२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुशील कोइराला क्यान्सर अस्पतालका बिरामीले प्रदेश सरकारबाट २ लाखसम्म सुविधा पाउने

सुशील कोइराला क्यान्सर अस्पतालका बिरामीले प्रदेश सरकारबाट २ लाखसम्म सुविधा पाउने


नेपालगन्ज–सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा क्यान्सर रोगको उपचार गराउने बिरामीले लुम्बिनी प्रदेश सरकारबाट २ लाख रुपैयाँसम्म सुविधा पाउने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले क्यान्सर अस्पताल खजुरालाई विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत गरेपछि क्यान्सर अस्पतालमा उपचार गराउने लुम्बिनी प्रदेशमा स्थायी घर भएका बिरामीले २ लाख रुपैयाँसम्म सुविधा पाउने भएका हुन् ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा २०७८ फागुन १ देखि विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत भएको बताए ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ मा सूचीकृत गरेपछि लुम्बिनी प्रदेशमा घर भएका क्यान्सर रोगका बिरामीहरुले क्यान्सर अस्पताल खजुरामा उपचार गराउदा २ लाखसम्म सुविधा पाउने बाटो खुलेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आचार्यले बताए ।

क्यान्सर अस्पताल निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको उपचारका लागि महत्वपूर्ण मानिएको रेडियसन थेरापी सेवा अझै सुरु भएको छैन । क्यान्सर अस्पताल खजुराले क्यान्सरका बिरामीहरुका लागि जनरल सर्जरी र हिष्टोप्याथोलोजी सेवा दिदै आएको छ ।

जनरल सर्जरी सेवा सुरु भएको करिब एक वर्षको अवधिमा क्यान्सर अस्पतालले करिब ५ सय ५० जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको छ भने हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८ सय ५० जना शंकास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए—नभएको एकीन गरिसकेको छ ।

क्यान्सर अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरुलाई औषधीमार्फत दिइने किमो सेवालाई निरन्तरता दिइरहेको छ । पछिल्ला दिनहरुमा करिब ३ सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् ।

लुम्बिनी प्रदेशमा स्थायी घर भएका मुटुको भल्ब र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुलाई पनि प्रदेश सरकारले २ लाखसम्म विशेष सहुलियत दिनेछ ।

नेपालगन्जको भेरी अस्पतालमा मुटुरोगका बिरामीहरुको उपचार हुँदै आएपनि भल्ब नै प्रत्यारोपण गर्ने सुविधा छैन । त्यसैगरी भेरी अस्पतालमा मिर्गौला रोगको बिरामीहरुका डाइलासिस गरेर उपचार गरिदै आएपनि मिर्गौला प्रत्यारोपण गर्ने सुविधा छैन ।

काठमाडौंको त्रिवि शिक्षण, वीर अस्पताल र शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका साथै गंगालाल र मनमोहन कार्डियो सेन्टरमा उपचार गराउने लुम्बिनी प्रदेशका मुटु र मिर्गौलाका बिरामीले प्रदेश सरकारले दिने २ लाखसम्म सुविधा पाउने ब्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेश सरकारले दिने सुविधा पाउनका लागि विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ ले निर्धारण गरेका मापदण्ड भने पूरा गर्नु पर्नेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ