२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ का अस्पतालको दुरावस्था, एउटै बेडमा तीन जनासम्म बिरामी

प्रदेश ५ का अस्पतालको दुरावस्था, एउटै बेडमा तीन जनासम्म बिरामी


डी.आर. बन्जाडे

बुटवल–अस्पताल अन्तिम अवस्थामा पनि बिरामी र बिरामीका आफन्तले जीवन पाउने आशा गर्ने थलो हो । तर, विश्वासको केन्द्र मानिने अस्पतालकै दुरास्था छ । प्रदेश ५ का ठूला भनिएका अस्पतालहरुमा बिरामीहरुको अवस्था दयानीय छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार भैरहेको देख्न सकिन्छ । यसरी फरक–फरक रोगका वा एउटै रोगका कारण बिरामी भएकाहरुलाई एउटै बेडमा राख्नु स्वास्थ्य संवेदनशीलताका हिसाबले गलत हुने चिकित्सकहरु बताउँछन् । ‘एउटै बेडमा राखेर उपचार गर्नु ठिक त हुँदै होइन्, यसले बिरामीमा थप इन्फेक्सन हुने खतरा हुन्छ नै,’ डा. सन्तोष भुसाल भन्छन्, ‘उपचार गर्नैप¥यो बिरामीको चाप बढी हुन्छ ।’

यसरी बिरामीको ज्यानमाथि नै खेलवाड हुने गरी एउटै बेडमा विरामी राख्नु मानवीय दृष्टीकोणले सही नहुने अधिकारवादीहरूको बुझाइ छ । ‘जीवनको अन्तिम अवस्थामा आशाको केन्द्र भनेकै अस्पतालहरू हुन्,’ मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल भन्छन्, ‘मानव जीवनमाथि खेल्ने अधिकार कसैलाई छैन् ।’

एउटै बेडमा तीन जनासम्म बिरामी

अस्पतालहरूमा एउटै बेडमा तीन जना बिरामीसम्म राख्ने गरिएको छ । यसले बिरामीलाई इन्फेक्सनको जोखिम उच्च रहने गरेको डाक्टरहरू बताउँछन् । बिरामीको चापका कारण र बेडको अभावले एकभन्दा बढी बिरामी राख्न बाध्य हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनाल बताउँछन् । काम लाग्ने समानहरू पनि मर्मत सम्भार नगरी जीर्ण हुने गरी राखिएको छ । औषधि स्टक भए्र पनि बिरामीलाई उपलब्ध नगराएको बिरामीहरूको गुनासो छ ।

अनुगमनका क्रममासम्झौताको म्याद सकिएर पनि लुम्बिनी प्रादेशिक अस्पतालमा निजी फार्मेसी सञ्चालन भइरहेको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले देखिएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा हाल ७३ वटा सटर र सिंढीमुनि चार कोठा रहेका छन् ।

प्रदेशका मुख्य अस्पतालको दुरावस्था 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङमा अस्पतालको अवस्था दयनीय छ । अस्पतालका सबै फाँटहरू अस्तब्यस्त नै देखिन्छन् । इमर्जेन्सी बिरामी ल्याउनेहरूको पीडा, ‘यहाँ त यस्तो जञ्जाल छ कि अस्पतालको काइदा कानुन बुझ्दा बुझ्दै बिरामीको ज्यान जान्छ ।’

पहिलो पटक बिरामीको अवस्था बताउन र अघिको कसो गर्ने भन्ने निर्णय खोज्न जाने स्थान फाँट हो । त्यहाँबाटै बिरामीका आफन्त पीडा भोग्न सुरू गर्दछन् । फाँटका कर्मचारी न बोल्छन् न कुनै प्रतिक्रिया दिन्छन् । हतासमा रहेका बिरामीका आफन्त झन पीडित हुनु कुनै नयाँ कुरा हुँदैन् । ‘कर्मचारीहरूमा कुनै जिम्मेवारी नै छैन, बिरामी लिएर अर्घाखाँचीबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका मनोज आलेले पीडा सुनाउँदै भन्छन्, ‘सरसफाइको त के कुरा, बिरामी कुरुवासमेत बिरामी होला भन्ने डर ।’

जिल्ला अस्पतालहरूको पनि अवस्था उस्तै 

प्रदेश ५ का प्रादेशिक अस्पतालहरू मात्र होइन । अन्य जिल्लाहरूमा रहेका सरकारी अस्पतालहरूमा पनि अवस्था उस्तै छ । भीम अस्पताल भैरहवा, पाल्पा जिल्ला अस्पताल पाल्पा, जिल्ला अस्पताल गुल्मी, सन्धिखर्क अस्पताल अर्घाखाँची, कपिलवस्तु जिल्ला अस्पताल कपिलवस्तु र पृथ्वीचन्द्र अस्पताल नवलपरासीको पनि अवस्था दयानीय पाइएको हो । केही दिनअघि अनुगमनमा गएका सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयका अनुसार ती अस्पतालहरूको अवस्थाका कारण बिरामीहरू थप मर्कामा पर्ने गरेका छन् ।

त्यस्तै दाङ, बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा र प्यूठान जिल्लामा पनि अवस्था उस्तै रहेको पाइएको छ । कतै दरबन्दीअनुसार डाक्टरहरूको काम त कतै कर्मचारीको मनपरी देखिएको अनुगमनमा गएका समिति सदस्य अष्टभुजा पाठकले बताए ।

प्रमाणसहित आए कारवाही हुन्छ

प्रदेशिक अस्पतालहरूमा देखिएका समस्या समाधनका लागि प्रयत्न शुरू भएको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । ‘अस्पतालहरूमा समस्या नै नभएको होइन, देखिएका समस्याहरूको समाधानका लागि नयाँ प्रयत्न शुरू भएको छ,’ उनले भने ।
अस्पतालका फार्मेसीहरूमा म्याद गुज्रिएका औषधि राखेको प्रमाणसहित आएमा सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने उनले बताए । पुराना भौतिक संरचनाका कारण कुनै—कुनै अस्पतालहरूमा एकभन्दा बढी बिरामी राख्ने गरेको मन्त्री बरालले स्वीकार गरे । त्यस प्रकारको समस्या समाधानका लागि नयाँ संरचना निमार्णको काम शुरू भएको उनले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ