२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशराप्ती प्रातिष्ठानमा अत्याधुनिक प्रविधीबाट युरोलोजी उपचार सुरू

राप्ती प्रातिष्ठानमा अत्याधुनिक प्रविधीबाट युरोलोजी उपचार सुरू


दाङ—दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानका रुपमा सहयोग स्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधीका रुपमा थुलियम मेसिन प्रदान गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले संयुक्त रुपमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिष्ट्रार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन्। मेसिन देशका सिमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुने रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।

युरोलोजी सेवालाई व्यवस्थित, सुरक्षित, प्रभावकारी बनाउन यो मेसिन प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा प्रतिष्ठानमा थप गरिएको युरोलोजिष्ट डा. प्रवोध रेग्मीले बताए । यो मेसिन जडान भएर संचालनमा आइसकेको छ । मेसिनको सहायतामा किड्नी, नली र पिसाब थैलीको पत्थरी फुटाल्न, प्रोष्टेडको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिनेछ ।

युरोलोजिष्ट डा. रेग्मीले सन २०१९ देखि यो मेसिन विश्वमा प्रयोग भएको जानकारी दिदै छिटो छरितो ढङ्गबाट मिर्गौलामा भएका हरेक किसिमका ढुङ्गा फुटाउन सकिने बताए । उनले अरुभन्दा धेरै राम्रो शक्तिशाली मेसिन प्रतिष्ठानमा आएको भन्दै अन्य मेसिनभन्दा यो धेरै प्रभावकारी रहेको पनि जानकारी दिए । उनले मेसिन जोडिएसँगै युरोलोजी सेवा लिन अब अन्यत्र जानु नपर्ने भन्दै सबै सुविधा प्रतिष्ठानमा रहेको पनि बताए।

मुलुकका ५ वटा अस्पतालमा मात्रै थुलियम मेसिन जडान गरिएको भन्दै डा. रेग्मीले वीर अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेसम्म नरहेको सेवा दाङबाट दिन थालिएको पनि बताए । साथै, उनले यो मेसिनबाट बिरामीको अप्रेसन सुरक्षित, भरपर्दो र विश्वासिलो रहेको पनि उल्लेख गरे।

डा. रेग्मीका अनुसार प्रतिष्ठानमा युरोलोजी सेवाअन्तर्गत हालसम्म ३ सय साना तथा ठूलो अप्रेसन गरिएको र सबै अप्रेसनहरु सफल भएका छन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ