२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्साको वीरगञ्जमा ब्ल्याक फंगसबाट तीनको मृत्यु, ५ जनालाई उपचारको लागि भारत पठाइयो

पर्साको वीरगञ्जमा ब्ल्याक फंगसबाट तीनको मृत्यु, ५ जनालाई उपचारको लागि भारत पठाइयो


धनुषा – वीरगञ्जमा ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगस अहिलेसम्म ८ जनामा संक्रमण भेटिएको हो ।

बाँकी पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए । ‘यसको उपचार नेपालमा सम्भव नै छैन । त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ ।’

डा. सिंहले करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज महानगरपालिका–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए ।

‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’,उनले भने, ‘मैले सकेको उपचार त गरेँ । तर, ती महिलालाई बचाउन सकिएन । त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो ।’

ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रोदिनमै उनको मृत्यु भएको डा. सिहंले बताए । उनले भने, ‘आठमध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ । बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको संक्रमण भएको हाम्रो ठम्याइ छ ।’

यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते निधन भएको थियो । वीरगन्जमा आठ जनाबाहेक अहिले अरू कुनै पनि संक्रमित वा व्यक्तिमा ब्ल्याक फंगसको संक्रमण नदेखिएको उनले बताए । कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको छ । वीरगन्जमा संक्रमण देखिएका आठै जना कोभिडबाट निको भइसकेकाहरूमा पाइएको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ