२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशगुल्मीका गाउँ—गाउँमा स्वास्थ्य चौकी, गाउँमै ल्याव सेवा

गुल्मीका गाउँ—गाउँमा स्वास्थ्य चौकी, गाउँमै ल्याव सेवा


बुटवल—गुल्मी जिल्लाका गाउँ—गाउँमा स्वास्थ्य क्षेत्रमा उलेख्य प्रगति देखिएको छ । ग्रामीण क्षेत्रमा नयाँ स्वास्थ्य चौकी भवन स्थापना गर्ने र गुणस्तरीय सेवा दिने कार्य तीव्र भएको हो ।

गृह जिल्ला पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले तीन दिनमा चार स्वास्थ्य चौकी उद्घाटन गरेका छन् । मन्त्री विष्टले आफ्नो निर्वाचन क्षेत्र प्रतिनिधिसभा क्षेत्र नम्बर—२ मा चार स्वास्थ्य चौकी उद्घाटन गर्दै स्वास्थय क्षेत्रमा ठूलो उन्नती भएको बताए । उनले गाउँबाटै गुणस्तरी सेवा दिनु आफ्नो पनि दायित्व रहेको बताए । उनले स्वास्थ्य चौकीमा स्वास्थकर्मी तथा कर्मचारी अभाव हुन नदिने पनि उद्घोष गरे ।

धुर्कोट गाउँपालिका—५ वस्तु र इस्मा गाउँपालिका—१ हस्तिचौरम नयाँ स्वास्थ्य चौकी भवन निर्माण भएका छन् ।

वस्तु स्वास्थ्य चौकी सुनिल समीर निर्माण सेवा कम्पनीले २०७३ असोज १४ गते सम्झौता गरी ०७५ फागुन १० गते निर्माण सम्पन्न गरेको थियो । दुई तला रहेको स्वास्थ्य चौकी भवनको कुल लागत एक करोड ७१ लाख ७३ हजार ८९ रुपैयाँ रहेको व्यवस्थापन समिति अध्यक्ष नरहरी भण्डारीले बताए ।

भवन उद्घाटनकै अवसरमा स्थानीय खिमकला पाण्डेले स्वर्गीय श्रीमान शोभाखर पाण्डेको स्मृतिमा एक लाख ३० हजार बराबरको अक्सिजन प्लान्ट मेसिन प्रदान गरिन । भने स्थानीय तीन जना मिलेर जग्गा प्रदान गरेका थिए ।

हस्तिचौर स्वास्थ्य चौकी भवन २०७३ माघ २५ गते निर्माण कार्य सुरु भई ०७६ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो । दुई करोड ४० लाखको लागतमा दुईतले हलसहितको भवन निर्माण भएको निर्माण व्यवसायी हरि श्रेष्ठले बताए । उक्त स्वास्थ्य चौकीबाट इस्मा गाउँपालिका—१, २, ३, ४ लगायतका वडाका नागरिकहरुले सेवा पाउने छन् ।

यस्तै अर्जे र छापहिले स्वास्थ्यचौकीको नयाँ भवन पनि उद्घाटन गरिएको छ । अर्जे स्वास्थ्यचौकी भवन ०७२ साल असारमा सम्झौता भएर ०७५ साउनमा सम्पन्न भएको हो । स्वास्थ्यचौकीको भवन दुई करोड ३२ लाख २५ हजार दुई सय २५ रुपैयाँको लागतमा सुनिल समीर निर्माण सेवाले निर्माण गरेको थियो ।

छापहिले स्वास्थ्य चौकी ०७४ असोजमा सम्झौता भएर ०७५ चैतमा निर्माण सम्पन्न भएको थियो । भवन बासुरी जोग्मा जेभीले एक करोड ६६ लाख ६ हजार रुपैयाँको लागतमा निर्माण गरेको स्वास्थ्य चौकी इन्चार्ज देवबहादुर महतरा जानकारी दिए ।

कस्ता छन् नयाँ भवन

नयाँ भवन निमार्ण गर्दा समयको माग अनुरुप आधुनिक शैलीमा निर्माण गरिएका छन् । नयाँ स्वास्थ्य चौकी भवन अपाङ्गमैत्री शौचालय, सभाहललगायतका विभिन्न प्रकारका रोगहरुको निदान लगायतका सेवा–सुविधासहित निर्माण गरिएको छ ।

गाउँमै ल्याव सेवा

गाउँमै ल्याव सेवा समेत प्रदन गर्न थालिएको छ । अर्जे स्वास्थ्य चौकीले ल्याब सेवा संचालन गरेको छ । ल्याबबाट रगत, पिसाब, दिसा, र खकार परीक्षण गरिने ल्याब असिस्टेण्ट अन्जु थापाले जानकारी दिइन् ।

सामान्य रगत जाँचकै लागि पनि पहिले सदरमुकाम जानुपर्ने बाध्यता स्थानीयलाई थियो । अहिले गाउँमै ल्याब सेवा संचालन भएपछि खुशी लागेको अर्जेकी दुर्पदा अर्यालले बताइन् ।

अब टाइफाइड, जन्डिस, आउँ मासी, ब्लड सुगर, कलेजो र किड्नी र पिसाबको खराबी परीक्षण स्वास्थ्य चौकीमै हुने भएकाले जनताको पैसा पनि जोगिएको स्वास्थ्य चौकी इन्चार्ज खिमराज पोख्रेलले प्रतिक्रिया दिए । त्यसका साथै उनले सदरमुकामकै मुल्यमा ल्याब सेवा प्रदान गरिने जानकारी दिए ।

जिरो होम डेलिभरी गाउँ

गुल्मीको अर्जे र अर्खबाङ्ग जिल्लामै पहिलो पटक पूर्ण संस्थागत प्रसुती (जिरो होम डेलिभरी) गाउँ घोषणा भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मालिका गाउँपालिका—४ अर्खबाङ्ग र वडा नं ६ अर्जेलाई जिरो होम डेलिभरी वडा घोषणा गरेका हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ