२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकोभिड-१९ बाट ११ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित

कोभिड-१९ बाट ११ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित


दोलखा—कोभिड–१९ ले दोलखामा अत्याधिक बालबालिकाहरु संक्रमित बनेका छन् । जिल्लाको पछिल्लो तथ्याङ्कअनुसार दुई हजार २० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा दुई सय २५ जना बालबालिका रहेका छन् ।

हाल दोलखामा कुल संक्रमित संख्याको ११ दशमलव १३ प्रतिशत बालबालिका रहेको देखाएको छ । कोभिड–१९ संक्रमित बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ । संक्रमित हुनेमा १० वर्षमुनिका बालक २४ र बालिका १८ गरी ४२ जना र १० देखि १९ वर्ष उमेरका बालक ८८ र बालिका ९५ गरी एक सय ८३ जना रहेका छन्् ।

भीमेश्वर र जिरी नगरपालिका र सात गाउँपालिकाबाट प्राप्त तथ्याङ्कअनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा बालबालिकाहरु संक्रमित बनेका छन् । भीमेश्वर नगरपालिकामा पाँच सय ५४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ७४ जना बालबालिका रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताए । जसमा १० वर्षमुनिका २० जना र १० देखि १९ वर्ष उमेरका ५४ जना रहेको खड्काले जानकारी दिए ।

तामाकोसी गाँउपालिकामा तीन सय ९१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ७२ जना बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताए । जसमा १० वर्ष मुनिका बालबालिका ११ जना र १० देखि १९ वर्ष उमेरका ६१ जना रहेको स्वास्थ्य शाखा प्रमुख मिश्रले जनाए ।

त्यस्तै, बैतेश्वर गाउँपालिकामा सबैभन्दा कम बालबालिका संक्रमित भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार बैतेश्वर गाउँपालिकामा दुई जना बालक र एक जना बालिका गरी तीन जना बालबालिका संक्रमित बनेका छन् ।

तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्र बालबालिकाहरु घरभित्रै बसिरहन नसक्ने, अभिभावक संक्रमित भएको अवस्थामा उनीहरुको सम्पर्कमा पुगिरहनेजस्ता कारणले बढी संक्रमित भएको पाइएको बताए । १८ वर्षमुनिका बालबालिकाहरुको लागि खोपको समेत परिक्षण भैनसकेको अवस्थामा अभिभावकहरुले बढी सर्तकता अपनाउनु पर्ने मिश्रको भनाइ छ ।

चरिकोट अस्पतालका प्रमुख एमडिजीपी डा. विनोद दंगाल कोभिड–१९ को इन्डियन भेरियन्टबाट बढी मात्रामा बालबालिका प्रभावित भएकोले नेपालमा पनि त्यसको प्रभाव देखिएको बताउँछन् । रोग प्रतिरोधात्मक क्षमता कम हुने, संक्रमित अभिभावकको सम्पर्कमा रहनेजस्ता कारणले पनि बालबालिकाहरुमा संक्रमण बढी देखिएको डा. दंगाल बताउँछन् ।

अहिलेसम्म १८ वर्षमुनिका बालबालिकाहरुको लागि खोपको परीक्षण नभएको तथा तेस्रो भेरियन्टबाट बालबालिकाहरु बढी प्रभावित हुने विज्ञहरुको विश्लेषण रहेकोले पनि उनीहरुको स्वास्थ्यको बारेमा बढी सर्तक रहनुपर्ने डा. दंगालको सुझाव छ । बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन पोषिलो खानेकुरा दिने, संक्रमित अभिभावकको सम्पर्कबाट टाढा राख्ने, नियमित रुपमा साबुन पानीले हात धुन लगाउने जस्ता कार्य गर्नुपर्ने उनले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #अरुणकुमार मिश्र, #कोभिड-१९, #डा. विनोद दंगाल, #बालबालिकाहरु संक्रमित


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ