२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशफोक्सोको क्यान्सरको पहिचान र उपचार प्रभावकारी बनाउनुपर्नेमा जोड

फोक्सोको क्यान्सरको पहिचान र उपचार प्रभावकारी बनाउनुपर्नेमा जोड


नेपालगन्ज–फोक्सोको क्यान्सरको पहिचान र उपचारलाई थप प्रभावकारी बनाउनु पर्नेमा क्यान्सर रोग विशेषज्ञ र चिकित्सकहरुले जोड दिएका छन् । देशभरबाट सहभागी भएका फोक्सोको क्यान्सर रोगका विशेषज्ञ तथा नेपालगन्जको भेरी, नेपालगन्ज मेडिकल कलेज र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका करिब ७५ जना चिकित्सकहरु सहभागी भएका थिए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वरिष्ठ चिकित्सकहरु सहभागी भएको छलफलमा फोक्सोको क्यान्सर रोगको पहिचान र उपचारको पछिल्लो अवस्थाका र विधिका बारेमा क्यान्सर रोग विशेषज्ञ चिकित्सक र अन्य रोगको उपचारमा संलग्न चिकित्सकहरुबीच ब्यापक छलफल भएको थियो ।

नेपालमा पहिचान भएका क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । फोक्सोको क्यान्सरको ७५ देखि ८० प्रतिशत कारक ध्रुमपान वा सूर्तिजन्य पदार्थको सेवन नै हो ।

बिरामीमध्ये ८५ प्रतिशतमा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रभाव पाइन्छ । चुरोट तथा धुमपान नगर्ने करिब १५ प्रतिशतमा पनि फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ ।

फोक्सोको क्यान्सरका बिरामीहरु धेरै भएपनि समयमै रोगको पहिचान र उपचार हुन नसक्दा बिरामीहरुको मृत्यु दर उच्च रहेको छ । फोक्सोको क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुले उपचारका लागि अस्पतालमा आएका बिरामीहरुमा फोक्सोको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएमा क्यान्सर अस्पताल र विशेषज्ञ चिकित्सकलाई रिफर गरिदिन आग्रह गरेका छन् ।

भक्तपुर, भरतपुर र खजुरास्थित क्यान्सर अस्पतालका साथै देशका प्रमुख सहरहरुमा रहेका ठूला अस्पतालहरुमा मात्रै फोक्सोको क्यान्सरका बिरामीहरुको उपचार सुविधा छ ।

नेपाल सरकारले क्यान्सर रोग लागेका बिरामीहरुलाई एक लाख रुपैयाँसम्मको निःशुल्क उपचारको ब्यवस्था गरेको छ । स्वास्थ्य बिमाबाट पनि क्यान्सरका बिरामीहरुले थप एक लाख रुपैयाँ बराबरको उपचार सुविधा पाउन सक्छन् ।

त्यसै गरी लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशमा घर भएका र क्यान्सर रोग लागेका बिरामीलाई थप २ लाख बराबरको निशुल्क उपचारको ब्यबस्था मिलाएको छ ।

क्यान्सर रोग लागेका बिरामीले ४ लाख सम्म नि:शुल्क उपचार सुबिधा पाउन सक्ने अबस्था भएकाले क्यान्सर रोगको उपचार सुविधाका बारेमा आम जनसमुदायसम्म भरपर्दाे जानकारी दिन आवश्यक भएको सार्क फेडेरेशन अफ अंकोलोजिष्ट डा. गुरुशरण शाहले बताए ।

कार्यशालामा क्यान्सर अस्पताल खजुराका क्यान्सर रोग विशेषज्ञहरु डा. निरज भटटराई , डा. राजन थापा, डा. विजय अधिकारी, डा. मुकेश यादव, डा. आचल शाहीले क्यान्सर रोगको पहिचान र उपचारका विधि र प्रक्रियाहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले क्यान्सरका शंकास्पद बिरामीलाई रोगको पहिचान र उपचारका लागि सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा रिफर गरी दिन चिकित्सकहरु आग्रह गरेका थिए । सचिव डा. पोखरेलले क्यान्सर अस्पताल खजुरालाई बजेटको अभाव हुन नदिन प्रतिबद्धता ब्यक्त गरेका थिए ।

क्यान्सर अस्पताल खजुरा मै हुन्छ फोक्सोको क्यान्सरको उपचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी सेवा सुरु गरेको छ । क्यान्सर अस्पताल खजुराले सर्जरी सेवा सुरु भएपछि फोक्सो, स्तन क्यान्सर, खाद्यनली र रक्तनलीमा हुने क्यान्सरको पहिचान र शल्यक्रियासहितको उपचार हुन थालेको छ ।

क्यान्सर अस्पताल खजुरामा अधिकांश बिरामीहरु स्तन क्यान्सर सम्बन्धी समस्या लिएर आउने गरेका छन् । स्तन क्यान्सरपछि धेरै बिरामीहरु फोक्सोको क्यान्सरका छन् ।

क्यान्सर रोग सम्बन्धी सचेतनाको कमीका कारण अस्पतालमा आउने अधिकांश बिरामीहरु क्यान्सर रोग फैलदै गएर तेस्रो चौथो चरणमा पुगेपछिमात्रै उपचारका लागि आउने गरेका छन ।

खजुरामा शल्यक्रियासहितको उपचार सेवा सुरु भएपछि पश्चिम नेपालका बिरामीहरु लाभान्वित हुने भएका छन् । त्यसैगरी क्यान्सर क्यान्सर अस्पताल खजुराले अन्य अस्पतालहरुमा मुटुको शल्यक्रिया उपचार गराइ फ्लोअपमा रहेका बिरामीका साथै अन्य अस्पतालहरुमा फोक्सो, स्तन , खाद्यनली र रक्तनलीको क्यान्सर सम्बन्धी उपचार गराइ फलोअपमा रहेका बिरामीलाई थप सेवा पनि दिइरहेको छ ।

कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी सेवा सुरु भएपछि फोक्सो, स्तन क्यान्सर, खाद्यनली र रक्तनलीमा हुने क्यान्सर रोगको पहिचान र उपचारका लागि काठमाडौं या चितवनको भरतपुर जानुपर्ने बाध्यता हटेको छ ।

कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी सेवा सुरु भएपछि वि.सं. २०७९ बैशाख देखि हालसम्म क्यान्सर अस्पताल खजुरामा फोक्सो, स्तन क्यान्सर, खाद्य नली र रक्तनलीको क्यान्सर भएका करिब एक सयजना बिरामीहरुले शल्यक्रियासहितको उपचार सेवा पाइ लिइसकेको अस्पतालका कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. निरज भटटराईले जानकारी दिए ।

कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी सेवा राजधानीका ठूला र सुविधासम्पन्न अस्पतालका साथै उपत्यका बाहिर भरतपुर क्यान्सर अस्पताल, धरान र भैरहवा मेडिकल कलेजमा मात्रै छ । भैरहवादेखि पश्चिम क्षेत्रका अस्पतालहरु मध्ये खजुरा क्यान्सर अस्पतालमा पहिलो पल्ट कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी सेवा सुरु भएको हो ।

क्यान्सर अस्पताल खजुरामा पछिल्ला दिनहरुमा दैनिक करिब १ सय ५० जना बिरामीहरु उपचारका लागि आउने गरेका छन् । तीमध्ये २० देखि ३० जना उपचारका लागि भर्ना हुने गरेका छन् भने दैनिक करिब ५ वटा शल्यक्रिया गरेर उपचार गर्ने गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ