२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलत्रिविकी गोल्डमेडलिष्ट दुर्गालक्ष्मी बनिन् नर्सिङतर्फबाट पहिलो स्वास्थ्य सचिव

त्रिविकी गोल्डमेडलिष्ट दुर्गालक्ष्मी बनिन् नर्सिङतर्फबाट पहिलो स्वास्थ्य सचिव

स्वास्थ्य सेवाको स्थायी जागिर सुरु गरेको झण्डै २७ वर्षपछि प्रदेशको स्वास्थ्य सचिव


काठमाडौं—३ माघमा बसेको क्याबिनेट बैठकले दुर्गालक्ष्मी श्रेष्ठलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बनाउने निर्णय गर्‍यो । ४९ वर्षीया उनले स्वास्थ्य सेवामा प्रवेश गरेको झण्डै २७ वर्षपछि यो सफलता हात पारेकी हुन् । यसअघि भेरी अस्पताल नेपालगन्जमा प्रमुख अस्पताल नर्सिङ प्रशासक (११ औं तह) रहेकी उनी नर्सिङतर्फबाट स्वास्थ्य सचिव बन्ने पहिलो हुन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की गोल्ड मेडलिष्ट हुन्, दुर्गालक्ष्मी ।

‘जुनसुकै विधाको हुन सबैको उतिकै प्रतिनिधित्व हुनुपर्छ,’ शुक्रबार साँझ नर्सिङतर्फबाट पहिलो स्वास्थ्य सचिवका रुपमा प्रदेश स्वास्थ्यको प्रशासनिक बागडोर सम्हाल्ने तयारीमा रहेकी उनले भनिन्, ‘यो मेरा लागि ठूलो अवसर हो ।’ आफ्नो नर्सिङ जीवनको सबैजसो समय लुम्बिनी प्रदेशमा बिरामी सेवा, ठूला अस्पतालमा नर्सिङ विभागको नेतृत्व र नीति निर्माणमा खर्चिएकी उनलाई प्रदेशको ग्रासरुट तहसम्मको स्वास्थ्य समस्याको जानकारी छ ।

स्थानीय रुपमा आफूले देखे, भोगेका स्वास्थ्य सेवाका समस्याहरूलाई नीतिगत तहमा सम्बोधन गर्ने प्रयास गर्ने दुर्गालक्ष्मीले बताइन् । ‘मैले सबै तहका स्वास्थ्य समस्याहरु नजिकबाट नियालेकी छु, महसुुस गरेकी छु,’  लुम्बिनीकी नवनियुक्त स्वास्थ्य सचिव बोलिन्, ‘लुम्बिनी प्रदेशको स्वास्थ्य ऐन मस्यौंदा समितिमा रहेर काम गरेको अनुभव पनि छ । यो सबै अनुभवलाई लुम्बिनीको हेल्थकेयर सुधारमा लगाउनेछु ।’

लुम्बिनीको स्वास्थ्यको प्रशासनिक नेतृत्वमा पुगेकी दुर्गालक्ष्मीको जन्म २०३१ सालमा गोरखाको गाइखुरमा भएको हो । बुवा ज्यानकाजी श्रेष्ठ र आमा मोहनकुमारी श्रेष्ठका तीन सन्तानमध्ये उनी जेठी हुन् । उनका दुई भाइ छन् ।

मध्यमवर्गीय परिवारमा जन्मिएकी  दुर्गालक्ष्मीको स्थानीय लक्ष्मी माध्यमिक विद्यालयबाट औपचारिक शिक्षाको प्रारम्भ भएको हो । भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ दुर्गालक्ष्मी सानैदेखि पढाइमा अब्बल थिइन् । स्कुल जीवनमा उनलाई अंग्रेजी विषय मन पथ्र्यो । पढाइबाहेक खेलकूदमा रुचि राख्ने उनी भलिबल र एथलेस्टिक मन पराउँथिन् ।

८ कक्षामा पढ्दा पढ्दैं उनले बुवालाई गुमाइन् । उनका बुवाको मेक्सिकोमा एमएस्सी एजी गर्दै गरेका बेला निधन भयो । यो गहिरो पीडासँगै दुर्गालक्ष्मीका अगाडि थप संघर्षको पहाड खडा भयो ।

वि.सं. २०४७ सालमा उनले लक्ष्मी माविबाटै सेकेण्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् ।

त्यसपछि थप शिक्षाका लागि उनी नेपालगन्ज नर्सिङ क्याम्पस गइन् । वि.सं. २०५२ सालमा उनले नेपालगन्ज नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ उत्तीर्ण गरेकी हुन् । त्यसपछि उनले अस्थायी कर्मचारीका रुपमा केही समय प्युठान जिल्ला अस्पतालमा काम गरिन् । वि.सं. २०५४ सालमा स्टाफ नर्स (पाँचौ तह)मा नाम निकालेर उनी स्वास्थ्य सेवाको स्थायी सरकारी जागिरे भइन् ।

वि.सं. २०५७ सालमा दुर्गालक्ष्मीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा छात्रवृत्तिमा ब्याचलर इन नर्सिङ (बीएन) पढ्ने अवसर पाइन् । वि.सं. २०५९ सालमा उनले बीएन सकिन्, दुर्गालक्ष्मी बीएनमा उत्कृष्ट अंक ल्याएर नेपालकै दोस्रो भएकी हुन् ।

बीएन सकिएलगतै उनको पोष्टिङ दाङ अस्पतालमा भयो । दाङ अस्पतालमा रहेर उनले बिरामी सेवामा आठ वर्ष बिताइन् । दाङ अस्पतालमै कार्यरत रहँदा उनी वि.सं. २०६३ सालमा सातौं तहको नर्सिङ अधिकृतमा बढुवा भइन् । अधिकृत भइसकेपछि उनले थप केही समय त्यही अस्पतालमा नर्सिङ अधिकृतका रुपमा काम गरिन् ।

वि.सं. २०६६ सालमा दुर्गालक्ष्मीले आईओएममै थप उच्च शिक्षाका लागि छात्रवृत्ति पाइन् । उनी माष्टर्स अफ नर्सिङ (एमएन) पढ्नका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान काठमाडौं आइन् । वि.सं. २०६८ सालमा एमएन सकेकी उनले गोल्डमेडल हात पारिन् । पढाइसँगसँगै उनको सरकारी जागिरमा पनि पदोन्नती हुँदैं गइन् । वि.सं. २०६३ सालमा सातौं तहकी नर्सिङ अधिकृत भएकी उनी वि.सं. २०६८ सालमा आठौं तहमा बढुवा पाइन् ।

आठौं तहमा बढुवा भएपछि लुम्बिनी अस्पताल (हाल लुम्बिनी प्रादेशिक अस्पताल)मा तीन वर्ष काम गरिन् । वि.सं. २०७१ सालमा उनी नवौं तहमा बढुवा भइन् । नवौं तहमा बढुवा भएपछि उनले १० महिना राप्ती अस्पतालमा काम रहेर सेवा दिइन् ।

नवौं तहमा बढुवा भएको झण्डै १० महिनामै उनले खुलातर्फबाट स्वास्थ्य सेवाको एघारौं तह (सह-सचिव)मा नाम निकालिन् । १ साउन २०७२ मा सह-सचिवमा नाम निकालेकी उनी त्यही बेलादेखि पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो भेरी अस्पतालको नर्सिङ प्रमुख भएर सेवारत रहिन् । महामारीदेखि महाभूकम्पसम्म पश्चिम नेपालकै बढी बिरामी हुने अस्पतालको नर्सिङ प्रशासनको कुशलतापूर्वक कमाण्ड गरिन् ।

सन् २०१९ मा सेवामा पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै सरकारले उनलाई सुप्रबल जनसेवाश्री सम्मानले पनि विभूषित गरिसकेको छ । काममा रमाउने स्वभावकी दुर्गालक्ष्मी स्वास्थ्य सचिव बनेसँगै नर्सिङतर्फबाट मन्त्रालयस्तरको प्रशासनिक कमाण्ड  उनको काँधमा आइपुगेको छ । संघीयतामा बामे सर्दै गरेको मुलुकमा प्रदेशको स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा कुशलता प्रदर्शन गरेर चुनौतीलाई अवसर बदल्नुपर्ने जिम्मेवारी उनीमाथि थपिएको छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ