२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण

डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण


बुटवल-बुटवलमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची मरेङ्ग स्थायी घर भई हाल कपिलवस्तुमा बस्दैं आएकी ६१ वर्षीय सावित्रा आचार्यको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

जिल्लामा उनीसँगै डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक सवित्रा आचार्य नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । उनको शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रुपन्देहीमा डेंगुबाट संक्रमित हुनेहरुको संख्या भने बढिरहेको छ । २६ दिनको अवधिमा सरकारी तथ्यांकमा आएका मात्रै ७२ जना संक्रमित भै सकेका छन् । रुपन्देहीमा रहेका निजी अस्पतालहरुमा ठूलो संख्यामा डेंगु संक्रमणका बिरामी रहेका छन् । कतिपय बिरामीहरु अझै पनि अस्पतालको पहुँचमा आउन नसकेको बताइन्छ । डेंगु संक्रमण तीव्र देखिएपनि ठिक भएर घर फर्कनेको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् ।

यस बर्ष जिल्लामा पहिलो पटक गत साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएका थिए । त्यसयता निरन्तर डेंगु संक्रमणका बिरामीहरु बढ्दैं गएका छन् । भारतीय सीमा क्षेत्रसमेत पर्ने हुनाले पनि जिल्लाको दक्षिणी क्षेत्रमा बढी संक्रमितहरु देखिने गरेका छन् । ‘डेंगु महामारी कै रुपमा देखा पर्न लागेको छ । त्यसबाट बच्चनका लागि सबै सचेत हुनु आवश्यक छ,’ डा. गिरीले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ