२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरोटरी ई–क्लव अफ मेडिकोफ्युजनको अभियान

रोटरी ई–क्लव अफ मेडिकोफ्युजनको अभियान

‘बच्चा भुलाउन बालबालिकालाई मोबाइल/टिभी नदेखाऊ’


बुटवल—बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल÷टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् ।

चिकित्सकहरु आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो । क्लवले रुपन्देहीका विभिन्न नगरपालिकाहरुसँगको सहकार्यमा सचेतनामुलक अभियानसमेत चलाउने क्लवका अध्यक्ष डा. सन्तोष पोखरेलले बताए ।

डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुनेजस्ता समस्या देखिने गरेका छन् । पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावकसमेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिए ।

क्लबले बालबालिकाहरु बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायहरुमा राख्नेगरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखरुलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले क्लवले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको सन्दर्भमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊ’ अभियानपनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।

यस्तै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरु बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुवात् आफैंबाट गर्नुपर्ने बताए । यसैगरी, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लवले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताए ।

कार्यक्रममा रोटरी क्लवका एजी राजेन्द्र कार्की, रोटरीयनहरु डा. विनिता भट्टराई, डा. मञ्जु गुभाजुलगायतले बोलेका थिए । रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले यसअघि ‘जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउछु’ भन्ने अभियान सञ्चालन गरेको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ