२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभारतबाट नेपालगन्ज नाका हुँदै नेपाल फर्कनेहरुमा कोभिड-१९ संक्रमण देखिने क्रम ह्वातै बढ्यो

भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल फर्कनेहरुमा कोभिड-१९ संक्रमण देखिने क्रम ह्वातै बढ्यो


नेपालगन्ज–भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल फर्कनेहरुमा कोभिड–१९ संक्रमण देखिने क्रम ह्वातै बढेको छ । २२ पुसमा मात्रै ५ सय २६ जनामा परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको थियो भने २३ पुस साँझ ५ बजेसम्म ६ सय १५ मा परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको छ ।

भारतबाट नेपाल फर्कदै गरेकाहरुमा कोभिड–१९ संक्रमण देखिने क्रम तीब्र रुपमा बढेकाले स्थिति भयावह बन्दै गएको नेपालगन्जको जमुनाहस्थित सीमा नाका हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरन्जीवी ज्ञवालीले बताए ।

भारतबाट पछिल्ला दिनहरुमा दैनिक करिब ७/८ सय जना नेपालीहरु नेपाल फर्कने गरेका छन् । उनीहरुमध्ये कोभिड–१९ को संक्रमण भएका भारतीय सहरबाट नेपाल फर्कदै गरेका ब्यक्तिहरुको कोभिड–१९ परीक्षण गर्ने गरिएको छ । भारतबाट फर्किदै गरेका ब्यक्तिहरुलाई सीमा नाकामा रोकेर परीक्षण गर्ने गरिएको छ ।

संक्रमितहरुमा कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन भए–नभएको एकीन गर्न १० वटा नमुना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको छ । तर, परीक्षणको नतिजा आइनसकेको ल्याब टेक्निसियन ज्ञवालीले बताए ।

एन्टिजेन प्रविधिबाट कोभिड–१९ भए–नभएको एकिन गरिने भएका कारण करिब आधा घण्टामा रिपोर्ट आउने गरेको छ । परीक्षण गर्दा संक्रमण देखिएकाहरुलाई सीमा नाकामै रोकेर एन्बुलेन्समार्फत नेपालगन्ज उप–महानगरपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टरमा पठाउने गरिएको छ भने संक्रमण नदेखिएकाहरुलाई परीक्षण रिपोर्ट दिएर घर पठाउने गरिएको छ ।

नेपालगन्जमा ५० बेडको कोभिड आइसोलेसन सेन्टर पुनः संचालन

भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल फर्कनेहरुमा संक्रमण हुने क्रम बढ्दै गएपछि नेपालगन्ज उप–महानगरपालिकाले नेपालगन्जमा ५० बेडको आइसोलेसन सेन्टर पुनः संचालन गरेको छ ।

नगरपालिकाको आइसोलेसन सेन्टरमा अक्सिजन र स्वास्थ्यकर्मीसहित संक्रमितहरुलाई बस्ने खाने ब्यवस्था मिलाइएको छ ।

भारतबाट नेपाल फर्कने क्रममा सीमा नाकामा परीक्षण गर्दा कोभिड–१९ संक्रमण देखिएपनि अधिकांश संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । निकै कम संक्रमितहरुमा मात्रै सामान्य चिन्ह लक्षण देखिएको नेपालगन्ज उप महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन राजन शाहीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ