२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशयुनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा, सरकारले तोकेको शुल्क कार्यन्वयनको माग

युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा, सरकारले तोकेको शुल्क कार्यन्वयनको माग


बुटवल—युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवाका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थीहरु सरकारले तोकेको भन्दा बढी लिएको रकम फिर्ता गर्नुपर्ने, युसीएमएसको प्रशासनिक सुधारलगायतका मागहरुसहित आन्दोलनमा उत्रिएका हुन् ।

बिहिवारबाट चरणवद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले शुक्रबार ज्ञापनपत्र बुझाउन जाँदा विद्यार्थीमाथि हस्तक्षेपसमेत भएको विद्यार्थीहरुले आरोप लगाएका छन् । सरकारले एमबीबीएस पढ्नको लागि ४२ लाख ५० हजार शुल्क तोकेको भएपनि कलेजले विभिन्न बहानामा १५ लाख बढी शुल्क लिने गरेको आरोप विद्यार्थीहरुको छ । उनीहरुले बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित धर्ना, कोणसभा तथा ज्ञापन पत्र बुझाउने लगाएका विरोधका कार्यक्रम गरेका छन् ।

युसीएमएसका विद्यार्थीहरुले अवैधानिक रुपमा कलेजले लिएको शुल्क फिर्ता गर्न माग गर्दे केही दिनअघि निवेदन दिएका थिए । अवैधानिक शुल्क फिर्ता गराइदिन सहयोग माग गर्दै युनिभर्सलका विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए ।

विद्यार्थीहरुले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी लिएको पैसा फिर्ता गराउन सहयोग गर्ने आश्वासन दिएका थिए । सरकारले तोकेभन्दा १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरूको आरोप छ ।

विद्यार्थीहरुको आन्दोलनका विषयमा कलेजका सूचना अधिकारी सुशील गुरुङले कलेजबाट हुन सक्ने समाधानका प्रयासहरु हुने बताए । ‘विद्यार्थीहरु छलफलमा आउनु प¥यो । हामी सम्भव हुनेसम्मको सहमतिका लागि तयारै छौ,’ उनले भने, ‘अनावश्यक हुलहुज्जत हुनु राम्रो पक्ष होइन । अस्पतालमा रहेका बिरामीहरुको विषयमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।’ कलेजभन्दा बाहिरका विद्यार्थी आएर आन्दोलन गरेका कारण होस्टल जान रोक लगाएको गुरुङको भनाइ छ ।  यता विद्यार्थीहरुले भने आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ