२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबाँकेको भेरी अस्पतालमा पहिलोपटक मल्टीलिगामेन्टको सफल शल्यक्रिया

बाँकेको भेरी अस्पतालमा पहिलोपटक मल्टीलिगामेन्टको सफल शल्यक्रिया


जुम्ला – लुम्बिनी प्रदेशको भेरी प्रादेशिक अस्पतालमा नेपालगञ्जमा पहिलोपटक मल्टीलिगामेन्टको सफल शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौंबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने उक्त उपचार भेरी अस्पतालकै चिकित्सकले शल्यक्रिया सफल गरेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. तीर्थेन्द्र खड्काको टोलीले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल शल्यक्रिया गरिएको हो । २ महिनाअघि उनको बाँया खुट्टाको घुँडामा चोट लाग्दा ३ वटा नशामा असर परेको थियो ।

‘यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौंका चिकित्सकले गरेका थिए,’ डा. थापाले भने, ‘हाम्रो अस्पतालका चिकित्सकको टिमले पहिलो पटक सफल शल्यक्रिया गरेको हो ।’ यो सफलतासँगै अब भेरीमा यस खाले सेवा नियमित हुने उनले बताए ।

वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. खड्कासहित ४ जनाको टोलीले एसिल, पिसिएल र एलसिएल नशाको सफल शल्यक्रिया गरेको जानकारी दिँदै अस्पतालका मेसु डा. थापाले दूरबिनका माध्यमबाट सिंगल लिगामेन्टको २ वर्षदेखि उपचार भइरहेको बताए ।

भेरीमा यो २ वर्षमा लिगामेन्टको मात्र सयभन्दा बढी बिरामीको शल्यक्रिया भइसकेको छ । भेरीलाई विशिष्टकृत सेवा अस्पतालका रूपमा विकास गर्ने सरकारको निर्णयसँगै विभिन्न सेवा थपिँदै लगिएको अस्पतालका मेसु डा. थापाले बताए । ‘दक्ष जनशक्ति व्यवस्थापनसँगै सेवा थपिँदै लगिएको छ,’ डा. थापाले भने, ‘ग्यास्ट्रोसर्जरी, स्पाइनसर्जरी, नाक कान घाँटीको शल्यक्रिया पनि सफल ढंगले भइरहेको छ ।’

गम्भीर बिरामी हुँदा भारत वा काठमाडौं जानुपर्ने बिरामीको बाध्यतालाई कम गर्न भेरी अस्पताल प्रयासरत रहिरहेको मेसु थापाको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ