराश भइहाल्नु हुँदैन् ।’ काठमाडौंको चाबहिलकी स्थानीय वासिन्दा उनको जन्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको हो । बुवा दिपक भारती नेपाली सेनामा कार्यरत छन् भने आमा रुपी भारती बैंकर हुन् । शिक्षित र सु—सम्पन्न परिवारमा जन्मे हुर्केकाले उनले पढाइलगायत सबै कुरामा राम्रो अवसर पाइन् । दुई भाइबहिनीमात्रै भएकाले अझ अभिभावकको सन्तानमाथि ध्यान बढी नै थियो ।

‘मेरो एउटा भाइ मात्र छ, घरको एकमात्र छोरी भएर एकदमै मायामै हुर्किए,’ हालैको एक अपरान्ह हेल्थआवाजसँगको कुराकानीमा उनले सुनाइन्, ‘बाल्यकालमा वातावरण राम्रै थियो ।’ आर्मी स्कुलबाटै उनको शिक्षादीक्षा अगाडि बढेको हो । त्यहीबाट वि.सं. २०६० सालमा उनले प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण गरिन् । त्यसपछि थप उच्च शिक्षाका लागि उनी काठमाडौं विश्वविद्यालय धुलिखेलमा भर्ना भइन् । त्यहीबाट उनले विज्ञानमा आइएस्सी गरिन् ।

आकृतिको डाक्टर बन्ने रुचिमा उनका अभिभावको छोरीलाई डाक्टर पढाउने चाहना मिसियो । त्यही कारण आईएस्सी सकेपछि उनले काठमाडौं विश्वविद्यालयमा एमबीबीएस पढ्नका लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्स नाम निस्किएपछि एमबीबीएस पढ्नका लागि नेपालगन्ज मेडिकल कलेज गइन् । ‘यस क्षेत्रमा लाग्नु बुबा र मेरो बाल्यकालदेखिकै सपना हो,’ उनले भनिन् । ५ वर्षमा एमबीबीएस सकेपछि उनले एक वर्ष त्यही हाउस जब गरिन् । त्यसपछि उनी काठमाडौं मेडिकल कलेजमा गाइनोमा एमडीका लागि भर्ना भइन् ।

गाइनो नै किन त ? त्यसको कथा उनको घरपरिवारसँग जोडिएको छ । डा. आकृतिका दुई जना हजुरआमा छन् । ‘पहिलो हजुरआमाको सन्तान नभएर आफ्नो श्रीमानलाई अर्को श्रीमती विवाह गरिदिनुभएको थियो । त्यसपछि बुबा जन्मिनु भएको हो,’ डा. आकृति भन्छिन्, ‘त्यही कारण म गाइनोमा एमडी गर्न लागे ।’ काठमाडौं मेडिकल कलेजबाट एमडी सकेपछि उनको रुचि प्रजनन विशेषज्ञ बन्ने तिर मोडियो । त्यही कारण उनले डेढ वर्ष सिनियर इनफर्टिलिटी स्पेशलिष्टको अन्डरमा काम गरिन् । ‘मैले आईभीएफमा डेढ वर्ष सिनियर इनपÞmर्टीलिटी स्पेशलिष्टको अन्डरमा काम गरे,’ डा. आकृति भन्छिन् । उनले जर्मनीको उल्म युनिभर्सिटीबाट रिप्रोडक्टीभ मेडिसिन एण्ड इन्डोक्राइनोलोजीमा अब्जरभरसीप गरेकी छन् ।

डा. आकृति ४ वर्षदेखि इनफर्टीलिटीका बिरामीको उपचारमा दिनरात खटिइरहेकी छन् । जसमा उनी निःसन्तान दम्पत्तीहरुका समस्या निराकरण गर्नका लागि परेकी छन् । ‘महिनामै सय वटा केस हेर्दा ६० जनाको केस सफल भयो,’ उनी खुसी देखिइन्, ‘४ हजार जति केस हेर्दा २५ सयसम्म गर्भवती हुन सफल भएका छन् । मलाई यसमा सफलता प्राप्त हुँदा आफ्नै हजुरआमाको याद आउँछ । हजुरआमाको जमाना यो प्रविधि भएको भए आफैलाई सौता हाल्नुपर्ने अवस्था आउँदैन् थियो ।’

अहिले उपचारका क्रममा सन्तान नहुँदा घरपरिवारबाट यातना दिने, अर्को विवाह गरिदिने धम्की दिनेजस्ता समस्या रहेको उनले सुनाइन् । ‘त्यो प्रवृत्तिलाई रोक्न मन छ,’ यी युवा चिकित्सक दृढ देखिइन्, ‘उपचारले पाठेघर रहुन्जेलसम्म सन्तान जन्माउन सकिन्छ भन्ने आत्मविश्वास मलाई छ ।’ सामाजिक र पारिवारिक तनावबीच जब आफूले गरेको उपचारबाट सन्तान जन्माउन नसकेका महिलाहरुले सन्तान सुख पाउँछन् डा. आकृतिलाई औधी सुखी लाग्छ । ‘जब सन्तान नभएका कारण पिरोलिइरहेकी एउटा महिला सन्तान सुखमा उन्मुक्त हुन्छन्, मलाई निकै खुसी लाग्छ,’ उनी भन्छिन्, ‘आफूले दिएको जाँचबाट राम्रो नतिजा आउँदा कसलाई खुसी लाग्दैन र ?’

डा. आकृतिलाई भविष्यमा यो उपचारलाई थप व्यवस्थित र विस्तार गर्ने रहर छ । ‘अर्को कुरा हजुरआमाको नाममा एउटा संस्था दर्ता गर्न लागेको छु,’ उनले भनिन्, ‘मेरो हजुरआमाको नाम नानी छोरी हो । नानी छोरी फाउन्डेसन खोल्न लाग्दैछु । त्यस संस्थाबाट चाहिँ मेरो जति फण्ड जम्मा हुन्छ, त्यसबाट वर्षमा दुई जनालाई निःशुल्क उपचार गरिदिने योजना बनाएको छु ।’ अहिले पनि उनी सन्तान नभएका बिरामीलाई आफूले सक्दो मद्धत गरिरहेकी हुन्छन् । महिनामा एक पटक उपत्यकामा र उपत्यका बाहिर पनि साता—सातामा गएर उपचार गरिरहेकी हुन्छन् । ‘किनभने, यो उपचार काठमाडौंमा मात्रै केन्द्रीत छ,’ उनी उपत्यका बाहिर पुग्नुको कारण खोल्छिन्, ‘भविष्यमा मैले जस्तै उपचार गर्न सक्ने गरी मेरा साथीहरुलाई तालिम दिएर यो सेवा अझै विस्तार गर्ने सपना छ ।’

अहिले उनी पूर्णकालीन रुपमा वात्सल्य आईभीएफमा कार्यरत छन् । विहानको समयमा आफैले गर्भवती बनाउन सफल भएका महिलाहरुको शल्यक्रिया गरेर सन्तान निकाल्नुपर्ने भएमा ग्राण्डी सिटीमा जान्छिन्, शल्यक्रिया गर्छिन् । सन्तान नहुनेको कहाँ समस्या छ हेर्छिन् । पाठेघरमा दुरविन छिराएर किन सन्तान बसेन भनेर कारण पत्ता लगाउने शल्यक्रिया गर्छिन् । त्यसबाहेक आफूले गरेको उपचार बारेमा पेपरहरु पब्लिकेशनको लागि लेख्छिन् ।

हेल्दी डाइट, फुर्सदमा किबोर्ड

डा. आकृतिको खासै फुर्सद हुँदैन् । त्यसैले बिरामी सेवाबाट बचेको खाली समयमा उनी किबोर्ड बजाउँछन् । ‘मलाई किबोर्ड बजाउन निकै रमाइलो लाग्छ,’ उनी रोमाञ्चित देखिइन्, ‘त्यसबाहेक घुम्न र गीत सुन्न पनि मन पर्छ ।’

उनको खानपिन पनि एकदमै हेल्दी छ । किनभने, सबै परिवार नै खानेकुरामा निकै सर्तकता अपनाउँछन् । ‘सकेसम्म बाहिरको खाना म खादिनँ,’ उनले भनिन् । उनी बिहान उठ्ने बित्तिकै ओखर र बदाम खाने गर्छिन् । त्यसपछि ब्रेकफास्ट (पुवा, ब्रेड, ओट्सहरु लिन्छन् । दिउँसो आएर लन्च (सादा खाना) हुन्छ । र साँझ ७ बजेअघि नै खाना (प्रायः रोटी, तरकारी) खाइ सक्छन् । ‘जति चाडै खायो, त्यति राम्रो हुन्छ,’ डा. आकृति भन्छिन् ।

त्यसबाहेक फिट रहनका लागि उनी दैनिक शारीरिक व्यायाम र योगा गछ्र्रिन् । स्वास्थ्यका लागि शारीरिक करसत निकै महत्वपूर्ण भएको उनको बुझाइ छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #काठमाडौ मेडिकल कलेज, #काठमाडौं विश्वविद्यालय धुलिखेल, #डा. आकृति भारती, #त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, #वरिष्ठ प्रजनन विशेषज्ञ, #स्त्री रोग विशेषज्ञ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ