२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९ संक्रमण घटेपछि बाँकेका अस्पतालका २० प्रतिशतभन्दा बढी बेड खाली

कोभिड-१९ संक्रमण घटेपछि बाँकेका अस्पतालका २० प्रतिशतभन्दा बढी बेड खाली


नेपालगन्ज-कोभिड-१९ संक्रमणको दर घटेसँगै बाँकेका अस्पतालहरुमा बेडहरु खाली हुन थालेका छन् । नेपालगन्ज र कोहलपुरका अस्पतालहरुमा कोभिड-१९ का संक्रमितका लागि छुट्टाइएका करिब २० प्रतिशतभन्दा बढी बेडहरु खाली भएका छन् ।

भेरी अस्पतालले कोभिड-१९ का बिरामीलाई छुट्टाएको २ सय बेडमध्ये ४१ बेड खाली भएका छन् ।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरको १ सय ३५ बेड मध्ये ७३ बेड खाली भएका छन् । कोभिड-१९ का बिरामीहरु घटेसँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोभिड-१९ बाहेक अन्य रोगका बिरामीहरुको उपचार सेवा पनि आइतबारदेखि सुरु गर्ने तयारी गरेको छ । कोभिड-१९ संक्रमण बढेसँगै अन्य रोगका बिरामीको उपचार सेवालाई बन्द गरेर मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई कोभिड डेडिकेडेट अस्पताल बनाएको थियो ।

कोभिड-१९ संक्रमित बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा दिदै आएको नेपालगन्जको बेस्टर्न अस्पतालका १६ वटा बेडमध्ये १३ वटा बेड खाली भएका छन् ।

पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्या पनि घट्दै गएको छ । बैशाख महिनाको तेस्रो सातातिर दैनिक करिब ५ सय नयाँ संक्रमित थपिने गरेकोमा अहिले नयाँ संक्रमितको संख्या पनि घटेर करिब ५० मा झरेको छ । नयाँ संक्रमित हुनेभन्दा कोभिड-१९ निको भएर डिस्चार्ज हुनेको संख्या धेरै छ । पछिल्ला दिनहरुमा दैनिक ७०-८० जना कोभिड-१९ संक्रमित निको भएर डिस्चार्ज भइरहेका छन् ।

बाँके जिल्लामा कोभिड-१९ संक्रमणको दर घटेपनि छिमेकी जिल्लाहरुबाट गम्भीर संक्रमितहरु आउने क्रम भने अझै पनि कायमै छ । अस्पतालका नर्मल बेडहरु खाली भएपनि आईसीयु वार्डका बेडहरु भने अझै पनि भरिभराउ नै छन् । बिरामीहरुलाई आईसीयुमा बेड पाउनका लागि अझै पनि पालो पर्खनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । भेरी अस्पतालमा अहिले पनि १ सय ४४ जना संक्रमितको उपचार भइरहेको आईसीयु वार्डका प्रमुख डा. पारस पाण्डेले बताए ।

नयाँ संक्रमणको दर घटेसँगै अस्पतालहरुमा पनि बिरामीको चाप पनि कम हुन थालेको छ । कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएर चेक जाँचका लागि अस्पतालहरुमा आउने बिरामीहरुको संख्या पनि घट्दै गएको छ । अस्पतालमा बेड नै नपाएर घण्टौंसम्म अस्पताल परिसर र एम्बुलेन्स मै होल्डिङ भएर बस्नुपर्ने अवस्था हटेको छ । अस्पतालको इमर्जेन्सी वार्डका बेडहरु खाली हुन थालेको अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।

कोभिड-१९ संक्रमणको दोस्रो लहरको सुरुमै बाँके हटस्पट बनेको थियो । बाँकेमा १ बैशाखदेखि हालसम्म १२ हजार २ सय ८० जना संक्रमित भएका छन् । तीमध्ये ११ हजार ६ सय २३ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये २ सय ४२ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अझै पनि ४ सय १५ जना उपचाररत छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ