२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा कोभिड-१९ संक्रमण र मृत्युदर घट्दै

बाँकेमा कोभिड-१९ संक्रमण र मृत्युदर घट्दै


नेपालगन्ज  – बाँकेमा कोरोना संक्रमणको दर घटन थालेको संकेत देखिएको छ । जेठ ३ र ४ गते नेपालगन्जका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको रिपोटले नया संक्रमितहरुको संख्या बिस्तारै घट्न थालेको देखिएको हो ।

जेठ ३ र ४ गते गरिएको पिसिआर परिक्षणमा संक्रमण दर घटेर ४४ प्रतिशत भन्दा तल झरेको छ । बैशाखको अन्तिम साता तिर संक्रमण दर ७६ प्रतिशत सम्म पुगेको थियो ।

नयाँ संक्रमणको दर घटेसँगै अस्पतालहरुमा पनि बिरामीको चाप पनि कम हुन थालेको छ । अस्पतालमा बेड नै नपाएर घन्टौसम्म अस्पताल परिसर र एम्बुलेन्स मै होल्डिङ भएर बस्नु पर्ने अबस्था कम भएको छ । सिकिस्त बिरामीलाई बेड पाउन केहि सहज भए पनि बिरामीहरुलाई अझै पनि टेन्ट मै राखेर उपचार गर्नु पर्ने अबस्था कायमै छ ।

वैशाख महिनाको अन्तिम सातामाभन्दा बिरामीको चाप केहि घटेको छ । तर संक्रमणको दर नै घट्न सुरु भएको हो भनेर भन्न सक्ने अबस्था भने अझै भइ नसकेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पान्डेले बताए ।

दोस्रो लहरको सुरुमै हट स्पट बन्यो बाँके

बाँके कोरोना संक्रमणको दोस्रो लहरको सुरुमै कोरोनाको हट स्पट बनेको थियो । बाँकेका कोरोना पर्सन तेज वलीका अनुसार वैशाख १देखि जेठको ४ गतेसम्म बाँकेमा मात्र १० हजार ८ सय ६७ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार ९सय ८६ जना कोरोना संक्रमणबाट मुक्त भए पनि २ हजार ८ सय ८२ जना आइशोलेसनमा छन ।

उपचार कै क्रममा बाँके जिल्लाका मात्र १ सय ८७ जनाको मृत्यु भएको छ । अहिले पनि भेरी अस्पतालमा २ सय २८ जना र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा १ सय ४० जना संक्रमित उपचारमा छन् । १ सय सयभन्दा बढी गाउ तथा नगरपालिकाका आइसोलेसन सेन्टरमा छन् ।

बाँकेमा संक्रमितको संख्यासँगै मृत्यु हुनेहरुको संख्या पनि घट्दै गएको देखिन्छ । वैशाख २९ देखि जेठ ४ गतेसम्मको तथ्यांकलाई हेर्ने हो भने कोरोनाबाट मृत्यु हुनेका संख्या घट्दै गइरहेको देखिन्छ ।

वैशाख २९ गते बाके जिल्लाका मात्रै १० जनाको मृत्यु भएको थियो भने वैशाख ३० गते ९ जना, ३१ गते ८ जनाको मृत्यु भएको छ । जेठ १ गते ६ जना, २ गते ५ जना र ३ गते ३ जना र ४ गते ५ जनाको मृत्यु भएको छ ।

कम्तिमा एक हप्तासम्मको तथ्यांकलाई विश्लेषण गरेर मात्रै संक्रमण दर र मृत्यु दर घट्दै गएको हो कि होइन भनेर भन्न सकिने चिकित्सकहरुले बताएका छन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ