२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशराप्तीपारी स्वास्थ्यकर्मीको अभाव, जहाँ डाक्टर पनि दुई महिनाभन्दा बढी बस्दैनन्

राप्तीपारी स्वास्थ्यकर्मीको अभाव, जहाँ डाक्टर पनि दुई महिनाभन्दा बढी बस्दैनन्


बाँके— प्रदेश ५ को पश्चिमी जिल्लाका रुपमा रहेको बाँके राप्तीपारी बघौडामा स्वास्थ्यकर्मी अभाव देखिएको छ । बाँके सुगम जिल्लाका रुपमा रहेपनि राप्तीपारी बघौडा क्षेत्रको वेदना भने निकै कष्टकर रहेको छ ।

बर्खामा बाढी, हिउँदमा शीतलहरले सास्ती भोगिरहेका यस क्षेत्रका नागरिकहरु स्वास्थ्यकर्मी अभावले झन समस्या झेल्दै आएका छन् । हुलाकी सडकले भर्खर मात्र सदरमुकामसँग जोडिए पनि स्वास्थ्यको अवस्था जस्ताको तस्तै भएको स्थानीयहरु गुनासो गर्दछन् । दुई वर्षअघिसम्म भारतीय बजारमै कारोबार गर्ने राप्तीपारी बघौडा क्षेत्रका मानिसहरु अहिले भने नेपाली बजारसँग जोडिएका छन् ।

‘चुनाव भयो, गाउँलेले प्रधान चुने, विकास आउँदैछ, उपचारको काम पनि सजिलै भैदिए हुन्थ्यो,’ नरैनापुर–३, बाबुगाउँका स्थानीयवासी नरहरि यादव भन्छन् ।

स्थानीयस्तरमा निर्माण हुनुपर्ने भौतिक संरचना समेत निमार्णमा ढिलाई भएको स्थानीयको गुनासो छ । वि.सं २०६८ भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको लक्ष्मणपुर स्वास्थ्य चौकी ७ वर्षसम्म अलपत्र रह्यो । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिहरूको सक्रियताका कारण आठ वर्षपछि भवन निर्माण सम्पन्न भयो ।

त्यस्तै नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव छ । स्वास्थयकर्मी अभावका कारण अहिले पनि नरैनापुरवासी प्रभावकारी स्वास्थ्य उपचार पाएका छैनन् । गाउँपालिकाभित्रकै सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रूपमा रहेको यो केन्द्रलाई १५ शैय्याको अस्पताल बनाउने योजना स्वीकृत भएर नामकरण समेत भइसकेको छ तर यहाँ सामान्य स्वास्थ्य चौकीले दिनेजस्ता सेवा मात्रै उपलब्ध छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र हँुदा १३ जनाको दरबन्दी भएकामा हाल ८ जना स्वास्थ्यकर्मी मात्र छन् । एमबीबीएस डाक्टरको समेत दरबन्दी छ तर डाक्टर छैनन् । ‘स्वास्थ्य केन्द्रको रूपमा स्थापना भएको २५ वर्षसम्म पनि यहाँ डाक्टर बसेको देखेका छैनौं,’ स्थानीय बासिन्दा रामेश्वर चौधरीले भने, ‘कुनै पनि एमबीबीएस डाक्टर दुई महिनाभन्दा बढी बसेको उदाहरण नै छैन ।’

स्वास्थ्य केन्द्रमा एक एमबीबीएस डाक्टर, एक एचए÷सिअहेब, एक स्टाफ नर्स, तीन अहेब, तीन अनमी, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल एक सिअहेब, एक स्टाफ नर्स, दुई अहेब, तीन अनमी र एक कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज तयव रायनले बताए ।

स्वास्थ्य केन्द्रका इन्चार्ज एचए मोइन खाँले लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् । एमबीबीएस डाक्टरको व्यवस्था भएको स्वास्थ्य केन्द्र तल्लो तहका कर्मचारीको भरमा चल्दै आएको छ । स्वास्थ्य केन्द्रमा अन्य स्वास्थ्यकर्मी पनि कमै बस्ने गरेको नागरिकहरूको गुनासो छ । उपचारका लागि केन्द्रमा जाँदा डाक्टर नभएर फर्किनुपर्ने बाध्यता रहेको लक्ष्मणपुरका स्थानीय बासिन्दाको गुनासो छ ।

‘कोही बिरामी भइहाले पनि उपचार गर्नकै लागि केन्द्रमा स्वास्थ्यकर्मी भेट्टाउन मुश्किल हुने गर्छ,’ स्थानीय रामराय यादव बताउँछन् । गाउंँमा बस्ने व्यवस्था राम्रो नभएको बहानामा स्वास्थ्यकर्मीहरू अन्यत्र गइदिँदा नरैनापुरवासी स्वास्थ्य उपचारबाट वञ्चित हुने गरेका छन् ।
नरैनापुरमा आवश्यक कर्मचारी नै नहुँदा स्वास्थ्य संस्थाहरू कर्मचारीविहीन बनेका छन् । सबैले सुगम क्षेत्र खोज्ने भएकै कारण सुगममा आवश्यकताभन्दा बढी कर्मचारी छन् । दुर्गममा कर्मचारी जान नमानेका कारण अभावको स्थिति सिर्जना भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको भनाइ छ ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखामा ३६ जनाको स्वीकृत दरबन्दी रहेकामा १२ जना कर्मचारी अपुग छन् । अपुग कर्मचारी सबै पाँचौ र तथा छैठौं तहका कर्मचारी रहेको र कतिपय कर्मचारी गाउँपालिकाको सम्पर्कमा भने आइसकेको स्वास्थ्य संयोजक खाँको भनाइ छ ।

ती स्वास्थ्य चौकीमा कार्यरत धेरै स्वास्थ्यकर्मीहरू समायोजन भएर गइसकेका छन् भने बाहिरबाट आउनुपर्ने कर्मचारी आएका छैनन् । पालिका अन्तर्गतको कटकुँइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर र मटेहिया स्वास्थ्य संस्थामा दुई/दुई जना पाँचौ तहको दरबन्दी रहेकामा त्यहाँ पाँचाैं तहका कर्मचारी छैनन् । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस डाक्टरको दरबन्दी खाली छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ