२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशगुल्मी जिल्ला अस्पताल स्तरोन्नतीसहित आधुनिक भवनयुक्त हुने

गुल्मी जिल्ला अस्पताल स्तरोन्नतीसहित आधुनिक भवनयुक्त हुने


बुटवल-प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा रहेको जिल्ला अस्पताल स्तरोन्नतीसहित आधुनिक भवनयुक्त हुने भएको छ । जिल्ला अस्पतालमा रहेका भवनहरु साना र बिरामी मैत्री नहुँदा समस्या हुँदै आएको थियो । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको जिल्ला अस्पतालले आधुनिक भवनसहित स्तरोन्नती हुने भएपछि स्थानीय खुसी भएका छन् ।

जिल्ला अस्पतालको भौतिक संरचना निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । यो बजेटले अस्पतालका लागि आवश्यक सुविधा सम्पन्न भवन निर्माण हुनेछ ।

गुल्मी अस्पताल निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ५५ करोडभन्दा बढी बजेट विनियोजन भएको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण पराजुलीले जनाकारी दिए । ‘हामीलाई प्राधिकरणबाट आवश्यक बजेट विनियोजन भएको छ । यसलाई परिचालन गरेर अस्पतालको भवन निर्माण कार्य सुरु हुन्छ,’ उनले भने ।

नयाँ बन्ने अस्पतालको भवन साढे छ तल्लाको बनाउने तयारी गरिएको छ । न्युनतम मापदण्ड निर्धारण प्रतिवेदनसमेत प्राप्त भएकाले छिट्टै काम सुरु हुने पराजुलीले बताए । ‘न्यूनतम मापदण्ड निर्धारण प्रतिवेदन पनि प्राप्त भएको छ । यही कार्तिकभित्र सबै प्रक्रिया पुरा गरेर मंसिरमा टेण्डरको गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने ।

गुल्मी जिल्ला अस्पताल तम्घास ०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । अब सबै प्रकारको विशेषज्ञसहितको सेवा प्रवाह गर्ने गरि अस्पताल निर्माण हुने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।

अस्पतालमा दुई वटा अप्रेशन कक्ष हुनेछन् । भने आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गुल्मी जिल्ला अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुने डा. पच्याले बताए । गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल आउनुपर्ने बाध्यता छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ