२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलपश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए

पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए


नेपालमा प्लाष्टिक सर्जरी अर्थात शल्यक्रिया गरी छाला परिवर्तन गर्ने डाक्टरको संख्या निकै नै कम छ । अधिकांश प्लाष्टिक सर्जन काठमाडौंमै छन् । तर, नारायणी पश्चिम अर्थात लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेर सेवा दिने एक मात्र प्लाष्टिक सर्जन हुन्–डा. विनोद कर्ण ।

डा. कर्ण १० वर्षदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत छन् । नेपालगञ्जका स्थानीय वासिन्दा कर्णले वि.सं. २०४० सालमा नेपालगन्जको महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेका हुन् । अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेर एमबीबीएस पढनका लागि कोसिस गरे । २ पटक प्रयास गर्दा पनि कर्णको नाम इन्ट्रान्समा निस्किएन् ।

त्यतिबेला नेपालमा महाराजगन्ज क्याम्पसमा मात्रै एमबीबीएसको पढाइ हुन्थ्यो । सिट थियो जम्मा १५ वटामात्रै । नाम ननिस्कएपछि डाक्टर बन्ने सपना अधुरै राखेर कर्ण बीएस्सी भर्ना भएर पढाइलाई अगाडि बढाइरहेका थिए ।

त्यति नै बेला उनले रसियामा एमबीबीएस पढन जाने अवसर पाए । सन् १९९३ देखि २००० सम्म सात वर्ष रसियामा बसेर पढेपछि नेपाल फर्किए । नेपालका वीर अस्पताल, प्रसुती गृह र कान्ति बाल अस्पतालबाट इन्टर्नसीप पूरा गरे ।

लोकसेवा पास गरेर मेडिकल अधिकृतको रुपमा वि.सं. २०५९ सालमा खोटाङ जिल्ला अस्पतालमा गए । त्यतिबेला माओवादीको हिंसात्मक आन्दोलन उत्कर्षमा थियो । खोटाङमा बसेर काम गर्न गाह्रो भएपछि केही महिना नै सरकारी जागिर छाडेर काठमाडौं फर्किएर सुषमा मेमोरियल अस्पताल साखुमा ५ वर्ष मेडिमल अफिसरको रुपमा काम गरे ।

वि.सं. २००७ मा स्कलरसीप पाएपछि प्लाष्टिक सर्जरीमा एमडी गर्न चाइना गए । ३ वर्षमा प्लाष्टिक सर्जरीको कोर्स पूरा गरेर सन् २०१० मा उनी नेपाल फर्किए । त्यसपछि करिब ६ महिना सुषमा मेमोरियल अस्पतालमा काम गरे । त्यतिबेला नेपालगन्जलगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट धेरै बिरामीहरु प्लाष्टिक सर्जरीका लागि सुषमा मेमोरियल अस्पतालमा पुग्थे ।

आफ्नै क्षेत्रका बिरामी उपचारका लागि ऋण धन गरेर काठमाडौं आउनु पर्ने अवस्थाले डा. कर्णलाई आफ्नै क्षेत्रमा फर्किएर केही गर्नुपर्छ भन्ने लाग्यो । नेपालगन्ज अर्थात घर आएका बेला नेपालगंज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियासँग भेट भयो ।

डा. कनोडियाले नेपालगन्ज मेडिकल कलेजमा आएर काम गर्न आग्रह गरेपछि डा. कर्ण सन् २०११ फेब्रुअरीमा प्लाष्टिक सर्जनको रुपमा नेपालगन्ज मेडिकल कलेज ज्वाइन गरे ।

मेडिकल कलेजमा प्लाष्टिक सर्जरी सेवा सुरु भयो । जन्मदैं ओठ कटेका, आगोले पोलेका, कुकुरलगायत जंगली जनावरले टोकेका र सडक दुर्घटनामा परेका, रुख तथा भिरबाट लडेका बिरामी उपचारका लागि आउने क्रम बढ्दै गयो । डा. कर्ण र उनको टिमले यो अवधिमा २ सय भन्दा बढी बालबालिकाको जन्मदै कटेका ओठ जोडिदिएर बालबालिकाको अनुहारमा मुस्कान ल्याइदिएका छन् ।

डा. कर्णले दुर्घटनामा परेर अनुहारलगायत शरीरका विभिन्न भाग बिग्रिएका करिब ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर पहिलेकै अवस्थामा फर्कादिएका छन् ।

पछिल्ला दिनहरुमा प्लाष्टिक सर्जरी गरेर उपचार गर्नुपर्ने बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ । तर, प्लाष्टिक सर्जरी सेवा राजधानीभन्दा बाहिरका अधिकांश सहरमा अझै पुगिसकेको छैन । जसका कारण बिरामीले उपचारका लागि अझै पनि राजधानी पुग्नुपर्ने बाध्यता छ ।

मेडिकल कलेजको ओपिडीमा मात्रै दैनिक १० देखि १५ जनासम्म विभिन्न किसिमका दुर्घटनामा बिरामीहरु उपचारमा आउने गरेका छन् । डा. कर्ण र उनको टिमलले हप्तामा करिब १५/१६ जनासम्मको शल्यक्रिया गर्ने गरेका छन् । उपचारका लागि आउने विपन्न तथा आर्थिक अवस्था कमजोर भएका कारण उपचार नै गराउन नसक्ने अवस्थामा रहेका बिरामीलाई नेपालगन्ज मेडिकल कलेज र डा. कर्णको टिमले निःशुल्क उपचारसमेत गर्दै आएको छ ।

पश्चिम नेपालमा ट्रमाका बिरामीहरुको संख्या बढ्दै गएको छ । नेपालगन्जमै नाफारहित सुविधासम्पन्न ट्रमा सेन्टर संचालन गर्न सके धेरै बिरामीले सहज उपचार पाउन सक्ने डा. कर्ण बताउँछन् । नेपालगन्ज मेडिकल कलेजमा अझै पनि वर्न आईसीयु अर्थात पोलेका बिरामीलाई राख्ने आईसीयु छैन । जसका कारण पोलेका बिरामीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता छ । ‘नेपालगन्जमै वर्न आईसीयु संचालन गर्न सके धेरै बिरामीहरुले सहज रुपमा उपचार सेवा पाउन सक्छन्,’ डा कर्ण भन्छन् ।

डा. कर्णकै अग्रसरतामा नेपालगन्ज मेडिकल कलेजमा प्लाष्टिक सर्जरी शिविर पनि संचालन हुँदै आएको छ । शिविर संचालन भएका बेला जन्मजात ओठ कटेका बिरामीहरुको निःशुल्क शल्यक्रियासहित उपचार हुन्छ ।

राजनीतिदेखि सामाजिक काममा सक्रिय

डा. कर्ण राजनीतिदेखि सामाजिक कामहरुमा पनि सक्रिय छन् । उनकै अगुवाईमा वि.सं. २०७२ साउनदेखि नेपालगन्जमा ‘क्लीन नेपालगन्ज, ग्रीन नेपालगञ्ज’ अभियानमार्फत वृक्षारोपण र सरसफाई अभियान संचालन गर्दै आएका छन् । सहरलाई स्वच्छ तथा हरियाली बनाउने अभियानमा निकै सक्रिय छन् । ‘क्लीन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ अभियानले हालसम्म १ सय ७८ पटक सरसफाई अभियान संचालन गरिसकेको छ । नेपालगन्जको सहरी क्षेत्रमा हरियाली प्रवद्र्धनमा ‘क्लीन नेपालगन्ज, ग्रिन नेपालगन्ज’को महत्वपूर्ण योगदान छ ।

डा. कर्ण नेपाल चिकित्सक संघ भेरीमा पनि सक्रिय छन् । चिकित्सक संघमार्फत डा. कर्णले कोभिड–१९ महामारीका बेला जनचेतना अभिवृद्धि गर्नेदेखि संक्रमितको घर आँगनमै पुगेर उपचार गर्ने अभियान नै चलाएका थिए ।

उनी रोटरी नेपालगन्जका संस्थापक अध्यक्ष र चिकित्सक संघका पूर्व अध्यक्ष हुन् । प्लाष्टिक सर्जनको जागिर छाडेर डा. कर्ण वि.सं. २०७४ को निर्वाचनमा नेपालगन्जबाट प्रदेशसभा सदस्यका उम्मेदबार बनेका थिए । प्रदेशसभा सदस्यको चुनावमा जित्न नसकेपनि उनी चिकित्सा क्षेत्र, समाज सेवा र विवेकशील साझा दलमार्फत राजनीतिमा सक्रिय छन् ।


क्याटेगोरी : प्रोफाइल, लुम्बिनी प्रदेश
ट्याग : #डा. विनोद कर्ण, #डा. सुरेश कुमार कनोडिया, #नेपालगन्ज मेडिकल कलेज, #प्लाष्टिक सर्जन, #महाराजगन्ज क्याम्पस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ