२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ‘जेल विथ आउट बेल’ को माग गर्दै नेपालगन्जमा प्रदर्शन

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ‘जेल विथ आउट बेल’ को माग गर्दै नेपालगन्जमा प्रदर्शन


नेपालगन्ज–नेपालगन्जका चिकित्सक र नर्सहरुले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेहरुलाई ‘जेल विथ आउट वेल’ अर्थात धरौटीमा नछाडेर जेल मै राखेर कारबाही गर्ने कानुनी ब्यवस्था लागु गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भएपछि आन्दोलनमा उत्रने स्वास्थ्यकर्मीहरुलाई थामथुम पार्नका लागि अस्पतालहरुमा २-४ दिन सुरक्षाकर्मीहरु बढाएर मात्रै नहुने बताउँदै उनीहरुले ‘जेल विथ आउट वेल’को प्रावधानसहितको कडा कानुन जारी हुनुपर्ने बताएका छन् ।

स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ छ । तर, उक्त ऐनमा स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने उल्लेख छ ।

उक्त कानुन प्रभावकारी नभएका कारण स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेमाथि कहिल्यै पनि कडा कारवाही नभएको गुनासो स्वास्थ्यकर्मीहरुको छ ।

गत २४ बैशाखमा भेरी अस्पतालको इमर्जेन्सी वार्डमा कार्यरत हेल्थ असिसटेन्ट पुपेन्द्र शाही माथि ३/४ जना अपरिचित व्यक्तिले हातपात गरे । हातपातको घटनापछि अस्पतालका प्रमुख डा. प्रकाश थापा र अध्यक्ष प्रमोद घितालद्धारा विज्ञप्ती जारी गरी दोषी माथि कारबाही र सुरक्षाको माग गरे । तर, दोषी माथि कुनै कारवाही नभएको हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीले बताए ।

२०७७ भदौ १९ गते सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसँगै भेरी अस्पतालमा पुगेका युवाहरुद्धारा अस्पतालका फिजिसियन डा. विपिन आचार्य र स्टाफ नर्समाथि हातपात गर्दै दुर्व्यवहार भयो ।

स्वास्थ्यकर्मी माथि हातपात र दुर्व्यवहार गर्न खोज्ने एक जना युवालाई अस्पतालका स्वास्थ्यकर्मीले नियन्त्ररणमा लिएर कारबाहीका लागि प्रहरीलाई बुझाए पनि कारबाही नभएको गुनासो डा. आचार्यको छ ।

सरकारले अध्यादेशमार्फत ‘जेल विथ आउट वेल’को व्यवस्था भएको कानुन ल्याएर स्वास्थ्यकर्मीहरुलाई भयरहित रुपमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले बताइन् ।

‘जेल विथ आउट बेल’को व्यवस्थासहितको कानुनको माग गर्दै पहिलो चरणमा एक सातासम्म हरेक दिन साँझ साढे ५ देखि साढे ६ बजेसम्म शान्तिपूर्ण धर्ना दिने र सुनुवाई नभए एक सातापछि थप कडा आन्दोलन गर्ने चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ