२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशचार वर्षपछि कालाजार देखियो, सचेत रहन चिकित्सकको सुझाव

चार वर्षपछि कालाजार देखियो, सचेत रहन चिकित्सकको सुझाव


बुटवल—केही दिनअघि पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेगंगढीका जीवन रानालाई अत्याधिक ज्वरो आयो । उनी थला पर्न थाले । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लाग्यो । उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. कृष्ण खनालका अनुसार उनलाई हाल अस्पताल कै आइसीयुमा राखेर उपचार भैरहेको छ । तराईमा मात्रै देखिने कालाजार पछिल्लो समय पहाडी क्षेत्रमा समेत देखिन थालेको छ । जलवायु परिवर्तन, वातावरणीय प्रदुषणको प्रभाव मानिसको हेलचेक्राईजस्ता कारणले पहाडको पनि उच्च क्षेत्रमा कालाजार देखिन थालेको हो ।

भुसुनाको टोकाइबाट लाग्ने यो संक्रमण पहाडी क्षेत्रमा देखिनु स्वास्थ्यका दृष्टिले गम्भीर भएको चिकित्सकहरु बताउँछन् । रुपन्देहीमा चार वर्षअघि मात्र कालाजारका बिरामी भेटिएका थिए । लामो समयपछि बिरामी भेटिनु र उच्च पहाडी क्षेत्रमा कालाजारको संक्रमण हुनु गम्भीर विषय भएको चिकित्सकहरुको बुझाइ छ ।

कालाजार के हो ?

कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको  काइबाट सर्छ । रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा यो रोग सर्छ । त्यसैले यसलाई सरुवा रोग पनि भनिन्छ । कालाजारका दुई प्रकारका हुने डा. खनाल बताउँछन् । उनका अनुसार पहिलो एन्थ्रोपोनोटिक कालाजार भनिन्छ । यो संक्रमित  मानिसबाट भेक्टर हुँदै स्वस्थ व्यक्तिसम्म सर्ने अवस्था हो । दोस्रो जुनोटिक कालाजार हो ।

के हुन्छ कालाजार लागेमा

यो रोग लागेमा सामन्यता लगातार ज्वरो आउने हुन्छ । संक्रमितको फियो र कलेजोमा संक्रमण बढ्न गई पेट फुल्ने समेत हुन सक्ने डा. खनालले बताए । त्यस्तै संक्रमितलाई कमजोरी महसुस हुनेलगायत लक्षण देखिने गर्दछन् । यसबाहेक रक्तअल्पत्ता हुने, मानिस दुब्लाउँदैं जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ ।

कसरी बच्न सकिन्छ ?

कालाजार प्राण घातक संक्रमण पनि हो । यो सरुवा पनि हुने हुँदा सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरुले जोड दिन्छन् । कालाजार कुकुर, सुँगुर, हाँस, बंगुर र जंगली मुसाहरूमा यो रोग बढी पाइन्छ । कालाजार जुनसुकै उमेरको व्यक्तिलाई हुन सक्ने भएकाले सचेत रहनुपर्छ । कालाजारबाट बच्ने तत्कालीन उपायका रुपमा कीटनाशक औषधि छर्केर भुसुना मार्ने नै हुने चिकित्सकहरुको सुझाव छ ।

त्यसका अलावा अतिरिक्त सुत्दा झुलको प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा जिउ ढाकिएको कपडा लगाउने तथा घर वरीपरिको पानी जमेको खाल्डाखुल्डी पुर्ने तथा ड्रम, टायरहरु सुख्खा राख्नु पर्ने डा. खनाल बताउँछन् । घर वरिपरी सरसफाईमा समेत ध्यान दिनुपर्ने उनले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ