२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाउने ५३ प्रतिशत पुगे

बाँकेमा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाउने ५३ प्रतिशत पुगे


नेपालगन्ज—बाँकेमा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या ५३ प्रतिशत पुगेको छ । ३६ प्रतिशतले दोस्रो डोज लगाएका छन् । बाँके जिल्ला पहिलो र दोस्रो कोभिड–१९ महामारीको लहरमा ‘हटस्पट’ बनेको थियो । भारतीय सीमा नाकासँग जोडिएका कारण बाँके कोभिड–१९ संक्रमणको उच्च जोखिममा छ ।

हालसम्म बाँकेमा १८ हजार ४ सय ६४ जना संक्रमित भइसकेका छन् । कोभिड संक्रमणकै कारण बाँकेमा ३ सय ४४ जनाको मृत्यु भइसकेको छ । संक्रमणको जोखिम उच्च भएकाले स्वास्थ्य मन्त्रालयले बाँकेमा प्राथमिकताका साथ कोभिड विरुद्धको खोप कार्यक्रम संचालन गर्दै आएको छ ।

बाँकेमा हालसम्म १ लाख ८८ हजार ४ सय ५१ जनाले पहिलो डोज लगाएका छन् भने पहिलो र दोस्रो दुवै डोज लगाउनेहरुको संख्या १ लाख २६ हजार ८ सय २० पुगेको छ । पहिलो डोज लगाएका ६१ हजार ६ सय ३१ जनाले खोपको दोस्रो डोज लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका ८ वटा स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिकालगायत ६ वटा स्थानीय तहमा पहिलो डोज लगाउनेहरुको संख्या ५० प्रतिशतभन्दा माथि भएपनि कोभिड–१९ संक्रमणको हटस्पट बनेको नरैनापुरमा भने खोप लगाउनेको संख्या निक्कै कम छ ।

नरैनापुरमा पहिलो डोज खोप लगाउनेको संख्या २७ प्रतिशत र दोस्रो डोज १६ प्रतिशत मात्रै छ । खोपको कभरेज कम भएका क्षेत्रलाई फोकस गरेर सचेतनामूलक कार्यक्रम संचालन गरेर खोपको कभरेज बढाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये बढी खोप लगाउनेमा जिल्लाहरुमा बाँके तेस्रो स्थानमा छ । स्वास्थ्य मन्त्रालयले देशैभर कोभिड–१९ विरुद्धको खोपको कभरेज ६६ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।

पछिल्ला दिनहरुमा कोभिड–१९ विरुद्धको खोप आउने क्रम बढ्दै गएका कारण स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन मिल्ने सबै उमेर समूहका मानिसहरुलाई एउटै खोप केन्द्रबाट एकै पटक पहिलो र दोस्रो डोज खोप लगाउने तयारी गरिरहेको छ ।

भारतमा पहिलो डोज खोप लगाएर नेपाल फर्कदै गरेका नेपाली नागरिकहरुलाई उनीहरुले भारतमै लगाएको खोपकै दोस्रो डोज लगाउने ब्यवस्था मिलाइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले बताए ।

भारतमा कोभिशिल्ड खोप पहिलो डोज लगाएका नेपालीहरुले नेपालमा कोभिशिल्ड खोपको अभाव भएका कारण नेपालमा कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन पाएका छैनन् ।

नेपालका कोभिशिल्ड खोप पनि आउन सुरु गरेका कारण सबैलाई सहज हुने गरी खोप लगाएर खोपको कभरेज बढाउने लक्ष्यका साथ स्वास्थ्य कार्यालय बाकेले काम गरि खोप अधिकृत श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ