२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९ संक्रमण निको भएर डिस्चार्ज भएका बिरामी स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पतालमा

कोभिड-१९ संक्रमण निको भएर डिस्चार्ज भएका बिरामी स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पतालमा


नेपालगन्ज—कोभिड–१९ संक्रमण निको भएर घर फर्किएका बिरामीहरु स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पतालमा आउन थालेका छन् । कोभिड–१९ संक्रमणपछि पिसिआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएर घर गएका बिरामीहरु श्वास फेर्न गाह्रो हुने समस्या भएपछि पुनः नेपालगन्जको भेरी अस्पतालमा आउने क्रम बढ्दै गएको छ ।

दैनिक २—३ जना स्वास्थ्यमा समस्या भएर अस्पतालमा आउने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । भेरी अस्पतालको इमर्जेन्सी वार्डमा २ जना, जनरल वार्डमा २ जना र आईसीयुमा २ जना गरी ६ जना त्यस्ता बिरामीहरुको उपचार भइरहेको छ ।

अस्पतालमै भर्ना भएर कोभिड–१९ निको भएर स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज भएर घरमा गएको १०/१५ दिनपछि श्वास फेर्न, हिडडुल गर्न गाह्रो हुने र खोकी लाग्नेजस्ता समस्या देखिएपछि पुन अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना हुन आएका अधिकांश बिरामीहरुको फोक्सोमा दागहरु देखिएको छ ।

श्वास फेर्न गाह्रो हुने भएकाले भर्ना भएका बिरामीहरुलाई अक्सिजन दिएर राखिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएर घर गएपनि पुनः कोभिड–१९ कै कारण स्वास्थ्यमा समस्या देखिने क्रम पछिल्ला दिनहरुमा बढ्दै गएको भेरी अस्पताल नेपालगन्जका चिफ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।

कोभिड–१९ निको भएपनि त्यसको असरका कारण स्वास्थ्यमा समस्या भएर अस्पतालमा आउने बिरामीहरुका लागि छुट्टै वार्ड नै स्थापना गरेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहरको सुरुमै बाँके कोभिडको हटस्पट बनेको थियो । बाँकेमा १ बैशाखदेखि हालसम्म १२ हजार ४ सय ४५ जना संक्रमित भएका छन् । ती मध्ये १२ हजार ८० जना उपचारपछि निको भएका छन् । संक्रमित मध्ये बाँके जिल्लाका ९३ जना उपचारमा छन् । उपचारकै क्रममा बाँकेमा २ सय ५२ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ