२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअक्सिजनको अभावले सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न समस्या

अक्सिजनको अभावले सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न समस्या


नेपालगन्ज–अक्सिजनको अभाव बढ्दै गएपछि नेपालगन्जको भेरी अस्पतालमा कोरोनाका सिकिस्त बिरामीलाई अक्सिजन पु¥याउन र भेन्टिलेटरमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

अक्सिजनको अभावका कारण सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न नसक्ने अवस्था उत्पन्न भएको अस्पतालका आइसियु वार्डका प्रमुख डा. पारस पाण्डेले बताए ।

भेन्टिलेटरमा राखिएको बिरामीलाई २४ घन्टामा करिब १० सिलिन्डर अक्सिजन आवश्यक पर्छ ।

भेरी अस्पतालको अक्सिजन पाइपलाइनको क्षमता ७० देखि सय जना बिरामीलाई अक्सिजन दिन पुग्नेछ । तर, भेरीमा अहिले अक्सिजन दिनुपर्ने बिरामी मात्रै २ सय भन्दा बढी भर्ना छन् ।

भेरी अस्पतालको आफ्नो ग्यास प्लान्ट छैन । उद्योगबाट सिलिन्डरमा भरेर आएको अक्सिजन ग्यासबाटै बिरामीहरुलाई आवश्यकताअनुसार अक्सिजन ग्यास दिने गरेको छ ।

अस्पतालले कोरोना वार्डका लागि अक्सिजन सप्लाई गर्न १८ वटा सिलिन्डरको मेनीफोल्ड बनाइएको छ । बिरामीको चाप बढेसँगै प्रत्येक ५ देखि ७ मिनेटमा एउटा सिलिन्डर खपत हुन्छ । खाली भएको सिलिन्डरलाई निकालेर तुरुन्तै नया सिलिन्डर लगाउनु पर्छ । खाली सिलिन्डर निकालेर भरी सिलिन्डर लगाउन ढिलाइ हुना साथ अक्सिजन पाइप लाइनको प्रेसर कम हुने अस्पतालको अक्सिजन युनिटका प्राविधिक फिदा हुसेनले बताए ।

पछिल्ला दिनहरुमा नेपालगन्जको भेरी अस्पतालमा मात्रै दैनिक ४ सय देखि ४ सय ५० सिलिन्डर अक्सिजन ग्यास खपत भइरहेको छ । अक्सिजन ग्यासको माग दिनानुदिन बढ्दै गइरहेको छ । उद्योगबाट ग्यास आउन ढिलाई हुदा साथ अस्पतालका प्राविधिक र चिकित्सकहरुलाई कति बेला अक्सिजन ग्यास सकिने हो भन्ने चिन्ता हुन्छ ।

हावाहुरीका कारण अक्सिजन उद्योगमा विद्युत अवरुद्ध भएर अक्सिजन उत्पादन रोकिदा हिजो मात्रै अस्पतालको अक्सिजन सप्लाईको चेन २ पटक ब्रेक हुने गरेको अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

नेपालगन्जमा दुई वटा मात्रै अक्सिजन उद्योगहरु छन् । २४ घन्टा विद्युत लाइन भयो भने ती उद्योगहरुले दैनिक ११ सय सिलिन्डरसम्म ग्यास उत्पादन गर्न सक्छन् ।

नेपालगन्जकै अक्सिजन उद्योगबाट बाँके, बर्दिया, दाङ, सुर्खेतदेखि धनगढीसम्म अक्सिजन सप्लाई हुँदै आएको छ । अस्पतालहरुबाट दैनिक २२ सय ५० सिलिन्डरको माग भएपनि उत्पादन भने करिब ११ सय सिलिन्डर मात्रै भएका कारण अक्सिजनको माग धान्ने नसक्ने अवस्था उत्पन्न भएको अक्सिजन व्यवसायी राजीव तरङगाले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ