२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबैशाख महिनामा मात्रै गत वर्षको १२ महिनामा भन्दा तीन गुणा बढी संक्रमण र मृत्यु

बैशाख महिनामा मात्रै गत वर्षको १२ महिनामा भन्दा तीन गुणा बढी संक्रमण र मृत्यु


नेपालगन्ज-२०७७ बैशाख १९ देखि बाँकेमा सुरु भएको कोरोनाको संक्रमण अहिले पनि तीब्र गतिमा फैलिएको छ । २०७७ सालको बैशाखदेखि चैत सम्मको १२ महिनामा भन्दा २०७८ सालको बैशाख महिनामा मात्रै बाँकेमा संक्रमितको संख्या र मृत्यु दर तीन गुणाभन्दा बढी देखिएको छ ।

गत वर्षभरिमा बाँकेमा ५ हजार ९ सय ५८ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये ५८ जनाको मृत्यु भएको थियो ।

तर, यो वर्ष बैशाख महिनामा मात्रै बाँकेमा मात्र १० हजार १ सय १४ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ६७ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

२०७८ बैशाखदेखि सुरु भएको दोस्रो लहरमामा संक्रमितको संख्या मात्रै नभएर मृत्यु दर पनि दोब्बर बढेको तथ्यांकले देखाएको छ । गत वर्ष संक्रमितमध्ये शुन्य दशमलव ९७ प्रतिशतको मृत्यु भएकोमा यो बर्ष त्यसको झन्डै दोब्बर अर्थात १ दशमलव ६५ प्रतिशत मृत्यु भएको छ ।

२०७८ बैशाख ३१ गते मात्रै बाँकेमा ५ सय १५ जना नयाँ संक्रमित थपिएका छन् भने उपचारकै क्रममा ८ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा बाँके जिल्लामा दैनिक ५ सयको हाराहारीमा नयाँ संक्रमितहरु थपिने र १० जनासम्मको मृत्यु हुने गरेको छ । अस्पताल तथा आइसोलेसन सेन्टरहरु बिरामीले भरिएका छन् । बैशाख महिनाको दोस्रो सातादेखि नै संक्रमितहरुले बेड र अक्सिजन सहज रुपमा पाउन सकेका छैनन् ।

बाँकेमा अहिले सक्रिय संक्रमित ३ हजार ६ सय ७५ जना छन । तीमध्ये ३ हजार ३ सय ११ जना होम आइसोलेसनमा र ५ सय ११ जनाको बाँकेका अस्पताल र आइसोलेसन सेन्टरहरुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ