२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा ११ पटक औषधि खुवाउँदा पनि हात्तीपाइले रोग नियन्त्रण नभएपछि…

बाँकेमा ११ पटक औषधि खुवाउँदा पनि हात्तीपाइले रोग नियन्त्रण नभएपछि…


नेपालगन्ज—बाँकेमा ११ पटक औषधि खुवाउँदा पनि हात्तीपाइले रोगको जोखिम नियन्त्ररण नभएपछि १२ औं पटक औषधि खुवाउन सुरु गरिएको छ । फागुनको ३ र ४ गते समुदायका मानिसहरुको स्वास्थ्य परिक्षण गर्दा रझैना गाउँमा ५ दशमलव ५ प्रतिशत र नेपालगन्जमा २ दशमलव ८ प्रतिशतमा संक्रमण देखिएको छ ।

जिल्लाभरको अबस्थालाई विश्लेषण गर्दा बाँकेमा अझै पनि ४ दशमलव १ प्रतिशतमा हात्तीपाइलेको संक्रमण देखिएको छ । जोखिममा रहेका समुदायका मानिसहरुको स्वास्थ्य परीक्षण गर्दा १ प्रतिशत भन्दा कममा संक्रमण देखियो भने मात्रै हात्तीपाइले रोग नियन्त्रणमा आएको मानिन्छ । संक्रमणको दर १ प्रतिशतमा नझर्दासम्म निरन्तर औषधि खुवाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

हात्तीपाइलेको औषधी दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिला, दीर्घरोगका बिरामी, एक हप्ता नपुगेका सुत्केरीबाहेक अरु सबै उमेर समुहका मानिसहरुलाई खुवाउन लागिएको हो ।

क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्बस्थ्य मानिसलाई टोकेपछि हात्तीपाइले रोग लाग्छ । हात्तीपाइले रोगले मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ बनाउँछ । पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवि करिब ६ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा बस्छ । त्यसैले हात्तीपाइलेको संक्रमणबाट बच्न लगातार ६ वर्ष औषधि सेवन गर्नु पर्छ । तर, बाँकेमा लक्षित समुदायका व्यक्तिले औषधि नखाइदिदा १२ औं पटक औषधि खुवाउन लागिएको हो ।

बाँकेमा ५ लाख ६८ हजार मानिसलाई हात्तीपाइलेको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउनका लागि जिल्लाभरका ५ सय ६० जना स्वास्थ्यकर्मी तथा ७ सय ८९ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

यो पटक लक्षित सुमदायको ब्यक्तिलाई उसको उचाइको आधारमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा हात्तीपाइले रोग विरुद्धको औषधि खान दिइनेछ । लक्षित समूहका व्यक्तिले यो वर्ष हात्तीपाइले रोगका विरुद्ध डाइथाइलकार्बामाजिन, अल्बेन्डाजोल र आइभरमेक्टिन औषधि खाइरहेका छन् ।

हात्तीपाइले रोगका विरुद्ध औषधी खुवाउन सुरु गर्नुभन्दा पहिले गरिएको अध्ययनमा बाँकेमा कुल जनसंख्याको करिब २० दशमलव ८ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण पाइएको थियो । यो वर्ष स्वास्थ्य संस्था र घर दैलो गरेर १४ दिनसम्म बाँकेमा हात्तीपाइले रोगका विरुद्ध औषधि खुवाउने कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालय बाँकेकी हात्तीपाइले रोगकी फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

११ पटक औषधि खुवाउने कार्यक्रम सम्पन्न भएपछि गरिएको अध्ययनमा बाँकेमा अझै पनि ४ दशमलव १ प्रतिशतमा हात्तीपाइलेको संक्रमण देखिएको छ । यो पटक लक्षित सुमदायको व्यक्तिलाई उसको उचाइको आधारमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा हात्तीपाइले रोग विरुद्धको औषधि खान दिने गरिएको छ । लक्षित समूहका व्यक्तिले यो वर्ष हात्तीपाइले रोगका विरुद्ध डाइथाइलकार्बामाजिन, अल्बेन्डाजोल र आइभरमेक्टिन औषधि दिइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ