२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश३४ वर्षमै सहसचिव बनेका डा. बद्री बने भेरी अस्पतालको मेसु

३४ वर्षमै सहसचिव बनेका डा. बद्री बने भेरी अस्पतालको मेसु


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. बद्री चापागाईलाई नियुक्त गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै डा. चापागाईलाई भेरीको नेतृत्व दिएका हुन् ।

लामो समयदेखि बाँकेको भेरी अस्पतालमा रमाएका डा. बद्री अहिले ठ्याक्कै ४० वर्ष ७ महिनाका भए । डर्माटोलोजी, लेप्रोलोजिष्ट, भेनरल डिजिजका प्रमुख कन्सल्ट्यान्ट रुपमा सक्रिय डा. चापागाईले वि.सं. २०६३ फागुनबाट सरकारी सेवामा प्रवेश गरेका हुन् ।

वि.सं. २०७३ साउन ५ गते ११ औं तहमा बढुवा भएका हुन्, उनी । उनले ११ औं तहको नियुक्ति लिँदा ३४ वर्ष ६ महिनाका थिए ।

वि.सं. २०३८ साल पुसमा पर्वत कुर्घामा जन्मिएका हुन्—डा. चापागाई । काठमाडौंको स्वर्णिम शिक्षा सदनबाट उनले वि.सं. २०५३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । पछिल्लो ९ वर्षदेखि भेरी अस्पतालमा कार्यरत डा. चापागाईले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट एमडी र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गरेका हुन् ।

सानैदेखि बिरामीको सेवा गर्ने हुटहुटीले चिकित्सक बनेका उनी अहिलेको नेपालको स्वास्थ्यको वर्किङ कल्चर र केही नीतिगत कुराहरुमा पुनःसंचरना गर्नुपर्ने धारणा राख्छन् । ‘म व्यक्तिगत रुपमा आफ्नो सेवाबाट सन्तुष्ट छु,’ केही समयअघि हेल्थआवाजसँगको कुराकानीमा उनले भनेका थिए, ‘तर, यही रुपमा हाम्रो स्वास्थ्य संरचना अगाडि बढ्न सक्तैन । त्यसैले वर्किङ कल्चर र केही नीतिगत कुराहरुमा पुनःसंरचना आवश्यक छ ।’

यी चिकित्सक आफूलाई बिरामीको सेवामा रहँदा सबैभन्दा बढी आनन्द प्राप्त हुने धारणा व्यक्त गर्छन् । भन्छन्, ‘बिरामीको सेवा गर्न पाउँदा मनै रमाउँछ ।’ डा. चापागाईको सरकारी सेवामा १५ वर्ष पुगेको छ । यो अवधिमा उनले दैलेख, जुम्ला, पाल्पा, मुगुलगायतका जिल्लामा काम गरिसकेका छन् । उनी वि.सं. २०९८ साल पुसमा सेवाबाट अवकास पाउनेछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ