२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशक्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो : स्वास्थ्यमन्त्री

क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो : स्वास्थ्यमन्त्री


सिन्धुपाल्चोक—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरमा पुगेर क्षयरोगका बिरामी पहिचान गर्नुपर्नेमा बताए ।

‘क्षयरोग निर्मुलनका लागि तीन वर्षअघिबाट सुरु भएको यो अभियानमा यस वर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घर—घरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलामा ध्यान दिन आग्रह गर्दछु,’ उनले भने, ‘रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हो । यसका लागि सरकारका तीनै तह एकापसमा मिलेर काम गर्नु पर्छ ।’

मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्नेभन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । कुपोषणको शिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने उनको भनाइ थियो । बस्नेतले क्षयरोग निर्मुलनका लागि संघीय र प्रादेशिक सरकारभन्दा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले नेपालले भ्याक्सिन मागेर भएपनि कोभिडका विरुद्धमा लडेर विजय प्राप्त गरेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता कौशल मिश्राले मृत्यु हुनेहरुको संख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउँदैं समुदायको सहभागितामा यसको निर्मुलन सम्भव छ भन्ने धारणा व्यक्त गरिन्। उनले क्षयरोगको निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिको लागि पनि विभागले निरन्तर काम गर्ने बताइन्।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले प्रति वर्ष २ सय २९ जना क्षयरोगका बिरामीहरु भेटिने गरेको तथ्यांक प्रस्तुत गरे । उनले यो रोग निर्मुलनका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर रोगको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्य रहेको बताए । डा. श्रेष्ठले बागमती, मधेश र लुम्बिनीमा क्षयरोगका बिरामी बढी देखा परेको बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका कृष्णप्रसाद सापकोटाले यो अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर लागु गर्ने बताए । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका , हेलम्बु गाउँपालिका जनप्रतिनिधिहरू जिल्लाका प्रशासकीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ