२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा संक्रमण, मृत्युदर समेत बढ्दो

रुपन्देहीमा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा संक्रमण, मृत्युदर समेत बढ्दो


बुटवल-रुपन्देहीमा पछिल्लो २४ घण्टामा स्वाब परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा शंकास्पद ६ सय ९० जनामध्ये ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो ६२ दशमलव ६० प्रतिशत हो ।

रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।

एकै दिनमा झन्डै साढे चार सयका दरले सक्रिय संक्रमित थपिदै जानु खतराको संकेत भएको चिकित्सक बताउँछन् । ‘अवस्था गम्भीर हुँदै गएको छ । सचेत हुनुपर्ने बेला छ,’ डा. सन्तोष भुषाल भन्छन्, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको संक्रमणको दर समेत तीव्र देखियो ।’

रुपन्देहीमा पनि बुटवल उपमहानगरपालिका भित्र धेरै संक्रमितहरु देखिएका छन् । बुटवलमा एकै दिन २ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।

रुपन्देही जिल्लामा मात्र अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ ।

रुपन्देहीमा नयाँ भेरियन्टको संक्रमण दर बढ्दै गएको पाइएको छ । नयाँ वर्षको दिन ३८ जना संक्रमित देखिएको रुपन्देहीमा ५ गते ६६ जनामा संक्रमण देखा परेको थियो । त्यसको तीन दिनमा बैशाख ८ गते संक्रमितको संख्या तीन अंकले वृद्धि भएको थियो । बैशाख ८ गते १ सय १८ जनामा संक्रमण देखिएको थियो ।

जिल्ला भित्र हुने गरेका विवाह, सेमिनार, गोष्ठी आदिका कारण पनि रुपन्देहीमा बैशाख १० गते २ सय २६ मा संक्रमण देखियो । जिल्लामा निषेधाज्ञा जारी भएपनि संक्रमितहरुको संख्या भने लगातार बढ्दै गइरहेको छ ।

जिल्लामा हाल ६९ जना कोभिड १९ सँग जुधिरहेका छन् भने ३ हजार २ सय १३ जना होम आइसोलेसनमा छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ