२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशचाडवाडको मुखमा बजार अनुगमन, औपचारिकता मात्रै

चाडवाडको मुखमा बजार अनुगमन, औपचारिकता मात्रै


बुटवल—चाडपर्व नजिकिएसँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी खाद्यान्नमा मिसावट हुने गरेको छ । बजारमा पाइने चामल, दाल, तेल, पिठोलगायतका खाद्यान्नमा मिसावट बढेको उपभोक्ताको गुनासो छ । त्यत्तिमात्र होइन चाडपर्वको समयमा उपभोक्ता ठगिने गरेको सरोकारवाला निकाय तथा सरकारी कार्यालयका प्रतिनिधिहरुले नै स्वीकार गर्ने गरेका छन् ।

बजारमा चरम रुपमा बढेको मिसावट तथा ठगी नियन्त्रणका लागि भने कुनै निकायबाट पनि ठोस कदम चालिएको पाइएको छैन् । औपचारिकतालाई मात्र बजार अनुगमन गर्ने बाहेक सरकारी निकायबाट केही हुन सकेको छैन् ।

‘बजार अनुगमन प्रभावकारी बन्न सकेन । जसका कारण दैनिक उपभोग्य वस्तु विक्रिवितरण गर्ने व्यवसायी, यातायात र होटल व्यवसायीबाट उपभोक्ता सबै भन्दा बढी ठगिने गरेको जगजाहेर छ,’ उपभोक्त हित संरक्षण मन्चका कार्यवाहक अध्यक्ष तेजकुमार पाठकले भने, ‘अब यो पाराले हुँदैन् । उपभोक्ता सचेत हुनुपर्छ ।’

नेपालको संविधानले नै खाद्य सम्प्रभुताको अधिकारलाई सुनिश्चित गरेको छ । संविधान अनुरुप नै गुणस्तरीय सेवा र खाद्यान पाउने नागरिकको अधिकारबाट उपभोक्तालाई बन्चित गराउन नहुने उपभोक्ता श्रीधर बन्जाडे बताउँछन् । ‘सरकारले उचित अनुगमन गर्नुपर्छ । वस्तुगत अनुगमन गर्नुपर्छ औपचारिकता मात्र होइन र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्छ,’ उनले भने ।

उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार अनुगमनको विषयमा जिल्ला प्रशासन प्रतिवद्व रहेको इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत विष्णु ज्ञवाली बताउँछन् । ‘बजारमा हुने मुल्य वृद्धि नियन्त्रण, प्रभावकारी बजार अनुगमनलाई हामी तदारुकताका साथ अघि बढाउँछौं । यसमा सबैको सहयोगमा आवश्यक छ,’ उनले भने ।

उपभोक्ता नियमावली बन्न नसक्दा अनुगमनमा समस्या हुँदै आएको छ । जसका कारण पनि बजार निरिक्षणका लागि टोली गठन हुन सकेको छैन् । कानुन बमोजिम स्थानीय निकायले बजार अनुगमन गर्नुपर्ने व्यवस्था छ । तर स्थानीय तह पनि अनुगमनका लागि प्रभावकारी बन्न सकेका छैनन् । ‘सरकारबाट उपभोक्ता नियमावली आएन जसकाकारण पनि बजारमा प्रभावकारीरुपमा काम गर्न समस्या भैरहेको छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्याल रुपन्देहीका निमित्त प्रमुख रुद्र ज्ञवालीले भने, ‘उपभोक्ताको हितमा कामगर्ने दायित्व भएपनि कर्मचारीको अभाव पनि समस्याको अर्को कारण हो ।’

उपभोक्ताको हितमा गलत गर्ने जुनकुनै व्यवसायीलाई कारवाहीका लागि उद्योग वाणिज्य संघले प्रहरी प्रशासनलाई सहयोग गर्ने प्रतिवद्वता जनाएको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालका अनुसार चाडपर्वमा कुनै प्रकारको गलत काम गरेको पाइएमा सहयोग गर्नेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ