२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमुख्यमन्त्री पोखरेलले भने,‘भेरी अस्पतालको घटनाका दोषीलाई कारवाही हुन्छ’

मुख्यमन्त्री पोखरेलले भने,‘भेरी अस्पतालको घटनाका दोषीलाई कारवाही हुन्छ’


बुटवल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालको घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । उनले भेरी अस्पतालमा भएको घटनाको सत्यतथ्यको निष्पक्ष रुपमा छानविन गरी दोषीमाथि कारवाही हुने बताएका हुन् ।

अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित बिरामीको बिहीबार राति मृत्युपछि आफन्त अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि कुटपिटमा उत्रिएका थिए । कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङ स्टाफमाथि कुटपिट गर्नुका साथै आईसीयु कक्षमा तोडफोड समेत गरेका थिए ।

‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद् घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ,’ सामाजिक संचालमा मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ ।’

कोभिड–१९ संक्रमणबाट सिकिस्त भएपछि दाङबाट रिफर गरेर नेपालगन्ज पठाइएका संक्रमित दाङका डिल्ली रावत गत ४ जेठमा भेरी अस्पताल भर्ना भएका थिए । उनको बिहिबार राती मृत्यु भएको थियो ।

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । बिहिबार राति नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ