२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पताल परिसरका ब्यापारिक प्रयोजनका सटरहरू भत्काउन सुरू

भेरी अस्पताल परिसरका ब्यापारिक प्रयोजनका सटरहरू भत्काउन सुरू

२ सय ४० बेडको सुविधासम्पन्न भवन निर्माण हुँदैं


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पताल परिसरमा व्यवसायिक प्रयोजनका लागि निर्माण गरी वर्षाैदेखि भाडा दिइएका सटरहरु भत्काउन सुरु गरिएको छ । अस्पताल परिसरमा ब्यापारिक प्रयोजनका लागि निजी क्षेत्रलाई ब्यवसाय गर्न नदिने नेपाल सरकारको नीतिअनुसार भेरी अस्पताल विकास समितिले सटरहरु भत्काउन सुरु गरेको हो ।

अस्पताल परिसरमा निर्माण गरिएका ३४ वटा सटरहरुमा चिकित्सकहरुका क्लिनिक, प्रयोगशाला, एक्सरे, खाना तथा खाजा पसलहरु लामो समयदेखि संचालन हुँदै आएका थिए ।

अस्पतालका केही कर्मचारी तथा बिचौलियाहरुले अस्पतालमा चेक जाँच पछि गरिने विभिन्न परिक्षण तथा औषधी खरिदका लागि बिरामीहरुलाई निजी क्लिनिक, प्रयोगशालाहरुमा लैजादै आएका थिए ।

अस्पतालको फार्मेसी र प्रयोगशालामा भन्दा बढी बिरामीको भिड अस्पताल परिसरमा रहेका निजी औषधी पसल र प्रयोगशालामा हुने क्रम बढ्दै गएपछि नेपाल सरकारले अस्पताल परिसरमा निजी क्षेत्रलाई ब्यापारिक कारोबारका लागि सटरहरु नदिने नीति अबलम्बन गरेको हो ।

अस्पताल विकास समितिले लामो समयदेखि भाडामा दिइएका सटरहरु खाली गर्न खोजे पनि भाडामा बस्दै आएका ब्यक्तिहरुले शक्ति केन्द्रको आडमा अटेर गर्दै आएका थिए ।

सटरको मासिक भाडा १० हजारदेखि एक लाखसम्म भएपनि कतिपय ब्यापारिक तथा संघ संस्थाहरुले वर्षाैदेखि भाडा तिरेका छैनन् । अझै पनि करिब ८५/९० लाख भाडा असुल हुन बाँकी रहेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

पटक—पटकको छलफलपछि अस्पताल विकास समिति र भाडामा बस्दै आएका ब्यवसायी बीच बाँकी बक्यौता भाडा ६ महिनाभित्र बुझाउने गरी सहमति भएको छ ।

अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र र नेपाल चिकित्सक संघको प्रयोग गर्दै आएका भवनहरु भत्काउने तयारी भइरहेको सदस्य श्रेष्ठले बताए ।

भाडामा दिइएका सटरहरु भत्काएर अस्पताल विकास समितिले अस्पताल परिसरमा पर्खाल निर्माण गरी सौन्दर्यकरणको प्रक्रिया अगाडि बढाएको छ ।

२ सय ४० बेडको सुविधासम्पन्न भवन निर्माण हुँदैं

दुई वर्ष पहिले नेपाल सरकारले भेरी अस्पताललाई विशिष्टीकृत अस्पतालको रुपमा घोषणा गरेको थियो । अहिले भेरी अस्पताल परिसर नै करिब ३४ करोडको लागतमा २ सय ४० बेडको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ