२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड–१९ विरुद्धको खोपमा ड्रप आउट हुनेको संख्या बढ्दैं, खोप लगाउन युवाहरुको सामूहिक आग्रह

कोभिड–१९ विरुद्धको खोपमा ड्रप आउट हुनेको संख्या बढ्दैं, खोप लगाउन युवाहरुको सामूहिक आग्रह


नेपालगन्ज—बाँकेमा कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाएका २५ प्रतिशतले दोस्रो डोज खोप नलगाएको देखिएको छ । कोभिड–१९ विरुद्धको खोपमा पनि ड्रप आउट हुनेको संख्या बढ्दै गएपछि कोभिड नियन्त्रण अभियानमा सक्रिय युवाहरुले खोप लगाउन आग्रह गरेका छन् ।

विभिन्न बाल तथा युवा क्लबमा संगठित भएका युवाहरु नेपालगन्जको महेन्द्र पुस्तकालयमा भेला भएर कोभिड–१९ विरुद्धको खोप सचेतना अभियान सुरु गरेका हुन् ।

कोभिड–१९ विरुद्धको एउटा पनि खोप नलगाएर बसेकाहरुलाई खोप लगाउन र पहिलो डोज लगाएपनि दोस्रो डोज नलगाएकाहरुलाई दोस्रो डोज पनि लगाउन सामूहिक रुपमा आग्रह गरेको किशोरी क्लब नेपालगन्जकी अध्यक्ष मेनुका रावलले बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा ६ लाख १९ हजार ३३७ जनसंख्या रहेकोमा एक लाख ४१ हजार ६७४ जनाले एक डोज पनि खोप लगाएका छैनन् ।

बाँकेमा २०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । पछिल्लो तथ्याङअनुसार बाँकेमा ३१.९ प्रतिशतले मात्रै कोभिड–१९ विरुद्धको पहिलो र दोस्रो गरी दुवै डोज खोप लगाएका छन् ।

ग्रामीण क्षेत्रमा अझै पनि कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्छ भन्ने सचेतनाको कमी देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले बताए ।

कोभिड–१९ विरुद्धको खोप लगाउँदा ज्वरो आउने, बिरामी परिने, खोप लगाएपनि कोभिड संक्रमण हुने भएकाले खोपको काम नभएको भन्नेजस्ता हल्लामा विश्वास गरेर खोप नलगाउने गरेको पाइएको छ । खोपको पहुँच बढाउन पछिल्लो समयमा बाँकेमा सबै पालिकाका एक–एक वटा स्वास्थ्य संस्थामा दैनिक खोप लगाउने गरिएको छ ।

बाँके जिल्ला पहिलो र दोस्रो कोभिड लहरमा ‘हटस्पट’ बनेको थियो । भारतीय सीमा नाकासँग जोडिएका कारण बाँके कोभिड–१९ संक्रमणको उच्च जोखिममा छ ।

हालसम्म बाँकेमा १८ हजार ४ सय ९० जना संक्रमित भइसकेका छन् । कोभिड–१९ संक्रमणकै कारण बाँकेमा ३ सय ४५ जनाको मृत्यु भइसकेको छ । संक्रमणको जोखिम उच्च भएकाले स्वास्थ्य मन्त्रालयले बाँकेमा प्राथमिकताका साथ कोभिड–१९ विरुद्धको खोप कार्यक्रम संचालन गर्दै आएको छ ।

पछिल्ला दिनहरुमा कोभिड–१९ विरुद्धको खोप आउने क्रम बढ्दै गएका कारण स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन मिल्ने सबै उमेर समूहका मानिसहरुलाई एउटै खोप केन्द्रबाट एकै पटक पहिलो र दोस्रो डोज खोप लगाउने गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ