२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआइसीयु सेवासहितको एम्बुलेन्स, गाउँका मानिसको जीवन बचाउँदैं

आइसीयु सेवासहितको एम्बुलेन्स, गाउँका मानिसको जीवन बचाउँदैं


बुटवल— रूपन्देहीको देवदह नगरपालिका वडा— १४ की १७ वर्षीया मैना आलेमगरलाई सुतिरहेको बेला सर्पले डस्यो । सर्पको डसाइ पत्ता लगाउँदै दुई घन्टा बित्यो । उनको अवस्था नाजुक बन्दै गएपछि अभिभावकले मोटरसाइकलमा राखी नवलपरासीको त्रिवेणीमा रहेको आर्मी क्याम्पमा पु¥याए, जहाँ ‘एन्टी स्नेक भेनम’ पाइन्छ भन्ने थियो ।

तर, अवस्था सोचेजस्तो भएन । त्यहाँ उपचार सम्भव नभएपछि मैनालाई साधारण एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो । बुटवल ल्याइ पु¥याउँदा उनको अवस्था गम्भीर भैसकेको थियो । बेहोस्, अवस्थामा रहेकी मैनालाई आइसीयुको अभावका कारण चितवन लैजान चिकित्सकहरुले सुझाव दिए । तर, साधारण एम्बुलेन्समा चितवन पु¥याउन निकै जोखिम थियो ।

‘फोन गरेको दुई तीन मिनेट मै एम्बुलेन्स आयो र डेढ घन्टा मै चितवन पु¥यायो,’ उनको उपचारका लागि आएका छिमेकी विशाल आचार्यले भने, ‘सोही एम्बुलेन्सबाट उनलाई चितवन पु¥याइयो र सात दिनसम्म उपचार गरेपछि ठीक भयो ।’

त्यस्तै बुटवल तामनगरका बासुदेव ज्ञवालीलाई पनि उच्च रक्तचापका कारण घरमै अचेत भएपछि सोही एम्बुलेन्सबाट बुटवलको एक अस्पतालमा ल्याइयो । उपचार भयो र ठिक भए ।

बुटवल क्षेत्रमा विगत दुई वर्षदेखि सो आइसीयु सेवासहितको एम्बुलेन्स सञ्चालनमा छ । नेपाल एम्बुलेन्स सेवाले काठमाडौंमा ११ वटा र उपत्यकाबाहिर बुटवल, चितवन र पोखरा गरी तीन सहरमा केन्द्र बनाइ एम्बुलेन्समार्फत सेवा दिइरहेको छ । यो एम्बुलेन्स ‘इन्टरनल मेडिकल क्याप्स’ नामक जापानिज संस्थाले नेपाल एम्बुलेन्स सेवालाई सहयोग गरेको हो । नेपाल सरकारको राजश्व छुटमा सञ्चालनमा रहेका एम्बुलेन्सले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी सेवा संचालन गरिरहेका छन् ।

बुटवल स्टेशनमा एम्बुलेन्स सञ्चालनका लागि दुई जना इमर्जेन्सी मेडिकल टेक्निसियन र दुई जना पाइलट (चालक) गरी जम्मा ४ जना कार्मचारी कार्यरत छन् । एक बिरामीका लागि एक जना पारामेडिक (मेडिकल पर्सन)को निगरानीमा बिरामीलाई यातयात सेवा प्रदान गर्ने गरेको इमर्जेन्सी मेडिकल टेक्निसियन इएमटी यग्मा वतीले बताइन् । बिरामीको अवस्थालाई सकेसम्म खस्कन नदिने संस्थाको उद्देश्य रहेको उनी बताउँछिन् । ‘बिरामीको स्वास्थ्य अवस्थामा सकेसम्म सुधार गर्छाैं,’ उनले भनिन्, ‘तर अवस्था खस्कन दिदैनौं ।’ एम्बुलेन्समा राखेर अत्याधुनिक उपकरणहरुको सेवा मेडिकल पर्सनले दिन सुरु गरेपछि मनोवैज्ञानिक प्रभावका कारण कतिपय बिरामीहरुको स्वास्थ्यमा चमत्कारिक सुधार हुने गरेको अनुभव उनले सुनाइन् ।

एम्बुलेन्समा सवार हुने बिरामीका लागि अक्सिजनसँंगै आवश्यक एक दर्जन औषधि निःशुल्क रुपमा उपलब्ध गराउने गरिएको छ ।

साधारण एम्बुलेन्स भन्दा के फरक छ ?

आइसीयु एम्बुलेन्समा कृत्रिम श्वास प्रश्वास प्रणाली (म्यानुअल भेन्टिलेटर), मुटुको चाल, रक्तचाप, अक्सिजनको मात्रालगायतका नाप गर्ने यन्त्रसहितको मनिटर, बिरामीले उल्टी गरेमा मुख तथा घाँटीमा रहेको फाहोर हटाउने सक्सन मेसिन, दमका बिरामीलाई आवश्यक पर्ने वाफ दिने मेसिन, बिरामीको मुटुको धड्कन हराएमा झट्का दिने एइडी मेसिनसहितको सुविधा एम्बुलेन्सभित्रै हुने इएमटी वतिले हेल्थ आवाजलाई बताइन् ।

नेपाल एम्बुलेन्स सेवाले ग्रामीण क्षेत्रलाई मुख्य प्राथमिकता दिई सेवा दिने गरेको उनको भनाइ छ । ‘अस्पतालको बिरामी त कम्तिमा उपचारका लागि डाक्टरको निगरानीमा त हुन्छन्,’ उनले थपिन्, ‘हामी सकेसम्म बिरामीको घरबाट नै जोखिम कम गर्ने गरी काम गरिहेका हुन्छौं ।’ एम्बुलेन्सभित्र बिरामी वा घाइतेलाई राख्दा एक वेड नीतिअनुसार गर्ने गरेको बताए । एम्बुलेन्समा प्रविधिको प्रयोग गरी बिरामीलाई कुनै दबाब नहुने गरी भित्र राख्ने र एम्बुलेन्सबाट निकाल्ने गरिन्छ । दुर्घटनाको घाइते होस् वा अन्य बिरामीलाई हातको प्रयोग हुँदा जोखिम बढ्ने भएकाले उपकरणको प्रयोग गर्दा बिरामी वा घाइतेलाई असर नहुने वतीले बताइन् ।

सम्पर्क कसरी हुन्छ ?

संस्थाले एम्बुलेन्सका लागि टोल फ्री नम्वर १०२ को व्यवस्था गरेको छ । सो नम्वरमा फोन गर्दा पैसा लाग्दैन् । त्यही फोनमा आउने गरेको र त्यसको आधारमा बाटो पुगेको ठाउँमा र एम्बुलेन्स पुग्न सक्ने ठाउँसम्म जाने गरेको एम्बुलेन्सका पाइलट (चालक) दिपक नेपालले बताए । एम्बुलेन्स चालक (पाइलट)लाई समेत मेडिकल तालिम उपलब्ध हुने हुँदा भैपरी आउँदा दुई जनाको सहकार्य हुने उनले बताए ।

कत्तिको महंगो छ ?

आइसीयु सेवासहितको एम्वुलेन्स बुटवल क्षेत्र भित्र स्थानीय शुल्कको रुपमा ५ सय निर्धारण गरिएको छ । त्यस्तै, भैरहवा बुटवलको १५ सय र बुटवल क्षेत्रभन्दा बाहिर जाँदा आधारभूत रुपमा प्रति किलोमिटर रु ९० का दरले शुल्क लिने गरेको वतीले बताइन् ।

त्यस्तै, बुटवलदेखि चितवनका लागि ११ हजार शुल्क लाग्ने गरेको छ । काठमाडौंका लागि २३ हजार ५ सय शुल्क निर्धारण गरिएको उनले बताइन् । अन्य एम्बुलेन्ससँग तुलना गर्दा महंगोजस्तो लागे पनि औषधि, अन्य सेवा, मेडिकल पर्सनको निगरानी लगायतको हिसाब गर्दा महंगो नहुने वतीको भनाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ