२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशयुनिभर्सल कलेजका विद्यार्थी दुई हप्तादेखि आन्दोलनमा

युनिभर्सल कलेजका विद्यार्थी दुई हप्तादेखि आन्दोलनमा


बुटवल—युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा विद्यार्थीको लगातारको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ । सरकारले तोकेभन्दा क्याम्पस प्रशासनले लिएको बढी शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर विगत दुई हप्तादेखिको आन्दोनका कारण कलेजको पठनपाठन पूर्णरुपमा अवरुद्ध भएको हो ।

माग पूरा गर्न दबाब दिन विद्यार्थीहरुले केहि दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका विद्यार्थीहरुले शुक्रवारदेखि रिले अनशन समेत सुरु गरेका छन् । तालाबन्दी कायमै रहेपनि क्याम्पस प्रशासनले प्रशासनिक तथा अन्य काम भने सुचारु गरेको छ । विद्यार्थीहरुले प्रशासनले काम नरोकेर आन्दोलनलाई बेवास्ता गरेको आरोप लगाउँदै रिले अनसन सुरु गरेको विद्यार्थीहरु बताउँछन् ।

विद्यार्थीका जायज माग सम्बोधनका औपचारिक वार्तामा समेत नबोलाएको विद्यार्थीको आरोप छ । प्रशासनले भने अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्तालजस्ता गतिविधि उचित नहुने बताउँदै आएको छ ।

कलेजको मुख्य गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको कालो ब्यानर टाँगेर विद्यार्थीहरु अनसनमा बासेका छन् । रिले अनसनमा एमबीबीएस, बीडीएस, नर्सिङ र प्यारामेडिक्स अध्ययनरत विद्यार्थी सहभागी छन् ।

विद्यार्थीहरुले क्याम्पसले लिएको बढी शुल्क फिर्ता वा समायोजन, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोकेअनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्नेलगायतका माग राखेका छन् ।

उपत्यकाभित्र एमबीबीएसका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सरकारी सीमा छ । युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क लिएको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ