२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड–१९ संक्रमण घट्यो, भेरी अस्पतालमा २ जनामात्रै बिरामी

कोभिड–१९ संक्रमण घट्यो, भेरी अस्पतालमा २ जनामात्रै बिरामी


नेपालगन्ज–नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड–१९ वार्डमा २ जना मात्रै संक्रमित बिरामीको भर्ना छन् । पछिल्ला दिनहरुमा कोभिड–१९ संक्रमण भएपछि उपचारका लागि अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या ह्वात्तै घटेको छ ।

भेरी अस्पतालमा कोभिड–१९ संक्रमित बिरामीको उपचार सुरु भएयताकै सबैभन्दा कम अर्थात २ जना मात्रै बिरामी भर्ना छन् । दोस्रो लहरमा अर्थात २०७८ बैशाख महिनामा कोभिड–१९ संक्रमणको दर तीब्र गतिमा फैलदा भेरी अस्पतालमा एकै दिनमा ३ सयदेखि ३ सय ५० जनासम्म अक्सिजन चाहिने बिरामीलाई भर्ना गरेर उपचार गरिएको थियो ।

नेपालगन्जको भेरी अस्पतालले २०७७ साल भदौ ३१ देखि कोभिडका बिरामीहरुलाई भर्ना गरेर उपचार सुरु गरेको थियो ।

कोभिड–१९ संक्रमण सुरु भएयता नेपालगन्जको भेरी अस्पतालमा मात्रै २ हजार ९ सय ७३ जना कोभिड संक्रमित बिरामी भर्ना भएका छन् । भर्ना भएका बिरामीमध्ये करिब १६ प्रतिशत अर्थात ४ सय ८७ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

बिरामीको चाप धेरै भएपछि अस्पतालमा बेड र अक्सिन पाउनै बिरामीहरुलाई हम्मे–हम्मे पर्ने अवस्था सिर्जना भएको थियो । बिरामीको चाप घटेसँगै कोभिड–१९ संक्रमितको उपचारका लागि भेरी अस्पतालमा निर्माण गरिएका अक्सिजन र भेन्टिलेटरको सुविधासहितका ४ वटा कोभिड वार्डमध्ये ३ वटा वार्ड बन्द गरिएको छ । बिरामीको उपचारमा दिन रात खटिदै आएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पनि सहज भएको छ ।

कोभिड—१९ विरुद्धको खोप अभियान सुरु भएपछि कोभिड–१९ को संक्रमण दर घट्न थालेको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बताए ।

नयाँ संक्रमण र भर्ना दर घटेपनि पछिल्ला दिनहरुमा फेरि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै गएको देखिएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै कोभिड विरुद्धको खोपको डोज पुरा गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

बाँकेमा हालसम्म ५३ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । खोपको पहिलो र दोस्रो दुवै डोज लगाउँदा संक्रमणको जोखिमबाट जोगिन सक्ने देखिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ