२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा खोप लगाउनेको भिड : पहिलो डोज ८० र दोस्रो डोज खोप लगाउने ५४ प्रतिशत

बाँकेमा खोप लगाउनेको भिड : पहिलो डोज ८० र दोस्रो डोज खोप लगाउने ५४ प्रतिशत


नेपालगन्ज–कोभिड–१९ संक्रमण तीब्र भएसँगै बाँकेमा कोभिड विरुद्धको खोप लगाउने बढ्न थालेका छन् । खोप केन्द्रमा बिहानैदेखि खोप लगाउनेहरुको लाइन लाग्न थालेको छ ।

सरकारले ७ माघदेखि सरकारी कार्यालयहरुमा सेवा लिनका लागि खोप कार्य अनिवार्य गरेपछि खोप लगाउनेहरुको भिड बढ्दै गएको हो ।

नेपालगन्ज–२ स्थित सहरी स्वास्थ्य केन्द्रमा दैनिक करिब ५ सय जनाले कोभिड विरुद्धको खोप लगाई रहेका छन् । खोप लगाउनेको भिड बढ्दै गएपछि ब्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमंसेवक परिचालन गरिएको केन्द्रका प्रमुख कृष्णबहादुर केसीले बताए ।

बाँके जिल्ला पहिलो र दोस्रो कोभिड–१९ लहरमा जस्तै यस पटक पनि ‘हटस्पट’ बनेको छ । भारतीय सीमा नाकासँग जोडिएका कारण बाँके कोभिड संक्रमणको उच्च जोखिममा छ ।

संक्रमणको दर तीब्र गतिमा बढ्दै गएपछि स्थानीय बासिन्दाहरु खोपप्रति आकर्षित भएका हुन् । दैनिक डेढ दुई घन्टासम्म लाइनमा लागेर पनि स्थानीय बासिन्दाहरुले खोप लगाइरहेका छन् । नेपालगन्जको खोप केन्द्रमा खोप लगाउनेमध्ये अधिकांशले पहिलोपल्ट खोप लगाउन आएको बताएका छन् ।

खोपका बारेमा फैलिएको नकारात्मक हल्लाका कारण खोप नलगाएकाहरु पनि खोपको प्रभावकारिताका बारेमा थाहा पाएपछि खोप लगाउन आएको स्थानीय बासिन्दा मुन्ना कुरैसीले बताए ।

खोप लगाउन आउनेहरुमा मजदुर, मुस्लिम तथा मधेशी समुदायका बासिन्दाहरु धेरै छन् ।

पछिल्ला दिनहरुमा बाँकेमा कोभिड परीक्षण गराएकामध्ये ७० प्रतिशतमा भाइरस संक्रमण देखिने गरेको छ । बाँकेमा दैनिक १ सय देखि १ सय ५० जना संक्रमित थपिने गरेका छन् । संक्रमितमध्ये अधिकांश नेपालगन्ज र कोहलपुर बजार क्षेत्रका छन् । बाँकेमा सक्रिय संक्रमितको संख्या ७ सय २७ पुगेको छ ।

कोभिड संक्रमण बढेसँगै नेपालगन्जको भेरी अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ । पछिल्ला दिनहरुमा दैनिक २÷३ जना संक्रमित बिरामीहरु भेरी अस्पतालमा भर्ना हुने गरेका छन् ।

भेरी अस्पतालको कोभिड वार्डमा अहिले ३४ जना बिरामी भर्ना छन् । कोभिड संक्रमणको उच्च जोखिममा भएकाले स्वास्थ्य मन्त्रालयले बाँकेमा प्राथमिकताका साथ कोभिड खोप कार्यक्रम संचालन गर्दै आएको छ ।

बाँकेमा हालसम्म ३ लाख २० हजार १ सय ९४ जनाले पहिलो डोज लगाएका छन् भने पहिलो दोस्रो डोज लगाउनेहरुको संख्या २ लाख २० हजार १ सय ५६ पुगेको बाँकेका कोभिड फोकल पर्सन तेज वलीले बताए ।

स्वास्थ्य मन्त्रालयले देशैभर कोभिड विरुद्धको खोपको कभरेज ६६ प्रतिशत पु¥याउन लक्ष्यअनुसार बाँके जिल्लाका ८ वटै स्थानीय तहमा एक–एक स्थान र भेरी अस्पतालमा बिदाको दिनबाहेक हरेक दिन नियमित खोप कार्यक्रम संचालन गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ