२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशविद्यालयमा पहिलोपटक नि:शुल्क मुटुरोग शिविर

विद्यालयमा पहिलोपटक नि:शुल्क मुटुरोग शिविर


नेपालगन्ज – बाँकेको कोहलपुरस्थित बागेश्वरी एकेडमी स्कुलमा विद्यार्थीको मुटुरोग पहिचान शिविर संचालन गरिएको छ । बालबालिकामा मुटु रोग सम्बन्धि समस्या भए पनि समय मै उपचार नहुँदा समस्या बढ्दै गएर ज्यानै जाने अबस्था सृर्जना हुने जोखिम बढ्दै गए पछि स्कुलले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालसँग सहकार्य गरेर मुटुरोग शिविर संचालन गरेको हो ।

नर्सरी देखि कक्षा ७ सम्म अध्ययनरत ६ सय ९० का विद्यार्थीको मुटु चेक जाँच गर्दा ५ जना विद्यार्थीमा मुटु रोग सम्बन्धि समस्या देखिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ बाल रोग विशेषज्ञ डा. पिउस कनोडिया र वरिष्ठ फिजिसियन डा. आशिम किदवाई लगायतका चिकित्सकहरुको टोलीले विद्यार्थीहरुको मुटुको चेक जाँच गरेका थिए ।

चेक जाचका क्रममा मुटु रोग भएको आशंका भएका विद्यार्थीहरुको इको गरेर मुटु रोग भए नभएको एकिन गरिएको थियो । शंकास्पद विद्यार्थीको इको गरेर हेर्दा एक जना बिरामीको मुटुमा प्वाल परेको र ४ जना बिरामीको मुटुमा भल्बमा समस्या देखिएको परीक्षणमा संलग्न नेपालगन्ज मेडिकल कलेजका मेडिसिन विभागका प्रमुख वरिष्ठ फिजिसियन डा. आशिम किदवाईले बताए ।

नेपालमा एक हजार बालबालिका मध्ये ४-५ जना देखि १० जना सम्ममा मुटु रोग सम्बन्धि समस्या भएको अनुमान छ । तर, पश्चिम नेपालमा बालबालिकामा हुने मुटुरोग पहिचान गर्नका लागि शिविरहरु संचालन नभएका कारण के कस्तो संख्यामा मुटुरोग सम्बन्धि समस्या छ भन्ने एकिन छैन ।

मुटुरोग भएका बालबालिकाहरुमा हिडडुल गर्दा, खेल्दा  स्वा स्वा हुने, खुट्टा सुन्निने , हातका नङहरु ठुलो हुने, बालबालिकाहरुको विकास राम्ररी नहुने, पटकपटक रुखाखोकी लाग्ने , निमोनिया जस्तो लक्षण भइ राख्ने समस्या देखिन्छ । त्यस्ता समस्या आउनुको मुख्य कारण के भन्ने सम्बन्धमा बिशेषज्ञ चिकित्सकहरुबाट राम्रोसँग जाँच  नगराइ निमोनिया भएको आशंका गरेर एन्टिबायोटिक खुवाउने गरिन्छ ।

एन्टिबायोटिक खुवाउदा केहि समयलाई सन्चो भएको जस्तो हुने भएकाले मुटु रोगको पहिचान नहुने समस्या धेरै छ । नेपालगन्जका अस्पतालहरुमा मुटुरोगको उपचार गर्ने क्रममा चिकित्सकहरुले इको चेक जाँच गर्दा दैनिक ४-५ देखि १० जना सम्म्मा मुटुरोग सम्बन्धि समस्या देखिने गरेको डा. किदवाईले जानकारी दिए ।

बालबालिकाहरुमा हुने मुटु रोग सम्बन्धि समस्याको पहिचान हुन सके उपचार सहज हुन्छ । त्यसैले बालबालिकाहरुलाई लक्षित गरी मुटुरोग शिविर संचालन गर्न आवश्यक भएको नेपालगन्ज मेडिकल कलेजका मेडिसिन विभागका प्रमुख वरिष्ठ बालरोग विशेषज्ञ डा. पिउस कनोडियाले बताए  ।

मुटुमा प्वाल परेका र भल्बमा समस्या भएका १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई नेपाल सरकारले काठमाडौँको गंगालाल हृदय रोग अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरेको छ । सोही अनुरुप मुटुरोग सम्बन्धि समस्या भएका विद्यार्थीहरुलाई सो अस्पतालमा नि:शुल्क उपचारका लागि समन्यव गरिदिने डा. कनोडियाले जनाए ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समय घर मै बस्न विवश विद्यार्थीहरुको स्वास्थ्य अवस्था पहिचान गरी सिकाइ  उपलब्धीलाई थप प्रभावकारी बनाउने उद्देश्यले मुटुरोग पहिचान शिविर संचालन गरिएको विद्यालयका अध्यक्ष किशन गुरुङले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ