चरिकोट—जेष्ठ नागरिक र अशक्तलाई स्वास्थ्य सेवामा सहजता ल्याउनको लागि जिरी नगरपालिकाले स्वास्थ्य सेवा कार्डको व्यवस्था गरेको छ । जिरी नगरपालिकाले ज्येष्ठ नागरिक र अशक्तले घरमै सेवा प्राप्त गर्नको लागि स्वास्थ्य सेवा कार्डको व्यवस्था गरेको हो ।
स्वास्थ्य सेवा कार्डमा ज्येष्ठ नागरिक तथा अशक्तको नाम, नागरिकता वा राष्ट्रिय परिचय पत्र नम्बर, उमेर वा वर्ष, ठेगाना, टोल वा गाउँ, जाति, संरक्षकको नाम र सम्पर्क नम्बर उल्लेख गरिने छ । यस कार्डभित्र सेवाग्राहीको जाँच गरेको मिति, ब्लड प्रेसर, श्वासप्रश्वास, पल्स, तौल, एसपीओ, जीआरबीस, मुख्य स्वास्थ्य समस्या, सुुगर परीक्षणलगायतका विवरण उल्लेख गरिने जिरी नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दाहालले बताए ।
सेवाग्राहीको घरमा सेवा प्रदानको लागि वडाका एक प्राविधिक स्वास्थ्यकर्मी र एक सहयोगी कर्मचारीको व्यवस्था सम्बन्धित वडाको स्वास्थ्य संस्थाले व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको अधिकृत दाहालले बताए । यस प्रकारको सेवा वर्षमा ४ पटक दिनुपर्नेछ ।
नगरपालिकाले जेष्ठ नागरिक तथा अशक्तको सेवामा नगरप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ तयार पारी यही भदौं महिनाको अन्तिम साताबाट कार्यान्वयनमा ल्याउने तयारी रहेको छ । प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनी नेपालको संविधान, २०७२ को धारा ३५ मा उल्लेख गरिएको छ ।
केशव दाहाल
त्यस्तै, धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख गरेको छ । जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा ९ मा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचारमा छुुट तथा प्राथमिकता दिने विषय उल्लेख छ । त्यसैगरी, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ मा कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने र उपदफा ४ को खण्ड (च) मा जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको हुँदा नगरपालिकाले यसलाई कार्यविधि बनाई कार्यान्वयनमा ल्याउने तयारीमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दाहालले बताए ।
स्वास्थ्य शाखाले सम्पूर्ण तयारी पूरा गरेको हुँदा यसलाई भदौको अन्तिम सातादेखि कार्यान्वनमा ल्याउने दाहालले जानकारी दिए । जसअनुसार जनस्वास्थ्य सेवा ऐनको धारा ३ र ४७ को अधिकार प्रयोग गरी ‘बाआमाको सेवा स्वास्थ्य उपचारमा टेवा भन्ने अभियान’ सहित जिरी नगरपालिकाका ७५ वर्ष उमेर पुूरा भएका जेष्ठ तथा अशक्त क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई वडास्तरमा स्थापित स्वास्थ्य संस्थाको सहकार्यमा घरमै स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नेछ । यस्तै, स्वास्थ्य जीवनयापन गर्न सहजीकरण गर्ने तथा उपचारको आवश्यकता देखिएमा सम्बन्धित स्वास्थ्य संस्थामा उपचारको लागि प्रेषण, परामर्श, राय प्रदान गर्ने कार्यलाई व्यवस्थित पारदर्शी तथा प्रभावकारी बनाउने अधिकृत दाहालले बताए ।
यस अभियानलाई प्रभावकारी बनाउनको लागि जिरी नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा बजेट कार्यक्रममा जेष्ठ नागरिक तथा अशक्तको सेवामा नगर प्रमुख कार्यक्रमको व्यवस्था भए बमोजिम उक्त कार्यक्रम कार्यान्वयन गर्न जिरी नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी जिरी नगरपालिका, नगर कार्यपालिकाको ११५ औं बैठकबाट कार्यविधि स्वीकृत गरिसकेको छ ।