२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा संक्रमण, मृत्युदर समेत बढ्दो

रुपन्देहीमा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा संक्रमण, मृत्युदर समेत बढ्दो


बुटवल-रुपन्देहीमा पछिल्लो २४ घण्टामा स्वाब परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा शंकास्पद ६ सय ९० जनामध्ये ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो ६२ दशमलव ६० प्रतिशत हो ।

रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।

एकै दिनमा झन्डै साढे चार सयका दरले सक्रिय संक्रमित थपिदै जानु खतराको संकेत भएको चिकित्सक बताउँछन् । ‘अवस्था गम्भीर हुँदै गएको छ । सचेत हुनुपर्ने बेला छ,’ डा. सन्तोष भुषाल भन्छन्, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको संक्रमणको दर समेत तीव्र देखियो ।’

रुपन्देहीमा पनि बुटवल उपमहानगरपालिका भित्र धेरै संक्रमितहरु देखिएका छन् । बुटवलमा एकै दिन २ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।

रुपन्देही जिल्लामा मात्र अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ ।

रुपन्देहीमा नयाँ भेरियन्टको संक्रमण दर बढ्दै गएको पाइएको छ । नयाँ वर्षको दिन ३८ जना संक्रमित देखिएको रुपन्देहीमा ५ गते ६६ जनामा संक्रमण देखा परेको थियो । त्यसको तीन दिनमा बैशाख ८ गते संक्रमितको संख्या तीन अंकले वृद्धि भएको थियो । बैशाख ८ गते १ सय १८ जनामा संक्रमण देखिएको थियो ।

जिल्ला भित्र हुने गरेका विवाह, सेमिनार, गोष्ठी आदिका कारण पनि रुपन्देहीमा बैशाख १० गते २ सय २६ मा संक्रमण देखियो । जिल्लामा निषेधाज्ञा जारी भएपनि संक्रमितहरुको संख्या भने लगातार बढ्दै गइरहेको छ ।

जिल्लामा हाल ६९ जना कोभिड १९ सँग जुधिरहेका छन् भने ३ हजार २ सय १३ जना होम आइसोलेसनमा छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ