२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँके कुष्ठरोगको उच्च जोखिममा : ६ महिनामा ४४ जना कुष्ठरोगका नयाँ बिरामी भेटिए

बाँके कुष्ठरोगको उच्च जोखिममा : ६ महिनामा ४४ जना कुष्ठरोगका नयाँ बिरामी भेटिए


नेपालगन्ज – नेपालबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको १२ वर्ष हुन थाल्यो । दश हजार जनसंख्यामा एकजनाभन्दा कममा कुष्ठरोगी भेटिएको जनाउँदै नेपाल सरकारले सन् २०१० को जनावरीमा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो ।

तर, बाँके जिल्लामा कुष्ठरोगका नयाँ बिरामी भेटिने क्रम भने बढ्दै गएको छ । गत वर्ष बाँकेमा १ सय २८ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका थिए । २०७८ सालको जनगणनाअनुसार जिल्लाको जनसंख्या ६ लाख ३ हजार ३ सय ९३ पुगेको हो ।

नयाँ जन गणना अनुसार हिसाब गर्दा दश हजार जनसंख्यामा २ जनाभन्दा बढीमा कुष्ठरोग देखिएको छ । यो वर्ष बाँके जिल्लामा २०७८ साउनदेखि पुससम्म ४४ जना कुष्ठका नयाँ बिरामी भेटिएका छन ।

स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपालीका अनुसार बाँके जिल्लाको नेपालगन्जमा १३ , कोहलपुरमा ११, जानकीमा ६ , नरैनापुरमा ५ , बैजनाथमा ५, खजुरामा ३, डुडुवा १ गरी जम्मा ४४ वटा नयाँ केस भेटिएका हुन । छाला सम्बन्धी समस्या भएर स्वास्थ्य संस्थामा पुगेका बिरामीहरुको चेक जाचका क्रममा उनीहरुमा कुष्ठरोग भएको पुष्टी भएको हो ।

विगतका वर्षहरुमा स्वास्थ्यकर्मी कुष्ठरोगको जोखिम भएका बस्ती मै पुगेर बिरामीहरुको खोजपड्ताल गर्ने गरेका थिए । तर यो बर्ष कोरोना महामारीको संक्रमण भएका कारण बस्ती मै गएर कुष्ठरोगको खोजपड्ताल गर्ने काम हुन सकेको छैन ।

विशेषगरी भारतसँग सीमा जोडिएका नेपाली गाउँहरु कुष्ठरोगको उच्च जोखिममा रहेको तथ्याङले देखाएको छ । गत वर्ष स्वास्थ्यकर्मीहरुले खोजपडताल गरेका कारण भारतसँग सीमा जोडिएको नेपालगन्जमा २७ , जानकीमा ३२, नरैनापुरमा २० डुडुवामा १२ जनासहित १ सय २८ जना नयाँ कुष्ठरोगी भेटिएका थिए ।

जोखिम उच्च भएका बस्तीमा गएर खोज पड्ताल नहुदा यो बर्ष गत वर्षकोभन्दा न्युन केस भेटिएका हुन । खोज पड्ताल हुन सके थप बिरामी भेटिने सम्भावना उच्च रहेको फोकल पर्सन नेपालीले बताए ।

स्वास्थ्य कार्यालय लगायत बिभिन्न संघ संस्थाहरुले जनचेतना अभिवृद्धि तथा उपचारमा जोड दिँदै बिरामीहरुलाई उपचारका लागि प्रोत्साहित गर्न थाले पछि कुष्ठरोगका नया बिरामीहरु उपचारका लागि अस्पताल आउने क्रम बढेको हो ।

छाला सम्बन्धी समस्या भए पछि स्वास्थ्य संस्थाहरुमा आएका बिरामीहरुमा कुष्ठरोग भएको आशंका लागे पछि स्वास्थ्यकर्मीहरुले नेपालगन्ज भेरी अस्पताल तथा साइनिङ अस्पतालमा रिफर गर्ने गरेका छन ।

नेपालगन्जको खजुरा रोडमा रहेको साइनिङ अस्पतालमा कुष्ठरोगका बिरामीहरु उपचार हुन्छ । नेपाल सरकारले कुष्ठरोगका बिरामीहरुलाई देशैभरका सरकारी स्वास्थ्य संस्थाहरुबाट निशुल्क औषधी उपलब्ध गराउदै आएको छ । यसको उपचार बहु औषधी  विधिबाट गरिन्छ । रोगको अबस्था अनुसार बिरामीहरुले ६ देखि १२ महिनासम्म औषधी सेवन गरे कुष्ठरोग निको हुन सक्छ ।

औषधीको १ मात्रा मात्रै सेवन गरेका बिरामीको शरिरमा भएका ९९ प्रतिशत किटाणु निष्क्रिय हुन्छ । औषधी सेवन गरेका बिरामीबाट अन्य ब्यक्तिमा कुष्ठरोग सर्दैन ।

कुष्ठरोग कसरी सर्छ ?

उपचार नगरेको कुष्ठरोगका बिरामीसंग लामो समयसम्म सम्पर्कमा रहेका व्यक्तिहरुमा श्वास–प्रश्वासको माध्यमबाट रोग सर्न सक्छ । कुष्ठरोग सरुवा रोग भए पनि बिरामीबाट अर्काे ब्यक्तिमा सर्ने दर निक्कै कम छ ।

लक्षण

शरीरको कुनै भागमा छुदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु कुष्ठरोगको प्रारम्भिक लक्षण हो । कुष्ठरोगका बिरामीहरुमा अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आखीभौं झरेर जाने जस्ता समस्या हुन्छ । कुष्ठरोगको समय मै उपचार नहुदा मांसपेशीहरु कमजोर भइ अपाङ्गता हुने जोखिम धेरै हुन्छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ