२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा सबैभन्दा बढी एचआईभी संक्रमित, किट र औषधीको समस्या

रुपन्देहीमा सबैभन्दा बढी एचआईभी संक्रमित, किट र औषधीको समस्या


बुटवल— प्रदेश ५ मा रुपन्देहीमा एजआईभी संक्रमितहरुको संख्या सबैभन्दा बढी रहेको पाइएको छ । प्रदेशका १२ जिल्लामा ३ हजार ३ सय ९२ जना एचआईभी संक्रमितमध्ये प्रदेशको केन्द्रका रुपमा विकास भैरहेको रुपन्देहीमा सबैभन्दा बढी संक्रमितहरु रहेको तथ्यांकले देखाएको हो ।

गत वर्षभन्दा यस वर्ष १ सय ६३ जना संक्रमित थपिएका छन् । प्रदेशका अन्य जिल्लाहरुमा भन्दा रुपन्देहीमा मात्र एजआइभी संक्रमितहरु धेरै छन् । रुपन्देहीमा १ हजार ३ सयभन्दा बढी संक्रमित हुँदा अन्य ११ जिल्लामा जम्मा २ हजारको हाराहारीमा संक्रमित देखिएका छन् । यसरी ११ जिल्लाको तुलनामा रुपन्देहीमा झन्डै एक हजारको संख्यामा संक्रमितहरु बढी देखिएका छन् ।

नियन्त्रणको प्रयास

एचआईभी नियन्त्रणका लागि विभिन्न संघ संस्थाहरु, एनजिओ, आइएनजिओहरुले काम गरिरहेका छन् । तर, नियन्त्रणको प्रयास भने असफलजस्तै देखिएको छ ।

प्रदेश सरकारले जिल्लाहरुसँग समन्वय गरी जनचेतना अभिवृद्धिका लागि काम गरिहेपनि प्रभावकारी हुन सकेको छैन् । स्थानीय सरकारहरुले पनि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेका छन् । त्यसको परिणाम प्रभावकारी नदेखिएको सामाजिक अभियन्ताहरुको बुझाइ छ । ‘राज्यस्तरबाट काम त भैरहेको छ,’ अभियन्ता शान्ता आचार्य भन्छिन्, ‘तर त्यसको प्रभावकारिताका विषयमा अध्ययन गर्नुपर्ने अवश्यकता देखिन्छ ।’

समयअनुसार जनचेतना अभिवृद्धि नै एचआईभी संक्रमणको लागि महत्वपूर्ण औजार हुने विज्ञहरुको बुझाइ छ ।
प्रदेशको केन्द्रका रुपमा रहेकाले पनि रुपन्देहीलगायत अन्य जिल्लाहरुमा जनचेतना फैलाउनु आवश्यक रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । ‘जनचेतनालाई व्यापक बनाउनुपर्ने आवश्यकता छ ।

तर, जिल्लामा सिमित बजेट हुन्छ, जसका कारण लक्षित वर्गसम्म पुग्न कठिन हुन्छ,’ उनले भने । पछिल्लो समय आर्थिक रुपमा कमजोर तथा विपन्न समुदायमा बढी संक्रमण देखिएकाले पनि समुदाय लक्षित कार्यक्रम आवश्यक रहेको उनको बुझाइ छ ।

दिवसहरु औपचारिकताका लागि मात्र

वार्षिक रुपमा मनाइने दिवसहरु औपचारिकता र एक दिनका लागि मात्रै हुने गरेका छन् । प्रभातफेरि, विचार गोष्ठी, सेमिनारजस्ता औपचारिक कार्यक्रमले लक्षित वर्ग आकर्षित हुन सकेका छैनन् ।

यस वर्ष ‘एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मुलनारासहित ३२ औं विश्व एड्स दिवस मनाइदैंछ । दिवसका अवसमा हुने कार्यक्रम केवल तथ्यांक देखाउने दिन मात्र भएको अभियन्ताहरु बताउँछन् । ‘दिवसहरु औपचारिकतामा मात्र सिमित भए । यसले लक्ष्य हासिल गर्न कठिन हुन्छ,’ अभियन्ता आचार्यले भनिन्, ‘समयको माग अनुरुप राज्यले संयन्त्र परिचालन गर्नुपर्छ ।’

किट र औषधीको समस्या

रुपन्देहीमा १ हजार ३ सय एचआईभी संक्रमितले एआरटी औषधी सेवन गरिरहेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा ९० जना बालवालिका समेत एआरटी औषधी सेवन गरिरहेका छन् । उनीहरुसहित ४ जना तेस्रो लिंगीले पनि औषधी नियमित रुपमा सेवन गरिरहेका छन् । यी सबै गरी लुम्बिनी प्रादेशिक अस्पतालबाट एआरटी औषधी सेवन गर्ने १ हजार १ सय ९६ छन् ।

उता भैरहवा भीम अस्पतालमा १ सय ३८ औषधी सेवन कर्ता जना छन् । बेला बखतमा अस्पतालमा औषधीको अभाव हुँदा समस्या हुने गरेको देखिन्छ । नयाँ बिरामी परिक्षणका लागि पनि किट अभाव हुने गरेको प्रमुख डा. गिरी बताउँछन् ।

एएचएफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्टराईले भने लुम्बिनी प्रादेशिक अस्पतालमा १० वर्षदेखि औषधी सेबन गरेकादेखि भर्खरै सुरु गरेका सम्म रहेको बताएका छन् । आर्थिक वर्ष ७५÷७६ को असारसम्म स्पन्देहीमा एचआईभी एडसबाट १४ जनाको मृत्यु भैसकेको छ ।

संक्रमित खुल्न सकेका छैनन्

संक्रमितहरु अझै पनि खुलेर आउन नसक्दा अवस्था गम्भीर हुँदै जाने देखिएको छ । संक्रमितहरुले विभिन्न समाजिक डरत्रासका कारण परिक्षण गर्न समेत नआउने गर्दा संक्रमणको दर बढ्दै जानेमा विज्ञहरु सचेत गराउँछन् ।

समाजिक भेदभाव र आर्थिक क्षेत्रमा उन्नयनका लागि काम गर्ने हो भने केही हदसम्म संक्रमण नियन्त्रण गर्न सकिने र संचार माध्यमहरुले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे बताउँछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ